तीन चरणमा लकडाउन खोलिने, पहिलो चरणमा खुला रहने २१ क्षेत्र

काठमाडौं, २९ जेठ । सरकारले मुलुकमा जारी लकडाउन तीन चरणमा खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्ताव पाँच चरणको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले तीन चरणमा झार्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

पहिलो चरणमा विहिबारदेखि अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ । खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ ।

त्यस्तै आजबाट स्वास्थ्य सेवासँग सम्बन्धीत सबै सेवा, निजी क्लिनिकसमेत खुला गर्न सरकारले निर्देशन दिएको छ । औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी पनि आजबाट खुला हुनेछन् ।

त्यस्तै आजबाट जोर–विजोर नम्बर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न अनुमति दिने सरकारले जानकारी गराएको छ । सरकारले गरेको निर्णय अनुसार पहिलो चरण आजबाटै २१ दिनसम्म लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिने र त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ ।

तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ । अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ । यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ ।

पहिलो चरणमा खुला रहने २१ क्षेत्र

१) स्वास्थ्य सेवासँग सम्बन्धीत सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धिधतसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here