नेपालको साइबर सुरक्षा जोखिमपूर्ण, सूचना प्रविधिको एकीकृत विकास आवश्यक

काठमाडौं, ६ असार । सूचना प्रविधि क्षेत्रका विज्ञहरुले नेपालको साइबर सुरक्षा जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।

नेपाल ई–गभर्नेन्स सोसाइटी (नेग्स) ले आयोजना गरेको ई–गभर्नेन्स तथा डाटा सुरक्षासम्बन्धी वेबिनारमा बोल्दै विज्ञ प्रा. डा. पुरुषोत्तम खरेलले यस क्षेत्रमा बलियो सुरक्षाको प्रत्याभुति गर्न नसकिएको बताए ।

उनका अनुसार ई–गभर्नेन्सका सन्दर्भमा यस्तो सेवा जनताको घरदैलोमा कसरी लैजाने सम्बन्धमा अझै ठोस काम हुन सकेको छैन । पूर्वाधारको अभाव सबैभन्दा मुख्य चुनौति हो । यद्यपि पूर्वाधार विकास र विस्तारै बढ्दै गएको सचेतनाले त्यसको विकासमा सघाउने उनको भनाइ छ ।

डा. खरेलले सरकारले विज्ञहरु राखेर नीति तथा रणनीतिको विकास गर्नु जरुरी रहेको बताए ।

कस्तो प्रकारको पूर्वाधार आवश्यक छ भन्ने बारे सही निर्णय लिनु पनि उत्तिकै आवश्यक छ । केन्द्र, प्रदेश तथा स्थानीय तह तथा निजी क्षेत्र समेटने गरी एकीकृत फ्रेमवर्क बनाउनु पर्छ, उनले भने ।

अहिले सम्म एकीकृत रुपमा यस्तो नीति तथा काम हुन नसकेको र सरकारलाई यसबारे सुझाव दिए पनि कार्यान्वयन नभएको उनले बताए । जनताले महसुस हुने गरी काम गर्नु पर्छ, उनले भने ।

त्यसैगरी, सुबिसु केबलनेटका डेपुटी म्यानेजर रामकृष्ण परियारले साइबर सुरक्षाको अवस्था नेपालमा जोखिमपूर्ण अवस्थामा रहेको बताए ।

अनलाइन सेवा तथा ई–गभर्नेन्सका लागि चुस्त र भरपर्दो साइबर सुरक्षा आवश्यक पर्छ तर सरकारले लिएको नीति राम्रो छ तर कार्यान्वयन सुस्त भयो, उनले भने ।

यद्यपि अवस्था ज्यादै संवेदनशील नभएको र खासगरी दक्षिण एशियामा नेपालको अवस्था राम्रो रहेको उनको भनाइ छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले केही सरकारी पोर्टलहरु ह्याक भएको र त्यसले सुरक्षा कमजोर देखिएको बताए ।
उनका अनुसार विदेशबाट भएका कतिपय यस्ता कार्य एप्लिकेशनबाट भएका छन्, नेटवर्कबाट भएको भए बढी जोखिमपूर्ण हुन्थ्यो ।

सफ्टवेयर तथा अपरेटिङ सिष्टमहरु अपडेट नगर्दा पनि कहिलेकाहीं समस्या आउन सक्छ । सचेतना बढाउनु पर्ने आवश्यकता छ, उनले भने ।

‘डिजिटल नेपाल फ्रेमवर्कले नेपालको सम्पूर्ण सूचनाप्रविधि क्षेत्रको विकासको रणनीति समेटेको छ । यसले डिजिटल फाउण्डेशन नीति अन्तर्गत कागजरहित सरकारको परिकल्पना गरेको छ भने राष्ट्रिय साइबर सुरक्षा र प्रादेशिक डाटा सेण्टरको स्थापनाको योजना पनि ल्याएको छ,’ उनले भने ।

कोरोनाभाइरसका कारण सिर्जित लकडाउनले मानिसहरुको आवागमनमा रोक लगाएपछि सूचनाप्रविधिको प्रयोग बढेको सन्दर्भमा नेग्सले नेपालमा उपलब्ध ई–गभर्नेन्स सेवा, पूर्वाधार र सुरक्षासम्बन्धी वेबिनारको आयोजना गरेको हो ।

कोरोना भाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त बनाइरहेका बेलामा शासन प्रशासन लगायत विविध क्षेत्रमा विद्युुतीय प्रणालीको प्रयोग अनिवार्य बन्दै गएको सन्दर्भमा ई–गभर्नेन्सको अनिवार्यता र महत्व अझ बढेको नेग्सको भनाइ छ ।

कार्यक्रमको सञ्चालन दीपेश घिमिरे र दीपेन्द्र पौडेलले गरेका थिए । ज्ञानमा आधारित समाज निर्माण गर्ने तथा सूचना प्रविधिको विस्तार, प्रयोग र विकासमा सहयोग गर्ने नेग्सको उद्देश्य रहेको बताइएको छ ।

सम्बन्धितः
ई–गभर्नेन्स सुरक्षा सेमिनारको आयोजना गर्दै नेग्स, डाटा सुरक्षामा चासो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here