चैतयता उपत्यकामा २३ बालबालिकासहित ३४७ जनाले गरे आत्महत्या

काठमाडौं, १९ मंसिर । काठमाडौं उपत्यकामा आत्महत्याका घटनाहरु दिनहुँ बढ्दै गएका छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार चैतदेखि असोजसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ३४७ जनाले आत्महत्या गरेका छन्। जसमा २०८ जना पुरुष, ११६ जना महिला, १३ जना बालक र १० जना बालिका रहेका छन् ।

तथ्यांक अनुसार कोरोना रोकथामको लागि गरिएको लकडाउनको अवधिमा आत्महत्याका घटना बढेको देखिन्छ । त्यस अवधिमा सबैभन्दा धेरै असार महिनामा ७३ जनाले आत्महत्या गरेका छन् ।

चैतमा ४३ जना, बैशाखमा ४६ जना, जेठमा ५१, असारमा ७३, साउनमा ५८, भदौंमा ३७ र असोजमा ३९ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये २३ जना १८ वर्ष मुनिका (बालबालिका) रहेका छन्।

तथ्यांक अनुसार विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ तर झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ । प्रहरीका अनुसार सामान्य अवस्थामा व्यक्तिगत, आर्थिक र सामाजिक कारणले आत्महत्याका घटना हुने गरेको छ ।

लकडाउनको समयमा बढेको आत्महत्याको कारण चाँही आर्थिक कारणले नै हुनसक्ने प्रहरीको आकलन छ । लक डाउनको समयमा भवितव्यमा र सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या भने लकडाउनकै कारण उल्लेख्य रूपमा कमी आएको थियो । अहिले भने यसको संख्या पनि बढ्न थालेको छ । तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा दैनिक एक जनाले आत्महत्या गरेका छन् ।

प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।

धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here