कृषि प्रधानदेश झन परनिर्भरतातर्फ: वार्षिक ७ करोड बढीको कोदो आयात

काठमाडौं, १५ साउन । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको हो । आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ३ लाख रुपैयाँ बराबरको कोदो आयात भएको तथ्यांकले देखाएको छ ।

नेपालमा दुई लाख ६३ हजार हेक्टरमा कोदो खेती गरिने र तीन लाख १४ हजार २ सय २५ मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ ।

नेपालको चौथो प्रमुख बाली मानिएको कोदोवाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएको भन्दै राष्ट्रिय कृषक समूह महासंघले चिन्ता व्यक्त गरेको छ । साउन १५ गते कोदो दिवस मनाउने गरी महासंघले बहस शुरु गरेको छ ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) सँगको सहर्कायमा महासंघले विहिवार कोदो खेतीको प्रवद्र्धनका लागि कोदो बहस गरेको छ । महासंघका अध्यक्ष नवराज वस्नेतले यसपटक बहस चलाइएको र अर्को वर्षदेखि दिवसकै रुपमा बनाउने बताए ।

यसका लागि सरकारलाई पनि ध्यानाकर्षण गराउने सरकारले नै घोषणा गरेर दिवस मनायो भने झन् राम्रो नभए महासंघले नै नीजि क्षेत्रको सहयोगमा दिवसकै रुपमा मनाउनेछ’ उनले भने । कोदो रैथाने बाली भएपनि यसको संरक्षणमा सरकारले ध्यान नदिएको उनले गुनासो गरे ।

पौष्टिकताले भरिपूर्ण र नेपाल मौलिक बालीका रुपमा रहेको कोदो खेतीको प्रवद्र्धनमा जोड दिनुपर्ने पनि उनले बताए । महासंघका पूर्व अध्यक्ष तथा संरक्षक उद्धव अधिकारीले पनि कोदोको प्रवद्र्धनमा सरकारी उदासिनताका कारण कोदो खेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको बताए ।

महासंघले कोदोखेतीको पवद्र्धनका लागि विभिन्न ९ बुँदे सुझाव प्रस्तुत गर्दै असार १५ लाई कोदो दिवसका रुपमा मनाउन सरकारसँग माग समेत गरेको छ ।

कोदो बाली साना, सिमान्त कृषकको जिविकाको आधार भएकाले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने, वातारण सन्तुलन, पोषणयुक्त र आइरनयुक्त खाद्यन्न भएकोले भौगोलिक अवस्थाअनुसार विकास गरिनुपर्ने, जमिनको संरक्षण, उपयोग र युवा रोजगारका हिसावले कोदोवालीलाई हेरिनुपर्ने, खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधि प्रयोग गरी सहज उत्पादनमा जोड दिनुपर्ने महासंघको सुझाव छ ।

त्यस्तै अध्ययन अनुसन्धान गरी सम्मानित वालीका रुपमा प्रचार प्रसार गरिनुपर्ने, कोदोको प्रशोधन र उद्यमशिलतासँग कृषि शिक्षामा जोड दिनुपर्ने, राष्ट्रिय नीति तथा कार्यक्रममार्फत विविधतायुक्त बीउ तथा प्रविधि उपलब्ध गराइनुपर्ने, उत्पादनको मूल्य श्रृङ्खला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममार्फत सम्वोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्ने पनि महासंघको सुझाव रहेको छ ।

कोदोमा प्रचुरमात्रामा ‘आईरन’ पाइने हुनाले महिलाहरुमा देखिने रक्त अल्पताको समस्यालाई न्युनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ । यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ । कोदोमा प्रसस्त मात्रामा म्यागानिक, जिंक पोटासियम पाइने विभिन्न अध्ययनले देखाएको छ ।

यस्तै कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी नेपाल कृषिमा पूर्ण आत्मनिर्भर नभएको तर, एकै पटक फलेका कोदो ४/५ वर्षसम्म स्टोर गरेर राखिने भएकाले त्यसमा आत्मनिर्भर जस्तै देखिएको बताउछन् ।

उनले नेपालमा कोदो बंगलादेश र भुटानबाट आयात हुने गरेको बताए । कोदो नकुहिने र सधै नखाने भएकाले यसको खपत वृद्धि हुन नसकेको उनले बताए ।हालसम्म सरकारले धान र गहुँका लागि न्यूनतम मूल्य निर्धारण गरेको छ । कोदोका लागि न्यूनतम मूल्य तोकिएको छैन ।

उपत्यकामा कोदो किनेर खानेको जमात बढ्दै गएकाले आयात समेत वृद्धि हुन थालेको उनी बताउछन् ।‘कोदोमा आत्म निर्भर त भइसकेका छैनौँ, तर एक पटक फलेको कोदो ४/५ वर्षसम्मका लागि राख्ने चलन छ, यो छिटो कुहिन्न त्यसै ले पनि हो, अब गाउँमा पनि भात बढी खान्छन्, खपत छैन,’ रेग्मीले भने ‘स्थानीय तहबाटै मिलेर कोदोको पोषणको विषयमा प्रचारप्रशार गर्नु पर्नेछ ।’

उनले एउटा तवरबाट मात्र यो सम्भव नभएकोले प्रदेश, स्थानीय र स्वास्थ्य मन्त्रालयसँग मिलेर यसको खपतलाई बढाउन तर्फ लाग्नु पर्ने बताए । राम्रो व्यवस्थापन गरी खेती गरिएको खण्डमा प्रतिरोपनी १३० केजी देखि १६५ केजीसम्म कोदो उत्पादन गर्न सकिने विज्ञहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here