‘शेयरको मूल्य बढ्दैमा बेच्ने र घट्दैमा किन्नेले बजार चिनेको हुँदैन’

शेयर बजार निरन्तर रुपमा बढ्दो छ । सोही क्रममा करिब २१ सय नजिक पुगिसकेको थियो । तर विहिबारदेखि ओरालो लाग्न थालेको छ । बढ्दो बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम पनि जारी छ ।

बढ्दो शेयर बजार नयाँ लगानीकर्ताका लागि कति जोखिमुर्ण छ ? नयाँ लगानीकर्ताले के कुरामा ध्यान दिनुपर्छ ? बढेको बजारमा राम्रा कम्पनीको छनौट कसरी गर्नेलगायत विषयमा लगानीकर्ताको चासो छ । यी विषयमा क्लाउड पत्रिकाका जितेन्द्र खनालले स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीसँग गरेको कुराकानीको सारः

अहिलेको शेयर बजारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

कोभिडको संक्रमण, त्यसको जोखिमबाट बच्न गरिएको लकडाउनका कारण लामो समय बजार बन्द रहयो । लकडाउनपछि खुलेको शेयर बजारले केही गति देखाएको छ ।

यसरी गति देखाउनुमा बैंकसँग जम्मा भएर बसेको लगानीयोग्य पुँजी, घट्दो ब्याजदर, अन्य क्षेत्रमा तत्कालको लागि लगानी गर्ने माहौल नहुनु, पछिल्लो समय कोरोना त्रास घट्दै जानु र भ्याक्सिन आयातको तयारी लगायत कारण बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

शेयर बजार बढिरहेकाले जाखिम पनि त्यत्तिकै छ भन्छन नी ?

बजारको बारेमा नबुझी, राम्रो विश्लेषण नगरी, हल्लाको भरमा लगानी गर्नेका लागि यो क्षेत्र जोखिमपूर्ण नै हो । तर, आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा सम्पूर्ण जानकारी लिएर लगानी गर्दा जोखिम हुँदैन ।

हाल नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय भन्दा धरै छ । ती मध्ये केही कम्पनीमा जोखिम अवश्य छ, भने कुनैमा अवसर पनि छ । लगानीकर्ताले राम्रो कम्पनी छनौट गरेर मात्र लगानी गर्नुपर्छ । विवेकशिल तरिकाले लगानी निर्णय गर्दा जोखिम हुँदैन ।

बजारमा चलखेल भयो भनेर नियामक निकायको अध्ययनले देखाएको भन्ने कुरा आएको छ, तपाईंलाई के लाग्छ ?

पुँजी बजारमा धेरैथोरै चलखेल नेपालमा मात्रै होईन अन्य मुलुकका बजारमा पनि हुन्छ । त्यसको मात्रा कति भन्ने कुराले प्रभाव पार्छ । यसको बारेमा अध्ययन, निरिक्षण तथा सुपरिक्षण गर्ने निकायहरु छन् ।

ती निकायको जिम्मेवारी बजारमा चलखेल नहोस्, साना लगानीकर्ताले नोक्सान व्यहोर्नु नपरोस, उनीहरुको लगानीको संरक्षण गर्ने हो । बजारलाई स्वच्छ, पारदर्शी र प्रतिश्पर्धी बनाउने जिम्मेवारी ती निकायको हो ।

बजारमा चलखेल भएको छ भने त्यसको बारेमा अध्ययन गर्ने, कुन कम्पनीले के विषयमा कहाँ चलखेल गर्यो भनेर स्वतन्त्र रुपमा अध्ययन गर्ने, दोषी पाइए कानून बमोजिम कारवाही गर्नुपर्छ । त्यसो गर्दा बजारमा त्यस्ता गतिविधि रोकिन्छ । लगानीकर्ताको सुरक्षा पनि हुन्छ । तर, बजार बढ्ने वा घट्ने बित्तिकै चलखेल भयो भन्न भएन् । तथ्यको आधारमा कुरा गर्नुपर्छ ।

विगतमा जस्तो अहिलेपनि सिमित व्यक्तिको कब्जामा शेयर बजार छ भन्ने सुनिन्छ नी, के यो सत्य हो ?

