तेस्रो दिनसम्म ४६ हजारले लगाए कोरोना खोप,कुन प्रदेशमा कति ?

फाइलफोटो

काठमाडौं, १६ माघ । नेपालमा बुधबारबाट शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा उत्साहजनक सहभागि भएका छन् ।

बुधबार बिहान १० बजेबाट शुरु भएको खोप अभियानमा तेस्रो दिनसम्म आइपुग्दा देशभर ४६ हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएका छन् ।

यसरी खोप लगाउनेमा प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जना छन् ।

शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असर देखिएको तथ्यांक प्राप्त भएको छ । यद्दपी यस्ता असर केही समय पश्चात आफैं निको भएका कारण गम्भीर समस्या नदेखिएको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभर विज्ञ चिकित्सकहरु परिचालन गरिएको छ ।

वृद्धाश्रम र जेलमा रहेका लक्षित समूहका व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन भएको उनको भनाई छ ।

दोस्रो दिनसम्म २८ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएका थिए । दोस्रोदिनसम्म प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७, प्रदेश २ का २ हजार १ सय ७४, बागमतीका ११ हजार ४ सय ६१, गण्डकीमा ४ सय ८५३, लुम्बिनी २ हजार ३ सय ३, कर्णालीका १ हजार ६ सय ७७ र सुदूरपश्चिममा २ हजार ४ सय १६ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांक छ । पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएका हुन् ।

मन्त्रालयको आंकडा अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका थिए ।

खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म समस्या समेत नदेखिाएको मन्त्रालयको भनाई छ । अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिको सहभागिता उल्लेख्य रहेको मन्त्रालयको भनाई छ ।

माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here