‘महामारीमा नाफा हेरेनौं, व्यवसाय बचाउने प्रयासमा छौं’

कोरोना महामारीका कारण विश्व नै प्रभावित बनेको छ । यसले अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा असर गरेको छ । त्यसमध्ये एक हो पर्यटन । पर्यटन क्षेत्रका कारण लाभाविन्त हुने दुई क्षेत्र हुन् होटेल र हवाई ।

पर्यटक नआएपछि अहिले नेपालमा यी दुई क्षेत्र नराम्रोसँग प्रभावित बनेका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गरेको थियो । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा भएको यो कार्यक्रम कोरोनाका कारण स्थगित हुन पुग्यो ।

पर्याप्त पाहुना आउने अपेक्षासहित होटेल र एभिएशन क्षेत्रमा आएको लगानी जोखिममा परेको छ । नेपालमा कोरोना नियन्त्रण गर्न सरकारले चैत ११ मा लकडाउन शुरु गरेको थियो । त्यसपछि सबै क्षेत्र प्रभावित बने । कोरोना संक्रमणकै बीच असोज ५ पछि उडान केहि मात्रमा खुकुलो हुँदै गएपनि विदेशी पर्यटक नआउँदा आन्तरिक हवाई सेवाको भाडा निकै सस्तो बनेको छ ।

आन्तरिक उडानमा जहाजले गाडी भाडा सरहको भाडादर कायम गर्दा पनि सोचेजस्तो व्यापार गर्न सकेका छैनन् । सरकारबाट अति प्रभावित क्षेत्रमा राखेपनि पनि अपेक्षा गरिए अनुसारको सहयोग नपाएको हवाई उडानहरुका समग्र समस्याबारे क्लाउड पत्रिकाका अर्जुन न्यौपानेले दुर्गम भेगका विमानस्थलमा उडान भर्दै आएको समिट एयरका प्रवन्ध निर्देशक तथा हवाई संघ नेपालका महासचिव मनोज कार्कीसँग गरिएको कुराकानी:

कोरोनाले हवाई क्षेत्रमा परेको असरबारे बताईदिनुस न ?

कोरोना महामारीको प्रभावलाई हामीले तीन किसिमले बुझनु पर्छ । पहिलो त लकडाउन शुरु हुनुभन्दा अघि पुस/माघदेखि नै नेपालमा प्रभाव पर्न थालिसकेको थियो । हवाई क्षेत्र सुचारु भएपनि मानिसहरुको आवत–जावत घट्दै गएको थियो ।

यसले पर्यटक आगमनको सिजनमा समेत नकारात्मक असर गर्‍यो । पर्यटक आउँदै आएनन् । त्यसपछि चैतबाट शुरु भएको लकडाउनको समय सात महिना शुन्यमा नै बस्नु पर्‍यो । त्यस समयमा दैनिक ७ करोडको हाराहारीमा हवाई क्षेत्रले आम्दानी गुमाएको तथ्यांक छ ।

लकडाउनको तीन सातापछि कार्गो र सडक यातायातले नजोडिएको क्षेत्रमा पीसीआरको लागि संकलन गरिएको स्वाव बोक्न सामाजिक उतरदायित्वको हिसाबले सिमित उडान सुचारु ग्भए । त्यसबाट एयरलाइन्सलाई नाफा थिएन ।

असोज ५ पछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार उडान सुचारु भएको छ । खुलेको सुरुवाती दिनमा हवाईयात्राका क्रममा पनि कोरोना सर्छ कि भन्ने त्रास यात्रुमा थियो । तर अब त्यो त्रास बिस्तारै हट्दै गएको छ । हवाई व्यावसायीले पनि मानिसलाई हवाईयात्रामा प्रेरित गर्न भाडादर घटाएका छन् । कुनै ठाँउको त भाडादर बसमा यात्रा गरे सरह छ ।

सरकारले भाडादर बढाउभन्दा पनि यस्तो बेलामा बढाउन हुन्न भनेर व्यवसायीले मानेका छैनन् । यो बेलामा नाफा कमाउने उद्देश्यभन्दा पनि हवाई यात्रा सुरक्षित छ है भन्ने सन्देश दिन खोजिरहेका छौं । यहि रफ्तारमा नै रहिरह्यो भने २०२१ सम्म चाँहि सकारात्मक प्रभाव पार्छ । अहिलेको अवस्थामा नाफा कमाउनु भन्दा व्यवसाय टिकाउनु नै ठूलो कुरा हो ।

यसबीचमा समिट एयरले आकंलन गरेको क्षति चाँही कति हो ?

यसमा क्षति भन्नु नै पर्यटक आगमनको दुई मुख्य सिजन गुमायौं । हवाई उडानको लागि यो नै ठूलो क्षति हो । दुर्गम क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरुले ट्रेकिङ सिजनमा गरेको कमाईले वर्षभर नै धान्ने हो । वर्षभरका नाफा योग्य फ्लाईट हुने सिजनै गुम्यो । सिजन नै सकिएपछि बीचमा अलिअलि भारतीय पर्यटकको पनि भर हुन्थ्यो यी सबै गुमेपछि ४० देखि ५० करोडसम्मको घाटा देखिन्छ ।

यस समयमा एयरलाइन्सहरुले कर्मचारीलाई कसरी व्यवस्थापन गरे ?

