चर्को मूल्य, न्यून गुणस्तरले फोरजीको विस्तार प्रभावित

-जितेन्द्र खनाल

काठमाडौं, २६ मंसिर । नेपालमा फोरजी सेवा विस्तार भएको झण्डै ४ वर्ष भएको छ । २०७३ पुष १७ गतेबाट सुरु भएको फोरजी सेवा अपेक्षा गरिए अनुसार अझै सफल भने हुन सकेको छैन् ।

नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा २ करोड २८ लाख ७९ हजार ७ सय २७ जान सिमकार्ड प्रयोगकर्ता रहेका छन् । जसमा नेपाल टेलिकमको मात्रै १ करोड १४ लाख १७ हजार १ सय २१ जना रहेका छन् भने एनसेलको ६५ लाख ८ हजार ७ सय ४३ जना, स्मार्ट सेलको १ लाख ८२ हजार ५६ सय ४५ जना र केही अन्य सिम प्रयोग गर्ने पनि छन् ।

तर, फोरजी सेवा प्रयोग गर्नेको संख्या भने ५५ लाख १६ हजार ५ सय ५४ जना मात्रै छ ।

यो कुल संख्यालाई आधार मानेर हेर्ने हो भने बजारमा ५५.५३ प्रतिशत हिस्सा रहेको नेपाल टेलिकमको फोरजी विस्तार र फोरजी प्रयोगकर्ता भने २९.०८ प्रतिशत मात्रै छ । प्राधिकरणको तथ्यांकअनुसार टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या १६ लाख ४ हजार ४ सय ५६ जना रहेको छ ।

टेलिकमको तुलनामा एनसेल फोरजी विस्तारमा केही अगाडि देखिएको छ । टेलिकमभन्दा पाँच महिनापछि फोरजी सेवा सुरु गरेको ऐनसेलको फोरजी प्रयोगकर्ता ३७ लाख २९ हजार ४ सय ५३ जना रहेका छन् । त्यस्तै, स्मार्टसेलको भने १ लाख ८२ हजार ५५५ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

यसकारण प्रभावकारी बन्न सकेन फोरजी सेवा

फोरजी सेवा प्रभावकारी बन्न नसक्नुमा टेलिकम कम्पनीहरुकै कमजोरी भएको नेपाल दुरसञ्चार प्राधिकरणका निवर्तमान वरिष्ठ निर्देशक आनन्दराज खनाल बताउछन् ।

‘फोरजी सेवा प्रभावकारी बन्न नसक्नुमा टेलिकम कम्पनीहरुकै कमजोरी छ,’ उनले भने, ‘फोरजी भनेको १०० एमबिपिएस नेटवर्क हो, नाम मात्रै फोरजी राख्दैमा प्रयोगकर्ताले विश्वास गर्दैनन्, नाम अनुसारको सेवा पनि दिन सक्नुपर्छ ।’

शुल्क धेरै भएको कारण पनि फोरजी प्रभावकारी बन्न नसकेको धारणा खनालको छ ।

‘शुल्क अत्यधिक धेरै भयो । घरमा प्रयोग गर्ने इण्टरनेट निकै सस्तो मूल्यमा उपलब्ध छ । यस्तोमा धेरै मूल्य तिरेर कस्ले प्रयोग मोवाइल डेटा प्रयोग गर्ला ? टेलिकम कम्पनीहरुले सस्तो मूल्यमा डेटा सुविधा दिने हो भने प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्छ,’ उनले भने ।

टेलिकम कम्पनीले यी कुरामा ध्यान दिनुपर्छ

टेलिकम कम्पनीले आफ्नो सेवा प्रभावकारी बनाउनको लागि बजारको माग र प्रयोगकर्ताको सुन्तुष्टिको लागि काम गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

खनालका अनुसार, टेलिकम कम्पनीहरुले टावर धेरै राख्ने, फ्रिक्वेन्सी बढाउने र सबैभन्दा ठूलो कुरा गुणस्तर बढाउनको लागि काम गर्नुपर्छ ।

सेवा प्रयोग गर्ने त ग्राहकले नै हो, त्यसकारण अहिले ग्राहकको माग के हो त यो कुरामा टेलिकम कम्पनीले विशेष ध्यान दिनुपर्छ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here