जबरजस्ती घरबार छाडेर शरणार्थी बन्नेको संख्या करिब ८ करोड, ४० प्रतिशत बालबालिका

काठमाडौं, ६ असार । विश्व शरणार्थी दिवस । वर्षेनी जुन २० का दिन यो दिवस मनाउने गरिन्छ ।

२००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । यसवर्ष कोभिड १९ को महामारी र लकडाउनकबीच दिवस मनाईंदैछ ।

शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्रसंघको साधारणसभाले शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।

भेला तथा सभा सम्मेलनबिना नै एकअर्काको आपसी ऐक्वद्धता र सद्भावका साथ दिवस मनाउन लागिएको हो । विश्वभरी विस्थापित बढेको र सामाजिक परिवर्तनमा नाटकीय ढंगले परिवर्तन आइरहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग यूएनएचसीआरले जनाएको छ ।

संसारभर जबरजस्ती घरबार छाडेर शरणार्थी बन्नेको संख्या करिब ८ करोड रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यसमा ४० प्रतिशत त बालबालिका नै छन् ।

प्रत्येक मिनेटमा २० जना मानिस आफ्नो थातथलो छाड्न बाध्य हुने गरेको राष्ट्रसंघले जनाएको छ ।

युद्ध, हिंसा, जबरजस्त विस्थापन जस्ता कारणले विश्वका ७ करोड ९५ लाख मानिस सडकमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संसारको कूल जनसंख्याको एक प्रतिशत मानिस शरणार्थी बन्न बाध्य भएका हुन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगले सन् २०१९ को अन्त्यसम्ममा ७ करोड ९५ लाख मानिस शरणार्थी रहेका र त्यसमा अधिकांश विकासोन्मुख मुलुकका बासिन्दा रहेको जनाएको छ । शरण दिनेमा पनि ८० प्रतिशत मुलुक विकासोन्मुख नै छन् ।

साढे चार करोड मानिस आन्तरिक विस्थापन ब्यहोरिरहेका छन् भने ४२ लाख मानिस शरणका लागि लाइनमा छन् । ६६ लाखभन्दा बढी सिरियन छन् भने करिब ११ लाख रोहिन्ग्या छन् । भेनेजुयलाका मात्र ३७ लाख मानिस देश बाहिर शरणमा छन् ।

थातथलो गुमाउनेमा ६८ प्रतिशत व्यक्ति पाँच देशका मात्रै छन् । सबैभन्दा बढी सिरियाका ६६ लाख, भेनेजुयलाको ३७ लाख, अफगानिस्तानको २७ लाख, दक्षिणी सुडानको २२ लाख तथा म्यानमारको रोहिंग्या ११ लाख शरणार्थी रहेको राष्ट्रसंघले जनाएको छ ।

७३ प्रतिशतलाई छिमेकी मुलुकले नै शरण दिएका छन् । शरण दिनेमा सबैभन्दा बढी टर्कीले ३६ लाख, कोलम्बियाले १८ लाख, पाकिस्तानले १४ लाख, युगाण्डाले १४ लाख, जर्मनीले ११ लाख छन् । शरण दिने ८० प्रतिशत मुलुक आफै कि त खाद्य असुरक्षाको चपेटमा छन् कि त कुपोषण जस्ता समस्याबाट जुधिरहेका छन् ।

नेपालमा भने अहिलेसम्म शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुनसमेत बनाउन सकेको छैन ।

तर नेपालले तिब्बती र भुटानी शरणार्थीलाई बास दिएर व्यवस्थापनमा सहयोग गरेको छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here