प्रविधिको प्रयोगले गर्दा नेपाली सेयर बजार पनि धेरै अघि बढीसकेको छ । विगतमा कस्को कति शेयर छ, कुन व्यक्तिले शेयर बजारमा कति लगानी गरेको छ भन्ने कुरा पत्ता लगाउन निकै अप्ठ्यारो थियो ।

तर, अहिले एउटा लगानीकर्ताले २ वटाभन्दा धेरै डिम्याट खाता खोल्न पाइदैन । ती खाताबाटै व्यक्तिको शेयर छ, कति लगानी गरेको छलगायत सबै विवरण थाहा हुन्छ । यस्तो अवस्थामा शेयर बजार सिमित व्यक्तिको कब्जामा छ भन्ने कुरामा सत्यता छैन ।

अनुमानको भरमा यस्ता कुरा गरिएका हुन् । यस्ता विषयले लगानीकर्तालाई त्रसित बनाउछ । यस्ता विषयलाई सम्बन्धीत निकायले प्रष्ट पारिदिनुपर्छ ।

नेप्से परिसूचकले २ हजार अंक नाघेसकेको छ । यसकारण अहिले बजारमा नयाँ लगानीकर्ता भित्रने समय होइन् भन्ने सुनिन्छ । बास्तविकता के हो ?

परिसूचकलाई मात्रै हेर्दा बजार निकै बढेको देखिन्छ । करिब १ हजार २ सयको आसपास रहेको नेप्से करिब २ हजार १ सय अंक पुगिसकेको छ । तर, सूचीकृत कम्पनीले पनि बजारको वृद्धिमा ठूलो भूमिका खेलेको हुन्छ । लगानी गर्ने कम्पनीको शेयरमा हो ।

यसकारण बजार घटेको अवस्थामा भन्दापनि बढेको अवस्थामा नयाँ लगानीकर्ता शेयरमा प्रवेश गर्नु उपयुक्त समय हो । बजार कहिले पनि जोखिम बिहिन हुदैन । जोखिम कम गर्नकै लागि कम्पनीको बारेमा राम्रोसँग बुझेरमात्र लगानी गर्नुपर्छ । कम्पनीको बारेमा राम्रोसंग अध्ययन, विश्लेषण गरेर लगानी गर्दा बजार घटोस् वा बढोस् कुनै जोखिम हुँदैन् ।

बढिरहेको बजारमा राम्रा कम्पनीको छनोट कसरी गर्ने ?

बजार बढेको अवस्था होस् वा घटेको दुवै अवस्थामा कम्पनी छनोटको मापदण्ड एउटै हुन्छ । सरल भाषामा भन्दा कम्पनीले कमाएर कति लाभांस दिन्छ ? कम्पनीको संस्थागत सूचक कस्तो छ ? कम्पनीको विकास कुन ढंगमा भईरहेको छ ? भविष्यको योजना के छ ? यी कुरालाई राम्रोसंग अध्ययन गरेर लगानी गर्दा डराउनुपर्ने अवस्था हुँदैन् ।

नयाँ लगानीकर्ताले के-के कुरामा ध्यान दिने ?

शेयर बजारमा आउने मानिस पैसा कमाउन नै आउने हो । यसका लागि उनीहरुले छुट्टाछुट्टै योजना बनाएका हुुन्छन । केही मानिसहरु आफूले लगानी गर्ने कम्पनीको बारेमा सम्पुर्ण अध्ययन गरेर आएका हुन्छन । केही बजारमा नकारात्मक हल्ला फिजाएर नाफा कमाउने उद्देश्यले आएका हुन्छन् ।

त्यसकारण सिधै आएर शेयर किन्ने भन्दापनि लगानी सम्बन्धी पूर्ण जानकारी लिने, कम्पनी विश्लेषण गर्ने अनिमात्र लगानी गर्न बजार प्रवेश गर्नुपर्छ । लगानी सम्बन्धी ज्ञान भएन भने सामाजिक सञ्जालमा आएका हल्लाकोपछि लागेर लगानी निर्णय गर्दा जोखिम हुन्छ ।

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरो आइरहेको छ । हाल भएका ब्रोकहरुले काम गर्न नसकेकै हो र ?

हामीलाई अहिलेसम्म दिएको काम भनेको शेयर खदिरबिक्री गर्नका लागि मात्रै हो । त्यो बाहेक अन्य अधिकार हामीमा छैन् । यो कामपनि हामीलाई करिब करिब काठमाडौं उपत्यकामा बसेर मात्रै गर भनिएको छ ।

बाहिर हरेक ब्रोकरको एउटा शाखा छ, त्यो बाहेक नेपालमा अन्य शाखा हामीले सोचे अनुरुप अघि बढ्न सकेको छैन् । यस विषयमा ब्रोकरले त्यो काम गर्न सक्छ वा सक्दैन् भन्ने कुराको परिक्षण नै नगरि ब्रोकरले सक्दैनन् भन्ने आकलन भइरहेको छ । तर, यो पक्कैपनि होइन् ।

