विद्युतीय शव दाहगृह निर्माण गर्न काठमाडौं महानगरपालिका र पशुपति विकास कोषबीच सम्झौता

काठमाडौँ २८ असोज । विद्युतीय शवदाह गृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ ।

शवदाह निर्माण र सञ्चालनका लागि भएको सम्झौतापत्रमा महानगपालिका तर्फबाट प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरपालिकाले निर्माणका लागि तीन किस्ता र मेसिन खरिदका लागि एकमुष्ट रुपमा रकम उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । पहिलो किस्तामा सम्झौता भएको रकमको ३० प्रतिशत, दोस्रो किस्तामा ३० र अन्तिम किस्तामा बाँकी रकम भुक्तनी गर्नेछ।

पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुनेछ ।

सम्झौता अनुसार शवदाहगृह निर्माण गर्न कोषले सार्वजनिक सूचना मार्फत बोलपत्र आव्ह्वान गरिसकेको र उक्त बोलपत्र हाल मूल्याङ्कनको क्रममा रहेकोमा सो खरिद प्रक्रिया टुंगोमा पुर्याई बोलपत्रदाता छनोट गर्नेछ ।

आसयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्नेछ । सम्झौतापत्रमा शवदाह गृहको अग्रभागमा देखिने गरी शिलापत्रमा काठमाडौँ महानगरपालिकाको अनुदानमा निर्माण भएको शवदाह गृह भनी लेख्नु पर्ने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गरे ।

‘काठमाडौँ महानगरपालिकाले विगतमा पनि जनसरोकारका विषयलाई सम्वोधन गर्दै आएको छ । काठमाडौँ महानगरपालिका आफैँले गर्नुपर्ने कतिपय काम पनि जुन संघ–संस्थाले गरिरहेका छन् उनीहरुसँग सहकार्यमा गर्दै आएको छ,’ शाक्यले भने ‘पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह निर्माण गर्ने काममा पनि हामीले पशुपति क्षेत्र विकास कोषसँग सहकार्यमा गर्न लागेका हौँ ।’

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै काम समयमा सम्पन्न गर्न सुझाव दिए । शाक्यले काठमाडौँ महानगरपालिकाले १५ ओटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

सम्बन्धित ।

पशुपतिमा तीन नयाँ शवदाह यन्त्र स्थापना हुँदै, काठमाडौं महानगरले अनुदान दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here