‘सबै प्रदेशका लोकप्रिय गन्तब्यमा आकर्षक भ्रमण प्याकेज आउँदैछ’

हरेक प्रदेशमा घुम्नलायक स्थान छनोट गरी आकर्षक प्याकेज बनिरहेका छन् कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै ११ चैत २०७६ मा सरकारले देशव्यापी लकडाउन शुरु गर्‍यो । धुमधामसाथ भ्रमण वर्ष प्रारम्भ भएको तेस्रो महिनामै शुरु भएको प्रतिवन्ध अहिले सम्म पनि कायम छ । यो बीचमा भ्रमण वर्ष त रद्द भयो नै, मनग्य मुनाफा कमाउने उद्देश्यसहित पर्यटन क्षेत्रमा आएको ठूलो लगानी समेत संकटमा पर्‍यो ।

तर, अझै निश्चित छैन । यो समय कति परसम्म लम्बिने हो । यस्तै अनिश्चयका बीच पर्ख र हेरको अवस्थामा छन् पर्यटन व्यवसायी । हरेक संकटका बीचमा पनि एउटा चाँदीको घेरा हुन्छ भने झै पर्यटनमा आन्तरिक घुमफिरको माहौल देखिएको छ ।

मानिसहरु एक स्थानबाट अर्को स्थानमा घुमफिरमा निस्कन लागेका छन् । यसले के पर्यटनलाई राहत दिन्छ ? आन्तरिक पर्यटनलाई कसरी प्रवद्र्धन गर्ने ? पर्यटनलाई साविककै अवस्थामा ल्याउन आन्तरिक पर्यटन वरदान सावित होला ? यी नै जिज्ञासासहित क्लाउड पत्रिकाका जितेन्द्र खनालले नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाँई सँग गरेको कुराकानीको सार:

कोरोना भाइरसको संक्रमणपछि बिस्तारै पर्यटन क्षेत्र चलायमान हुने अवस्थामा छ, कस्तो छ माहौल ?

चलायमान नै त भइसकेको अवस्था छैन । तर, अब पर्यटन क्षेत्र बिस्तारै खुल्ने सम्भावना छ कि भन्ने सकारात्मक सन्देश आएको छ । यो पनि व्यवसायीको जागरुकताले नै यस्तो वातावरण बनाएको हो । किनकी अहिले नि सरकारको निर्णय स्पष्ट र अलि छिटो आउन सकेको छैन ।

एक निकाय र अर्को निकायबीच समन्वयको अभाव देखिने गरेको छ । जसले गर्दा केही निर्णय विवादास्पद समेत हुने गरेका छन । यसले हामी पर्यटनमा लागेका धेरै जनालाई अन्यौल बनाएको छ । यसो हुनुमा महामारीको कारण पनि हुन सक्छ । किनकी यो हाम्रो नियन्त्रण बाहिरको विषय पनि हो । व्यवसायीको निरन्तरको दवावपछि सरकारले पर्यटन क्षेत्र खोल्ने निर्णय गरेको छ ।

तर, अहिले पनि अवरोध भने कायम नै छन् । भारतमा उडानमाथि अझै प्रतिवन्ध छ । कतिसम्म भने भारतले चार्टर उडान समेत रद्द गरेको अवस्था छ । एक किसिमले भन्ने हो भने निर्णय र कार्यान्वयनका बीचमा लुकामारी खेलेको जस्तो अवस्था छ । निर्णयमा खुलेको भए पनि अन्य मुलुकका प्रावधान र नियमका कारण समेत हामीले मात्र कार्यान्वयन गर्न सक्ने अवस्था नहुन सक्छ । यसमा सरकारले ठोस पहल गर्नुपर्छ ।

धेरै मुलुकको सवालमा यस्तै भइरहेको छ । नेपालमा कहिलेबाट सरल रुपमा भिसा पाईन्छ भनेर निरन्तर जिज्ञासा आइरहेको छ । यो सकारात्मक पक्ष हो । अहिले वायुसेवा कम्पनीहरु नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर बसेका छन् । यस्तो अवस्थामा गृह मन्त्रालयले स्वास्थ्य, परराष्ट्र र पर्यटन मन्त्रालयसँगको समन्वयमा भिसा सहजिकरणको वातावरण बनाउनु पर्छ । निर्णयहरु स्पष्ट नहुने समेत अन्यौल हुनेगर्छ । तर आशा गरौं, निकट भविश्यमा सबै सकारात्मक दिशामा अगाडी बढ्नेछ ।

विदेशी पर्यटकको आगमन बढ्न थालेको हो ?