२७ वर्षदेखि हामी यो पेसामा छौं । २७ वर्षमा कतिवटा बैंक समस्याग्रस्त भए । यो अवधिमा कुनैपनि ब्रोकर समस्यामा छैन । ब्रोकरका कारण कुनै पनि लगानीकर्ताले एक रुपैयाँपनि गुमाउनु परेको छैन् । हामीले अहिलेसम्म कानुनी घेराभित्र रहेर गर्नुपर्ने सम्पूर्ण काम गरेका छौं । ब्रोकरलाई अवसर नै नदिईकन अयोग्य छन् भनिन्छ भने त यसको कुनै अर्थ लाग्दैन् ।

हाम्रो कुरा के हो भने यो कामको लागि हामी योग्य छौं । हामीलाई अधिकार दिने हो भने जस्तोसुकै सेवापनि दिन सक्छौं । म दाबीका साथ भन्न सक्छु, बैंकका सहायक कम्पनीबाट प्रवाह हुने सेवा भन्दा हामी दिने सेवा सबै पक्षबाट उत्कृष्ट हुन्छ ।

ब्रोकरहरु व्यवसायी बन्न सकेनन् । फेम्ली विजनेशको रुपमा मात्रै काम गरिरहेका छन् भन्ने आरोप छ नी ?

यसमा व्यवसायीक के आधारमा भनिएको छ । फेम्ली के आधारमा भनिएको छ भन्ने कुरा हुन्छ । मेरो व्यक्तिगत कुरा गर्ने हो भने मेरो कम्पनीमा म बाहेक मेरो परिवारको कोहीपनि सदस्य संलग्न छैनन ।

चाहे शेयरधनीको रुपमा होस् वा कर्मचारीको रुपमा । कुनै ब्रोकरमा धेरै-थोरै होलान् । यो क्षेत्रमा काम गर्न योग्य छन् भने घरको मान्छे राख्न हुन्दैन् भन्ने त छैन् । ब्रोकरलाई धेरैभन्दा धेरै लगानीकर्ता भित्र्याउने वातावरण बनाई दिनुपर्‍यो । यसो भयो भने फम्ली भन्ने कुरा हट्ला । नियमकले ब्रोकरलाई जस्तो बनाउन चाह्यो त्यस्तै बन्ने त हो ।

ब्रोकरको सुधारको लागि स्टक ब्रोकर्स एसोसिएसनको तर्फबाट के गर्ने योजना बनाउनु भएको छ ?

अनलाईनमार्फत शेयर किनबेच गर्न पाइएपछि आवेदन दिने क्रममा धेरै सजिलो भएको छ । खरिद गरेको शेयर कति समयमा पाईन्छ र बिक्री गरेको पैसा कतिको छिटो पाइन्छ । यी सेवा सुविधामा अझै सरल छिटो छरितो बनाउन हामीले नयाँ कारोबार प्रणाली छिटै ल्याउने तयारीमा छौं ।

यो प्रणालीमा आवेदन दिनको साथै कम्पनी विश्लेषण गर्नपनि सजिलो हुने सुविधा दिन्छौं । यसका अलवा मोवाइल एप पनि ल्याउने योजनामा छ । लगानीकर्ताले किनेको शेयर र पैसा बैंक खातामा जाने सुविधा पनि ल्याउने योजनामा छौं ।

यसका अलवा लगानीकर्तालाई सल्लाह सुझाव दिने, व्यवस्थापनमा सहयोग गर्ने कुरा आदी योजना निर्माण भईरहेको छ । यसको लागि सम्बन्धीत संस्थाले बाटो खुल्ला गरिदिने हो भने हामी अन्तराष्ट्रिय स्तरको सेवा दिन सक्छौं ।

अन्त्यमा लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ?
शेयर बजारमा कति लगानी गर्ने यो कुरामा लगानीकर्ता प्रष्ट हुनुपर्यो । शेयर बजार जुनसुकै बिन्दूमा भएपनि एक प्रकारको जोखिम त हुन्छ नै । ऋण थप लिने हो भने कति लिने ।

भोलि शेयर बजार घट्यो भने यसले मेरो व्यक्तिगत जीवनमा असर गर्छ वा गर्दैन् भन्ने कुरामा प्रष्ट हुनुपर्छ । यो निर्णय गरेसंगै उक्त रकम कस्ता कम्पनीमा लगानी गर्ने, मैले लगानी गर्न लागेको कम्पनीमा लगानी गर्न के कुरामा उचित छ त र बेच्न खोजेको हो भने के आधारमा बेच्न उचित छ यो कुरा लगानीकर्ताले विचार गर्नुपर्छ । हल्लाको पछि लाग्नु भएन् । मूल्य बढ्दैमा बच्ने र घट्दैमा किन्ने भन्नेपनि गर्नुहुन्न । यी कुरामा ध्यान दिने लगानीकर्तालाई शेयर बजारबाट नोक्सान हुँदैन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here