यस समयमा हामीले सरकारबाट ठूलै प्याकेजको आशा गरेका थियौं । राहत भनेको बैकको ब्याज र किस्ता तिर्ने समय एक वर्ष राखिएको छ । यसले नै केहि सहयोग भएको छ । अन्य सहयोग हामीले आफ्नै कर्मचारीबाट भएको छ ।

कर्मचारीलाई तोकिएको समयमा तलब दिन सकिएन्, केहि खर्च कटौती गर्दापनि उहाँहरुले ठूलो सहयोग गर्नुभयो । अहिले बैकबाट ऋण लिएर सबै खर्च धानिरहेका छौं । अहिले भईरहेका हवाई उडानबाट त हाम्रो दैनिक खर्च पनि उठ्न सक्दैन ।

असोज ५ पछि क्रमशः आन्तरिक उडान खुकुलो हुँदै गयो, अहिले कस्तो छ अवस्था ?

सञ्चालन हुँदैमा यात्रु पाईहाल्ने भन्ने होइन । कोरोना भाइरस नसर्ने दृष्टिकोणबाट नेपालमा आजको दिनमा यात्रा गर्दा सुरक्षित यात्राको साधन हवाईजहाज नै हो । सोही विषय बुझाउन सकेका कारण यात्रुको माग बिस्तारै बढदै गएको छ । तर अहिले पर्यटक नआएका बेला सबै यात्रु नेपाली मात्र हुन् ।

हवाई व्यवसायीले नेपाली यात्रुबाट धेरै नाफाको आश नै गरेका हुँदैनन् । विदेशी पयर्टक नआएसम्म हामीले कमाउने भन्दा नी कोरोनाको बेलामा यात्र सुरक्षितको माध्यम हवाई नै हो भन्ने प्रेरितमात्र गर्ने काम भएको छ । अहिलेको समयमा सबै एयरलाइन्सहरुले संचालन खर्च धान्ने हिसाबले नै टिकट बेचिरहेका छन् । सोहीकारण हवाईयात्रामा यात्रु समेत आकिर्षत भइरहेका छन् ।

दर्जनौ हेलिकोप्टर विमानस्थलमा राख्नु परेको समाचार आइरहेका छन्, उनीहरुको विजनेश त उठ्न सकेन है ?

कोभिडको सबैभन्दा प्रभाव परेको हेलिकोप्टर व्यवसायलाई नै हो । हेलिकोप्टकरको प्रयोग आम नेपालीहरुको पहूँचभन्दा महंगो नै हुन जान्छ । सञ्चालकले नाफा बढि राखेर भन्दा पनि सञ्चालन खर्च नै महंगो हुन्छ । पहिला पनि चार्टड, उच्च पहाडी भेगमा जाने पर्यटकको स्वास्थ्यमा समस्या आउँदा ओसारपसारमा नै प्रयोग बढी हुने गरेका थिए ।

सुगम क्षेत्रमा कुनै बिरामी, सुत्केरी ल्याउनको लागि नेताहरु सभा, सम्मेलनमा जानको लागि मात्र प्रयोग भैरहेकोमा यो बन्दा हुँदा नै सबै हेलिकोप्टर पार्किङमा नै बस्नु परेको छ । जबसम्म पर्यटक व्यावसाय सुचारु हुँदैन तबसम्म हेलिकोप्टर व्यवसायीलाई आफ्नो व्यवसाय धान्न मुस्किल परेको हो ।

सरकारले हवाई व्यवसायलाई कोरोनाबाट अतिप्रभावित क्षेत्रमा राखेको छ । सरकारसँग तपाईहरुको अपेक्षा के हो ?

हामीलाई दैनिक खर्च नै धान्द कठिन परिरहेकाले नै अहिले सरकारले खर्च धान्ने खालको कुनै स्रोतको व्यवस्था गरिदिए हुन्थो भन्ने हवाई व्यवसायीको माग छ । तर ढिलै भएपनि तलब खुवाउन ऋणको कार्यविधि आएको छ । यी कार्यविधिलाई सबैको पहुँचमा पुर्‍याइदिनु पर्छ ।

समिट एयरको नयाँ योजना के छ ?

अहिले हामी योजना भन्दा पनि बाच्ने हिसाबमा नै योजना बनाई रहेका छौं । कोरोनाको प्रभावले हुनसक्ने क्षतिलाई न्यूनिकरण गरेर कसरी अघि बढ्ने भन्ने बारेमा केन्द्रित रहेका छौं ।

नयाँ जहाज थप्ने योजना के हुँदैछ ?

तत्कालको अवस्थामा नयाँ जहाज थप्ने योजनामा छैनौं, कोभिडको औषधि आएर पर्यटन क्षेत्रको अवस्था सहज भएपनि यसबारेमा पनि सोच्नेछौं ।

दुर्गमको उडान कतिको सन्तोषजनक छ ?

