आगलागीबाट वार्षिक २ अर्ब बढीको क्षति, तीन वर्षमा १७५ को मृत्यु

काठमाडौं, २१ पुस । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । बाढि-पहिरो, कोरोनाले पुर्‍याएको क्षतिलाई बिर्सन नपाउँदै हिउँदेयाम शुरु भएसँगै आगलागीका प्रकोप देखा परेका छन् ।

आगलागीबाट प्रत्येक वर्ष नेपालले २ अर्ब भन्दा बढीको नोक्सानी खेपिरहेको छ भने, सयभन्दा बढी मानिसलाई गुमाउनुपरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो साढे नौ महिनाको अवधिमा देशभर एक हजार ३८२ वटा आगलागीका घटना रकेर्ड भएका छन्।

कूल एक अर्ब ६ करोड चार लाख २४ हजार ४१० रूपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ। आगलागीका घटनामा परी उक्त अवधिमा २३६ जना घाइते भएका छन् भने ५९३ चौपायाको मृत्यु भएको छ।

सानो कुरामा सतर्कता नअपनाउँदा क्षण भरमै ठूलो जनधन क्षति हुने गरेको छ । आगलागीबाट हुने क्षति कम गर्न सरोकारवाल निकायले पूर्वतयारी अपनाएपनि परेको बेलामा तयार राखिएका प्रविधि र जनशक्तिले काम गर्न नसक्दा धेरै क्षति हुने गरेको छ ।

यो वर्षको तथ्याङ्‍क अनुसार आगलागीले काठमाडौंमा ११ करोड ४७ लाख ४१ हजार ४०० रूपैयाँ, सुनसरीमा ११ करोड २६ लाख १० हजार रूपैयाँ, ताप्लेजुङमा आठ करोड ५५ लाख ३९ हजार ५० रूपैयाँ, झापामा सात करोड सात लाख ८७ हजार ५०० रूपैयाँ र मोरङमा चार करोड ८७ लाख ५५ हजार ६०० रूपैयाँ बराबरको क्षति गरेको छ।

२०७६ सालमा देशभर दुई हजार ४८७ वटा आगलागीका घटना घटेका थिए। ४९ जनाको मृत्यु र २९४ जना घाइते भएका थिए। उक्त वर्ष आगलागीले देशभर दुई अर्ब ७८ करोड ९४ लाख १७ हजार ६२० रूपैयाँ बराबरको क्षति गरेको थियो।

२०७५ सालमा दुई हजार ७७२ वटा आगलागीका घटना भएका थिए। ती घटनामा परी ८९ जनाले ज्यान गुमाएका थिए भने ३४३ घाइते भएका थिए। देशभर चार अर्ब पाँच करोड ६३ लाख ८५ हजार ८३४ रूपैयाँ बराबरको क्षति गरेको केन्द्रले जनाएको छ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा आगलागीमा परी १७५ जनाको मृत्यु भएको छ । ८३७ जना घाइते भएका छन् । ७ अर्ब ९० करोड बढिको क्षति भएको छ । आगलागीबाट बच्ने सबैभन्दा ठूलो उपाय भनेको व्यक्तिगत सावधानी नै हो ।

आगलागीको जोखिमबाट बच्न विद्युतीय उपकरण चलाउँदा तथा आगोसँग काम गर्दा सर्तकता अपनाउनुपर्छ । हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here