काठमाडौँ ३, असोज । करिब २ वर्षमा ६ हजार ६ सय ८२ जना उद्यमी महिलाले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका छन् । यो राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि गत असारसम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो । ०७६ असारसम्मको तुलनामा यो करिब ६ गुणा बढी हो ।
महिला उद्यमीलाई प्रदान गरिने कर्जामा सरकारले ६ प्रतिशत ब्याज अनुदान दिन्छ । बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरमा महिलाले ६ प्रतिशत घटाएर बाँकी ब्याज मात्र तिर्नुपर्छ । ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।
महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपैयाँसम्म ऋण पाउँछन् । सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको छ ।
सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो । कार्यविधि जारी हुँदा ७ प्रकारका कर्जा समेटिएको थियो । त्यसमा पनि व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पुरानै हो ।
व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम ०७३ मै आएको हो । त्यसपछि कार्यविधि संशोधन गरी कपडा उद्योग र सीटीईभीटीलाई पनि जोडेर नौ प्रकारको कर्जा कार्यक्रम बनाइयो । थपिएको कर्जामध्ये कपडा उद्योगमा ४८ जनाले करिब ३७ करोड कर्जा लिएका छन् । तर, सीटीईभीटी शीर्षकमा अझै कर्जा प्रवाह भएको छैन ।