मजदूरको ज्यालाको दररेट निर्धारण, कुन काम गर्नेले कति पाउँछन्

काठमाडौं, २२ साउन । नयाँ आर्थिक वर्ष शुरु भएसँगै कर्णाली प्रदेशका जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो ।

समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला १०० रुपैयाँ बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो ।

निजी तथा गैरसरकारी सङ्घ-संस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा १०० रुपैयाँ बढेको छ । यसअघि दैनिक ८०० पाउने मजदूरले अबदेखि ९०० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक ६००, पलम्बरको ६८८, सिनियर पलम्बरको ७००, इलेक्ट्रिसियन हेल्परको ६००, इलेक्ट्रिसियनको ७००, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको ६४० र टेक्निसियनको ७४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, हलुका ड्राइभरको हकमा ६६०, हेभी ड्राइभरको हकमा ७३०, हेभि इक्विप्मेन्ट अप्रेटरको ८२०, ड्राइभर सहयोगीको ६००, नगर निरीक्षकअर्थात कार्यालय सहयोगी सरहलाई ६००, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको ६०० रुपैयाँ दैनिक ज्याला निर्धारण गरिएको छ ।

मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदूरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐनअनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताए । ‘समितिले निर्धारण गरेको दररेटअनुसारै कारोवार हुनेछ,’ उनले भने, ‘आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारवाही गरिनेछ ।’

मूल्य निर्धारण समितिले विद्युतीयलगायतको केही सामग्रीको मूल्य निर्धारण गर्न भने सकेको छैन । विद्यूतीय पोल ट्रकबाट ढुवानी र विद्युत्सम्बन्धी सम्पूर्ण निर्माण सामग्रीको मूल्य बाँकेमा स्वीकृत दररेट तथा ढुवानीअनुसार कायम हुने व्यवस्था गरिएको छ ।

हालसम्म जिल्लामा स्वीकृत दररेटमा समावेश नभएको जनाउँदै उक्त सामग्रीको हकमा बाँकेमा लागू गरिएको मूल्यसूची सुर्खेतमा लागू गर्नुपरेको हो । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ । इँटाको मूल्य भने यसपालि ५०० रुपैयाँ बढाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here