हुलाकबाट आउँछन् हेलो सरकारलाई गुनासा

काठमाडौं, २६ वैशाख । हात हातमा इन्टरनेट सुविधासहितका मोवाइल, घरघरमा ल्यापटप र कम्प्यूटर र फ्री वाइफाई । कसैलाई केही सन्देश दिनुपर्यो भने केही सेकेण्डमा सबै सम्भव छ । प्रविधिमा लिप्त शहरिया जीवनशैलीमा अभ्यस्त भइसकेका धेरैका लागि अब चिठीबाट सन्देश आदान प्रदान निकै दूर्लभ घटना भइसक्यो ।

तर, नेपालमै अझै पनि नागरिक हुलाकबाट चिठी पत्रमा सन्देश आदान प्रदान गर्छन् । सरकारले नागरिकका गुनासा सुन्न हेलो सरकार संचालनमा ल्याएको छ । हेलो सरकारमा नागरिकले विभिन्न माध्यमबाट सरकारलाई आफ्ना गुनासा टिपाउँछन् । यसमध्ये एक माध्यम हुलाकको अस्तित्व अझै कायम रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार १ माघदेखि चैत मसान्तसम्म विभिन्न माध्यमबाट सरकारलाई ५ हजार ७ सय २४ गुनासा प्राप्त भएका छन् । त्यसमध्ये हुलाकबाट ११ वटा चिठी पुगेका छन् ।

अहिले हुलाक नागरिकको आवश्यकता भन्दा निकै टाढिसकेको छ । सरकारी कागजात आदान प्रदानका लागि मात्र यसको प्रयोग भइरहेको छ । तर, हेलो सरकारको तथ्यांकले भने नागरिकले अझै पनि हुलाकबाट सन्देश आदान प्रदान राम्रैसँग गरिरहेको देखाउँछ ।

तथ्यांक अनुसार तीन महिनामा हेलो सरकार कक्षले प्राप्त गरेका गुनासामध्ये सबैभन्दा धेरै ट्वीटरका माध्यबाट पुगेका छन् । ट्वीटरबाट ३ हजार ४ सय ५५ गुनासा प्राप्त भएको कक्षको तत्यांक छ ।

फेसबुकबाट ५ सय ५३ वटा गुनासा टिपोट गरिएको कक्षको तथ्यांक छ । इमेलबाट ७ सय ६२ जनाले गुनासो टिपाएका छन् । यसबाहेक टेलिफोनबाट २ सय ९०, मोवाइल एपबाट ३ सय ९५, वेवबाट १ सय ८४, भाइवरबाट ५०, आफै उपस्थित भएर १९, एसमएसएसबाट १, गुनासो पेटिकाबाट १ र अन्य माध्यमबाट ३ वटा गुनासो प्राप्त भएको हेलो सरकार कक्षको तथ्यांक छ ।

कार्यालयका अनुसार हेलो सरकारमा टिपोट हुने धेरै जसो गुनासो साधारण प्रकृतिका हुन्छन् । तीन महिनामा प्राप्त कूल गुनासामध्ये ७५ प्रतिशत गुनासा साधारण प्रकृतिका थिए । त्यसपछि उच्च प्राथमिकता दिनुपर्ने गुनासा धेरै हुने गरेका छन् ।

डा. बाबुराम भट्टराईका् प्रधानमन्त्रीत्वकालमा शुरु गरिएको ‘हेलो सरकार’ सरकारको एक सफल कार्यक्रम हो । यस कार्यक्रममार्फत नागरिकले आफ्नो गुनासा प्रत्यक्ष रुपमा सरकारी संयन्त्रलाई टिपाउन सक्छन् ।

यसका लागि ११११ मा टेलिफोन, ११०० नम्बरमा फ्याक्स, http://1111nepal.gov.np मा इमेल गरेर, कार्यालयको वेवसाइटबाट, मोवाइल एप पत्र वा एसएसएसका माध्यबाट पनि गुनासो टिपाउन सक्ने व्यवस्था रहेको छ ।

हेलो सरकामा दूर्घटना, घटनाको जानकारी, महिला हिंसा, सामाजिक कूरीती, विकृति विसंगती, अनियमिता, ढिला सुस्ती, सरकारी काममा लापरवाही देखिएकोप्रति नागरिकले सक्रियतापूर्वक सहभागिता जनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here