स्वास्थ्य मन्त्रालयको पछिल्लो मापदण्ड अनुसार विदेशबाट आएका व्यक्ति नेपाल आइसकेपछि १४ दिन क्वारेन्टिन बस्नु पर्छ । यो पर्यटकको हकमा पनि लागु हुन्छ । यसअघि ७ दिन क्वारेन्टिनको प्रावधान थियो । क्वारेन्टिनको विषय अहिले पनि अन्यौलमै छ । सोहीकारण सोचेजती संख्यामा पर्यटक आउने वातावरण बनेको छैन । किनकी १४ दिन होटेलमा बसेपछि घुमफिरमा निस्कने गरी कुनै पनि पर्यटक आउन सक्दैन ।

अहिलेसम्म आएका विदेशी पनि केही विशेष काम र नगन्य मात्र पदयात्रामा जान आएका हुन् । सरकारको विशेष अनुमतिमा पर्वतारोहणमा पनि केही पर्यटक आए । यो ज्यादै सानो संख्या हो । यसले पुग्दैन । व्यवसायीले तीन दिन क्वारेन्टिनको माग गरिरहेका छौं ।

पर्यटन मन्त्रालयको प्रस्ताव ५ दिनको रहेको छ । पिसिआर परिक्षण विमानस्थलमै गर्ने र तीन दिन क्वारेन्टिनमा राखेर सम्बन्धित गन्तब्यका लागि अनुमति दिने नीति बढाउने हो भने केही न केही मात्रामा पर्यटक आगमन बढ्न सक्छ । तर, अवरोध मात्र हुने हो भने तत्काल विदेशी पर्यटक आउन सक्दैनन् ।

दैनिक कति जति संख्यामा विदेशी आउँछन् होला ?

यो संख्या त एकदमै कम छ । अब पदयात्राको सिजन समेत सकिन लागेका कारण पर्यटक आगमन कम हुन्छ । सरकारले अन्तराष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुलाई स्वास्थ्य मापदण्ड पुरा गरी नियमित सरल रुपमा उडान गर्न सक्ने वातावरण बनाइदिनुपर्छ ।

उनीहरुले आफ्ना लागि यात्रु आफै खोज्छन् । सरल नहुन्जेल जोखिम मोलेर कुनै पनि पर्यटक घुमफिरमा अर्को मुलुकमा जाँदैन । त्यसकारण सरकारले नेपाल आईरहेका विदेशी एयरलाइन्सलाई नियमित नेपाल उडानको वातावरण बनाउनु पर्छ । ताकी उनीहरुले गन्तब्य परिवर्तन नगरुन । भोली नेपाल गन्तब्य एयरलाइन्सको रोजाईमा परेन भने त्यो नेपाली अर्थतन्त्रकै लागि क्षति हुन सक्छ ।

यस बिचमा आन्तरिक पर्यटन प्रवद्र्धनलाई सरकार र निजी दुबै क्षेत्रले उत्तिकै जोड दिएको पाइन्छ । के भइरहेको छ यता ?

आन्तरिक पर्यटन प्रवद्र्धनमा जति काम हुनपर्ने हो, त्यो हुन सकेको छैन । किनकी यहि समयमा हामी चाडवाडमा व्यस्त भयौं । हामीले दशैं अघि नै एउटा प्याकेज सहित काम गरेको भए अझै प्रभावकारी हुन सक्थ्यो ।

नेपाल पर्यटन बोर्डका साथिहरु पनि कोरोना संक्रमित भएर बस्नुभयो । केही ढिलो त भयो । तर पनि हामी हरेक प्रदेशको पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्नेगरी कार्यक्रम ल्याउने तयारीमा छौं । हामीले आन्तरिक पर्यटनलाई प्राथमिकता दिनुपर्छ भन्नुको पछाडी भोलि फेरी यस्तो अर्को महामारी आयो भने पनि आन्तरिक पर्यटनबाट जीवनयापन भइरहन्छ भन्ने अपेक्षा हो । यो नेपाली पर्यटन व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले पनि मनन् गरेका छन् । जुन सकारात्मक पक्ष हो ।

आन्तरिक पर्यटनमा बढी सम्भावना बोकेका गन्तव्य कुन हुन् ?

