नगद छैन ? अब यसरी पाइन्छ तरकारी

काठमाडौं । के तपाई काठमाडौँको नक्सालस्थित तरकारी तथा फलफूल बजारमा तरकारी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अब पैसा नबोकिनकनै गए पनि हुन्छ। पैसा बोक्दा चोरी हुने, हराउने तथा खुद्रा नभएर तपाईलाई कुनै समस्या पर्ने छैन किनकी केन्द्रीय बैंकले सो तरकारी बजारमा अब क्यूआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ।

तरकारी खरिद गर्न जाँदा अब तपाईले मोबाइल मात्रै बोकेर गए हुन्छ। नेपाल राष्ट्र बैंकले अब आम सर्वसाधारणलाई सहज रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउँदै क्विक रेस्पोन्स (क्यूआर)मार्फत भुक्तानी गरे हुने व्यवस्था मिलाएको छ। नक्सालस्थित तरकारी तथा फलफूल बजारमा नेपाल राष्ट्र बैंकले नगदरहित कारोबार शुरु गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले उक्त बजारमा क्यूआर कोड भुक्तानीमार्फत तरकारी खरिद गरी यसको शुभारम्भ गरेका हुन्।

गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरूप देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिए। उनले भने, “नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक शुरुआत हो। अब यसलाई देशभर अभियानका रूपमा विस्तार गर्ने योजना राष्ट्र बैंकले बनाएको छ ।”

समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पुर्‍याउने विश्वास गभर्नर अधिकारीले व्यक्त गरे। “यो प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहन त गर्छ नै, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पुर्‍याउनेछ”, उनले भने।

क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्ने तयारीमा केन्द्रीय बैंक जुटेको छ। गभर्नर अधिकारीले क्विक रेस्पोन्स (क्यूआर) मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने बताए। गभर्नर अधिकारीले क्यूआर भुक्तानीमार्फत हुने भुक्तानी कारोबार उत्साहजनक रूपमा विस्तार भइरहेको जानकारी दिँदै कोरोनाको कहरपछि विद्युतीय कारोबारमा वृद्धि भएको जानकारी दिए।

पछिल्लो समय हरेक महिना ३० प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेको जानकारी उनले दिए। क्यूआर कोड कारोबारको प्रवद्र्धन र विस्तारको निम्ति सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसको निम्ति अग्रसर रहन बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यवसायीलगायत सरोकारवालाई आग्रहसमेत गरे।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले नक्साल तरकारी बजारमा क्यूआर कोड कारोबारको शुरुआतले थप हौसला मिलेको प्रतिक्रिया दिए।

उनले देशभर ‘डिजिटल नेपाल’को प्रवद्र्धनमा राष्ट्र बैंकसँग सहकार्य गरेर अगाडि बढ्न वित्तीय क्षेत्र तयार रहेको बताए। नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटा क्यूआर कोडको थालनीसँगै तरकारी बजार प्रविधिमैत्री वातावारणमा प्रवेश गरेको बताउँछन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू भुवन कँडेल, देवकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, डा गुणाकर भट्ट, बमबहादुर मिश्र, निर्देशक रोशनकुमार सिग्देललगायतको उपस्थिति थियो। सानिमा बैंक र नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिको सहकार्यमा नक्सालस्थित तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानीमार्फत भुक्तानी कारोबारको शुरुआत गरिएको हो।

बजारका ७५ स्टलमध्ये अधिकांश स्टलमा क्यूआर कोड सञ्चालनमा आएको जनाइएको छ। राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको तथ्याङ्कअनुसार गत कात्तिक मसान्तसम्म क्यूआर कोडमार्फत दुई लाख ४१ हजार ८१८ कारोबारहरू भएका छन्। क्यूआर भुक्तानीमार्फत हुने भुक्तानी कारोबार पछिल्लो समय लोकप्रिय बन्दै गएको छ।

चीन, भारत, अमेरिका, युरोप तथा जापानलगायत देशमा अधिकांश कारोबार क्यूआर कोडमार्फत हुने गरेको छ। सुरक्षित कारोबारका लागि महत्वपूर्ण मानिएको उक्त प्रणालीको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले सकारात्मक हस्तक्षेप गर्दै प्रक्रिया अगाडि बढाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here