काठमाडौं महानगरका सबै वडामा अनलाइन राजस्व प्रणाली, ११ दिनमै उठ्यो १ करोड ६० लाख

काठमाडौं, ११ असोज । काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्य प्रभावकारी हुन थालेको छ।

सुरुवातको छोटो समयमै करदाताहरुलाई यसले आकर्षण गरेको छ। महानगर–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गरे।

विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर झण्झटिलो तरिकाले कर तिर्दै आएका कोइरालाले पहिलो पटक अनलाइनमार्फत लाइन नबसी कर तिर्न पाउँदाको खुशी साट्दै भने, ‘अहिले कोभिड–१९ को महामारी चलिरहेका बेला बिना भिडभाड अनलाइनमार्फत कर भुक्तानी गर्न पाउँदा उत्साहित छु।’

कोइरालाले पढे–लेखेकाहरुका लागि यो प्रणाली निकै प्रभावकारी भए पनि साधारण लेखपढ गर्नसम्म मुस्किल पर्नेहरुका लागि भने समस्या हुने हो कि भन्ने शंका व्यक्त गरे । त्यस्ता करदातालाई समेत अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विकास गर्ने हो भने प्रभावकारी हुने उनको भनाई छ।

ग्रिनहिल सिटीका गोपाल भट्राईले पनि चालु आर्थिक वर्षको सम्पत्ति कर शीर्षकमा करिब ७ लाख भुक्तानी गरेको जानकारी दिए। पहिलो पटक अनलाइनबाटै कर भुक्तानी गर्न पाउँदा उहाँले पनि खुशी व्यक्त गरे।

सेवा सुरुको ११ दिनमै ८ सय ५० करदातामार्फत १ करोड ६० लाख राजश्व असुली

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिए।

‘हामी असोज १३ बाट ३२ वटै वडाबाट सेवा सुरु गर्दैे छौँ,’ अधिकारीले भने, ‘सेवा सुरु गरेको ११ दिनमा विभिन्न वडाबाट ८ सय ५० करदातामार्फत अनलाइन प्रणालीमार्फत राजश्व असुली भएको छ । आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरेका छौँ।’

उनका अनुसार यो अवधीमा सबै भन्दा बढी घर–बहाल करमार्फत ७८ लाख ३७ हजार बढी प्राप्त भएको छ। त्यसैगरी सम्पत्ति कर शीर्षकमा २० लाख ८३ हजार संकलन भएको छ।

अधिकारीले सबै वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको भन्दै त्यसलाई सबैको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।

‘काठमाडौँ महानगरपालिका भित्र करीब ३ लाख करदाता रहेका छन् । आगामी पुससम्ममा सबै करदातालाई अनलाइन प्रणाली भित्र ल्याउने हाम्रो लक्ष्य छ,’ अधिकारीले अगाडि भने, ‘यो भएपछि कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउन सकिन्छ।’

उनले आर्थिक वर्ष २०७६/ ०७७ मात्रै ८३ प्रतिशत राजस्व असुली गरेको जानकारी दिए । ‘हामीले कोभिडको माहामारीका बीच पनि यो आर्थिक वर्षमा समेत अनलाइन प्रणालीमार्फत अधिकतम राजस्व संकलन गर्ने अपेक्षा गरेका छौ उनले भने । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here