आचार्यको ‘बेलायतको वित्तीय अवलोकन’ नेपालमा विमोचन

काठमाडौं, ३२ जेठ । विश्व अर्थतन्त्रको शक्तिशाली केन्द्र बेलायत खासगरी विभिन्न समयमा ठूल्ठूला उतार चढावको साक्षी बनेको छ ।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीहोस वा पछिल्लो समयको बे्रक्जिट गतिरोध नै किननहोस बेलायती अर्थतन्त्रले विभिन्न चुनौतिको सामना गर्दै आइरहेको छ ।

१९ औं शताब्दीको औद्योगिक क्रान्तियता निरन्तर विकासको गति समातेको अर्थतन्त्र दोस्रो विश्वयुद्धका कारण केहि शिथिल भयो । तर सन् १९७० को दशकमा प्रधानमन्त्री मार्गरेट थ्याचरको नीजिकरण नीतिसँगै पुन जुर्मुराएको बेलायत त्यसयता विभिन्न सामाग्री उत्पादन, कृषी, प्राकृतिक श्रोत, वित्त व्यवस्थापन लगायत विषयमा केन्द्रित छ ।

विभन्न चुनौतिका बाबजुद बेलायतले कसरी आफ्नो अर्थतन्त्रलाई स्थीर राख्न सफल रह्यो भन्ने कुरा नेपालका लागि पनि पाठ हुन सक्छ । यही सेरोफेरोमा बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।

पुस्तकमा बेलायतको वित्तीय सामथ्र्य, बैंकिंङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्धिकरण, बीमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध बिषय समावेश छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले पुस्तक बिमोचन गरेका थिए ।

बेलायतको वित्तीय अवधारणा समेटेर पुस्तक लेखिएको भएपनि नेपाली सन्दर्भ जोडिएकाले निकै उपयोगी रहेको क्षेत्रीले बताए । ‘पुस्तक धेरै उपयोगी र सूचना मुलक छ,’ उनले भने, ‘देश बाहिर बसेर पनि मातृभूमीलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ।’

कार्यक्रम राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तक माथि टिप्पणी गरेका थिए । बेलायतको वित्तीय क्षेत्रले संसारभर प्रभाव पार्ने गरेकोले राजधानी लन्डन आर्थिक केन्द्र रहिआएको छ ।

बेलायतमा मात्रै दिनमा औसत करीब २ दशमलब ७३ ट्रिलियन (रु. २० खर्ब ७३ अर्ब) डलर बराबरको विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४० दशमलब ९ प्रतिशत हो । अमेरिकाको डाउ जोन्स र नास्डाक पछि लन्डन स्टक मार्केट आउँछ ।

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बि.सं २०५० मा बेलायत पुगेका लेखक आचार्यले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

यसअघि लेखकका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरी चार कृति प्रकाशित भइसकेका छन् । ब्यवस्थापन बिषयबारे लामो अनुभव संगालेका लेखक ब्रिटिश मेडिकल जर्नालिष्ट एशोसियशनका सदस्य समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here