साविकदेखि नै चर्चामा रहेका गन्तब्यमा स्वभाविक रुपमा मानिस जान चाहन्छन् । कम खर्च, पर्याप्त हेर्नलायक उत्पादन, सहज पहुँच भएको ठाउँमै मानिस गइरहेका छन् । अहिले पोखरा, चितवन, बन्दिपुर, नगरकोट, धुँलीखेल र काठमाडौं वरिपरीका स्थानमा आन्तरिक पर्यटकको भिड लागेको छ । आफ्नै प्रदेश भित्रपनि विराटनगरको मान्छे भेडेटार जाने, झापाको मान्छे इलाम जाने, नेपालगञ्जको मान्छे रारा जाने यो प्रवृत्तिको विकास भएको छ । यसले व्यवसायीलाई उत्साहित बनाउँछ । त्यसकारण अब सातै प्रदेशका पर्यटन गन्तव्यलाई समान महत्वका साथ विकास गर्नुपर्छ ।

विदेशी पर्यटन नआउन्जेल आन्तरिक घुमफिर प्रवद्र्धन गर्नुपर्छ भन्नेमा दुई मत रहेन, यसका लागि अब निजी क्षेत्रले के गर्नुपर्छ, सरकारसँग के अपेक्षा गर्नुहुन्छ ?

आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकारको तर्फबाट बिदा पर्यटनको अवधारणा कार्यान्वयनमा आउनु पर्छ । यो भनेको घुमफिरका लागि निश्चित रकम दिएर सरकारी कर्मचारीलाई आन्तरिक गन्तब्यमा पठाउनु हो । यसले एकातर्फ सरकारी कर्मचारीको कार्यबोझ केही हलुका हुन्छ । घुमफिरबाट फर्किएपछि उनीहरु तनावमुक्त भई पुनः काममा खटिन सक्छन् । अर्कोतर्फ व्यवसायीले थोरै भएपनि विजनेश पाउँछन् ।

व्यवसायीले विजनेश पाउनुको मतलव कर र अन्य विभिन्न माध्यमबाट राज्यले पुनः लाभ लिन्छ । यसले सबैलाई फाइदा गर्छ । अर्कोतर्फ निजी र सामुदायिक क्षेत्रले समेत आफ्ना कर्मचारीलाई रकम नै दिएर घुमफिरमा पठाउने नीति कार्यान्वयन गर्न सक्छन् ।

किनकी ठूला व्यवसायिक घरानाले विगतमा आफ्नो कर्मचारीलाई समुह बनाएर विदेश घुम्न पठाउने गरेका थिए । केही समय अब नेपाल भित्रै यो माहौल बनाऔं न । यसले मुलुकको आन्तरिक पर्यटनलाई माथि उकास्न निकै सहयोग गर्छ । सरकारले नीति नियम बनाएर नियमित नियमन गर्ने र निजी क्षेत्रले डलरको मात्रै लोभ नगरी आन्तरिक पर्यटकलाई उत्तिकै महत्व दिने हो भने हामी नेपाल भित्रै पर्यटकीय माहौल निर्माण गर्न सक्छौं ।

यसका लागि नाट्टाले के पहल गर्दैछ ?

नाट्टा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गर्ने समितिमा छ । यस संस्थाको अध्यक्षको हैसियतले भन्नुपर्दा हाम्रो सबै साथिहरु आफ्नो काममा निरन्तर लागिरहनुभएको छ । हाम्रो काम भनेको पर्यटन बोर्ड र नेपाल सरकारसँग मिलेर यस क्षेत्रलाई अघि बढाउने हो । हामी यसमा काम गरिरहेका छौं ।

नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको समेत सहभागितामा बनाइरहेको आन्तरिक पर्यटनको भ्रमण प्याकेज कहिलेसम्म आउँछ ?

निजी क्षेत्रका प्रदेश समितिहरुबाट हामीले स्थानीय व्यवसायीसँगको समन्वयमा प्याकेज मगाएर त्यसलाई एकिकृत गरी पर्यटन बोर्डलाई बुझाएका छौं । यसमा पर्यटन व्यवसायी, होटेल व्यवसायी, वायुसेवा कम्पनी, ट्राभल तथा टूर, यातायात सबै क्षेत्रका व्यवसायीले सहभागिता जनाउनु भएको छ । हरेक प्रदेशमा घुम्नलायक स्थान छनोट गरी आकर्षक प्याकेज बनिरहेका छन् । यसलाई अन्तिम रुप दिने काम पर्यटन बोर्डबाट भइरहेको छ । त्यसपछि सात वटै प्रदेशको पर्यटन क्षेत्र समेट्ने गरी प्याकेज सार्वजनिक हुन्छ ।

नेपालीहरु प्याकेज बीनै घुमफिरमा निस्कन्छन्, यसले व्यवसायीलाई त फाइदा हुँदैन नै, यात्रुले पनि दुखः पाउँछन्, यो समस्या कसरी समाधान गर्ने ?

