कर्जा-निक्षेप असन्तुलन अझै उच्च, निक्षेपमा १० र कर्जामा १६.५ प्रतिशत वृद्धि

काठमाडौं ६, जेठ । गत चैतसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १०.६ प्रतिशतले बढेको छ । सोही अवधिमा निजीक्षेत्र तर्फको कर्जा प्रवाह साढे १६ प्रतिशतले बढेको छ ।

गत वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १०.१ प्रतिशत र कर्जा प्रवाह १६.९ प्रतिशतले बढेको थियो ।

बैंकहरु आक्रामक रुपमा कर्जा विस्तारमा लागेको र सो अनुपातमा निक्षेप संकलन नहुँदा कर्जा निक्षेपबीचको अन्तर फराकिलो बन्दै गएको हो । यो अवधिमा अपेक्षित रुपमा सरकारी खर्च हुन नसकेकाले पनि बैंक तथा वित्तीय प्रणालीमा निक्षेप संकलन सुस्त भएको जनाइएको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १९.८ प्रतिशत र कर्जाको वृद्धिदर २२.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७५ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती ८.६, बचत ३३.६ र मुद्दती ४७.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा ती खातामा क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत रहेको थियो ।

२०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत छ । २०७४ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो ।

समिक्षा अवधिमा विस्तार भएको कुल कर्जामध्ये वाणिज्य बैंकको कर्जा १५.१ प्रतिशतले, विकास बैंकको २८.६ प्रतिशत र वित्त कम्पनीको १४.८ प्रतिशतले बढेको छ । वार्षिक रुपमा तुलना गर्दा गत चैतसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२.१ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये चैत मसान्तसम्म ६४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा रहेको देखिन्छ ।

२०७४ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.४ प्रतिशत र १४.८ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here