हामीले दुर्गम सेवादिन थालेको १० वर्ष भयो । हामीभन्दा पनि सेवाग्राही खुशी हुनुपर्ने हो । उहाँहरु हामी आएपछि सन्तुष्ट हुनु भएको छ । पहिला पहाडतिर जान टिकट नै पाइदैनन भन्ने थियो त्यो सहज भएको छ ।

कुनै ठाँउ जानको लागि ३/४ दिन बसेर टिकट पाईने प्रचलन नै थियो । अहिलेको अवस्था त्यस्तो छैन । हामीले धनगढीलाई आधार बनाएर सूदुरपश्चिममा पनि सेवा दिईरहेका छौं । जहाँ २०/२२ वर्षदेखि हवाईसेवाको पहुँच नभएको बैतडी, डोटी, बझाङमा पनि सेवा सुचारु छ त्यहाँका जनताले हामीलाई खुबै राम्रो मानेका छन् । त्यस कारण नै हामी आफ्नो सेवाबाट सन्तुष्ट रहेका छौं ।

दुर्गममा उडान गर्दाको समस्या के के छन् ?

दुर्गमको समस्या भनेको त्यहाँको जनताको उडान पहुँचको क्षमता त्यति शक्तिशाली छैन् । हामीले नेपाली यात्रुको लागि दुर्गम क्षेत्रमा लाग्ने लागत खर्च भन्दा पनि कम टिकट दर राखेका छौ । त्यसको लागि एउटा कोष नै खडा गरेर कसरी त्यहाँका जनतालाई सहुलियत दिन सकिन्छ, एयरलाइन्स् कम्पनीले पनि निरन्तर सेवा सुचारु गर्न सक्छन् भनेर सोच्नु पर्छ ।

कुनै पनि कम्पनी १/२ वर्ष घाटा खाएपनि लगातार घाटा खाएर चलिरहन सक्दैनन् । सेवा पनि निरन्तरता होस्, त्यहाँका जनताले पनि धेरै मूल्यमा टिकट काट्नु नपरोस भन्ने हामी चाहन्छौं । धेरै पटक कोषको बारेमा छलफल गरेपनि यो कार्यान्वयनमा आएको छैन् । कोषको बारेमा सरकार समेत गम्भीर हुन सकेको छैन ।

नेपालमा हवाईयात्राको समस्या चाँही के-के हुन् ?

नेपालमा हवाई क्षेत्र सञ्चालनको मुख्य लहरो विदेशी पर्यटकसँग नै जोडिएको छ । विदेशी पर्यटक नआउने हो भने अहिले भएका धेरै हवाई कम्पनी बन्द हुने अवस्थामा पुग्छन् ।

नेपाली यात्रुको लागि चार्जहरु एकदम सस्तो छ । विदेशीलाई डलरको रुपमा चार्ज लगाउँदा हवाई कम्पनीले नेपालीको लागि धेरै सहज बनाएका छन् । नेपालमा विदेशी पर्यटक आउने सिजन छुट्याएका छौ । ताकी नेपालमा १२ महिना पर्यटक आउने मार्केटिङ हामीले गर्न सकेका छैनौं । मौसमअनुसार पर्यटक आउनाले नै हवाईक्षेत्रलाई अप्ठारोमा परिरहेको छ ।

यसबाहेक सरकारलाई तिर्नुपर्ने कर, भाडामा जहाज ल्याउदा तिर्नुपर्ने करका विषयमा समेत हाम्रो चासो छ । नेपालमा इन्धनको मूल्य धेरै महंगो छ । यो घटाउनु पर्छ भनेर हामीले निरन्तर माग गरिरहेका छौं । समय अनुसार आयल निगमले घाटामा पनि होइन्, धेरै नाफा कमाउने पनि होईन, पुर्नविचार गरिदिनु पर्छ ।

नेपालमा बीमाको समेत समस्या रहेको छ । नेपालमा एयरलाइन्सको बीमा हुँदैन । सबै बीमा विदेशमा गर्नुपर्ने भएको हुनाले महंगो पर्न जान्छ । नेपालमा नै त्यो सुविधा भएमा मूल्य कम हुन्छ । भौतिक पूर्वाधारको क्षेत्रमा समेत अझै धेरै काम गर्नुछ ।

हवाई उडानको सकारात्मक पाटो के हो ? जसले तपाईलाई सबै आशावादी बनाउँछ ?

यात्राको लागि सबैभन्दा सुविधा सम्पन्न माध्यम हो हवाई उडान । हाम्रो जस्तो पहाडी भुभाग भएको ठाँउमा बाढी, पहिरोले सडक अवरुद्ध भैरहँदा पनि १२ महिना सेवा दिने माध्यम हो ।

पहिला हुनेखानेले प्रयोग गर्ने विलासी साधनको रुपमा सोच्थे भने अहिले सहज, छिट्टो यात्राको रुपमा लिन थालेका छन् । भोलिका दिनमा मानिसहरु आर्थिक रुपमा बलियो हुँदै जान्छन् । समयको महत्व बढी हुँदै जान्छ अनि हवाई यातायातको माग झनै बढ्दै जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here