विदेशीहरु घुमफिरमा निस्कनु अगाडी ६ महिना पहिले नै योजना बनाउँछन् । योजनावद्ध रुपमा घुमफिरमा निस्कन्छन् । पुरै बन्दोवस्तीका साथ निस्कन्छन् । त्यसकारण उनीहरुले कम जोखिम मोल्नुपर्छ । नेपालमा त्यस्तो संस्कार नै छैन । आज योजना बनाएर हामी तत्काल घुमफिरमा निस्कन्छौं । यसले कुनै बेला जोखिम पनि निम्त्याउन सक्छ । त्यसकारण प्याकेजमा जान नेपालीलाई प्रेरित गर्नुपर्ने हुन्छ ।

यसबाट एकातर्फ खर्च केही सस्तो पर्छ, भरपर्दो हुन्छ, समस्या आइपरे ट्राभल एजेन्सी जिम्मेवार हुन्छ । उसैले व्यवस्थापन मिलाउँछ । उदाहरणका लागि बाटोमा गाडी बिग्रियो भने ट्राभल एजेन्सी नै जिम्मेवार हुन्छ ।

त्यसरी ग्राहक अर्थात नेपाली पर्यटकलाई व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले विश्वास दिलाउन सक्नुपर्यो । र त्यो काम हामी गर्दै छौं । अब भोलिका दिनमा एक्लै जाने भन्दापनि प्याकेज लिएर भ्रमण गर्ने साथीहरु धेरै निस्कन्छन् । किनभने विश्वासिलो, झन्झट रहित सहज हुनुका साथै प्याकेजमा सस्तो पर्छ ।

पछिल्लो समय हवाई कम्पनीहरुले घुमफिरलाई सहज पुग्नेगरी आर्कषक प्याकेज ल्याइरहेका छन्, यसले पर्यटन प्रवद्र्धनमा कति सहयोग पुग्ला ?

यस्ता प्याकेजहरु कोरोनाबाट आक्रान्त भएको अवस्थामा केही राहत पुग्ला भनेर ल्याएको प्याकेज हुन् । बुद्ध एयर र यति एयरलाइन्सले प्याएका प्याकेज उहाँहरुले आफ्नो कम्पनीको प्रचारको लागि ल्याउनु भएको हो । जब ट्राभल एजेन्सीहरुले प्याकेज बेच्न थालेपछि उहाँहरुलाई आफ्नो टिकट बेच्नै फुर्सद हुँदैन । यो वातावरण अब बन्दै जान्छ । ट्राभल एजेन्सीले आफ्नो काम गर्छ, एयरलाइन्सले आफ्नो काम गर्छ । यस्ता प्याकेजले यात्रुलाई घुमफिरमा प्रेरित पनि गर्छ ।

यो वर्ष तपाईंको आफ्नै घुमघामको योजना छ की छैन् ?

म रारा जाने योजनामा थिए । रारा म पछिल्लो वर्ष पनि गएको थिए । यो वर्ष भने सुर्खेत हुँदै रारा गएर धनगडी फर्कर्ने योजना बनाएको छु ।

आम यात्रुलाई तपाईको केही सन्देश छ ?

नेपाल प्रकृतिको एक सुन्दर उपहार हो । यहाँ पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म अनगिन्ती हेर्न र घुम्नलायक स्थान छन् । हरेक स्थानमा मौलिक परम्परा र खानाका परिकार पाइन्छ । अहिले अधिकांश स्थानमा सरल पहुँचको पनि सुविधा छ ।

पूर्वाधार बनिरहेका छन् । त्यसकारण म सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न निस्कन आह्वान गर्छु । आन्तरिक पर्यटनलाई बढावा दिऊँ । हामीपनि घुम्ने बाँनी बसालौ । हामी नेपाली नै मिलेर यस्तो माहौल बनाऔं की भोली विदेशी पर्यटकलाई नेपाल खोजी खोजी आउनु पर्ने गन्तब्य बनोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here