‘क्वालिटी लोकभाका’ का पर्याय प्रकाश सपुत

जितेन्द्र खनाल

लोकभाका भन्नासाथ हामी गाउँ सम्झन्छौं । गाउँ भन्नासाथ हामी अनुशासन, परम्परा र मौलिकता सम्झन्छौं । तर, आजको लोकभाका र यसका सर्जकमाथि निरन्तर उठिरहेको प्रश्न हो, लोकभाकामा छाडापन र त्यसको गुणस्तर ।

हावाहुरी जस्तै आयो एक सातामै हरायो । यस्तै भिड छिचोल्दै निस्किएका एक चम्किला नक्षत्र हुन प्रकाश सपुत । त्यसैले त भनिन्छ, प्रकाश सपुत क्वालिटी लोकभाकाका पर्याय हुन् ।

यसो भनिरहँदा प्रकाश यो समाजको संरचनालाई सम्झन्छन् । समाजको यथार्थतालाई टपक्क टिपेर लोकभाकामा समावेश गर्दा त्यसले एकसाथ धेरै मानिसको मन छुन्छ । उनी मान्छन्, यही नै हो सफलताको शुत्र ।

“मलाई भोगाई र जीवनसँग नजिक रहेर सिर्जना गर्न मन पर्छ, जे देख्छु, त्यसलाई सिर्जनामा जोड्ने प्रयास गर्छु”, क्लाउड पत्रिकासँगको गन्थनमा जोडिएका प्रकाशले प्रफुल्ल मुद्रामा भने ।

एकपछि अर्को उत्कृष्ट सिर्जना

‘बोल माया’ सम्भवतः पछिल्लो दशककै सर्वाधिक लोकप्रिय लोक सिर्जनामध्ये एक हो । यो यस्तो सिर्जना हो, जसको सार्वजनिकीकरणका दौरान तत्कालिन श्रममन्त्री गोकर्ण विष्टको आँसु नै झारिदिएको थियो । विष्ट एक्ला यस्तो व्यक्ति होइनन्, जो बोलमाया भाका सुनेर रोएको होस ।

खरको छानो टीनले छाउने अभिलासा बोकेर विदेशीएका ४५ लाखभन्दा बढी नेपाली युवाको प्रतिनिधित्व गर्दै उनले टिपेको यो सिर्जनाले प्रकाशको उचाई यति माथि पुर्याइदियो की, त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन ।

त्यसो त प्रकाशको पहिचान ‘माकुरमाकुर घुर’ बोलको पन्चेबाजाको भाकाबाट स्थापित भइसकेको थियो । उनी स्वीकार पनि गर्छन् । पञ्चेबाजा मन पराउने स्रोत तथा दर्शकबाट राम्रो माया पाएको उनले बताए ।

त्यसपछि प्रकाशले ल्याए ‘दोहोरी व्याटल’ । व्याटलले यूवाजमातको ध्यान खिच्न उनी सफल भए । लोकभाका गाउँलेले मात्र होइन, शहरियाले पनि सुन्न थालिसकेका छन् । यसै माहौलमा अएको ब्याटलले उनी आधुनिक समाजमा समेत चिनिएका गायक बने ।

त्यसपछि आएको ‘बोल माया’ले भने उनलाई सगरमाथाको उचाईमै पुर्याइदियो । घामको प्रकाशजस्तै चम्किँए उनी । युट्युवको ट्रेण्डिंगमा हप्तौं कब्जा गरेको त्यो क्षणले अहिले पनि उनलाई रोमाञ्चक बनाउँछ ।

उनी सम्झन्छन्, त्यो गीतले अझ बढी जिम्मेवार हुन समेत प्रेरित गर्यो । त्यसपछि उनले ल्याएको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बदला बरी लै !’ र ‘फुटेका चुरा’ दर्शकको रोजाईमा अगाडी रहे । प्रकाशको पहिलो एल्बम ‘मुसुमुसु नहाँस’ हो ।

सबैको प्यारो बन्ने हुटहुटी

३० वसन्त पार गरेका प्रकाश सानैदेखि सबैको प्यारो बन्न चाहन्थे । त्यसका लागि आफुमा भएको प्रतिभा समेत उनले सानैमा पहिचान गरिसकेका थिए । बाग्लुङ जिल्लाको धम्जा गा.वि.स.(हाल काँठीखोला गाउँपालिका ३ धम्जा) मा जन्मिएका प्रकाशले जनता माध्यामिक विद्यालयबाट प्राथमिक शिक्षा हाँसिल गरे ।

उनले लक्ष्मी माध्यामिक विद्यालयबाट एसएलसी दिए । प्लस टूसम्मको शिक्षा अमृत आर्दश उच्च माध्यामिक विद्यालय बाग्लुङबाट उत्तिर्ण गरी प्रकाश अझ उज्जवल भविश्यको खोजीमा राजधानी छिरे ।

उनले रेकर्डेड गीत गाउन थालेको एक दशकमात्र पुग्दैछ । तर, उनको नसानसामा लोकभाका थियो । त्यसमा उनलाई घरको माहौलले निकै धेरै सहयोग गर्यो । प्रकाश सम्झन्छन्, घरमा हजुरबुबा भजन गाउनु हुन्थ्यो ।

बुबाको मारुनीमा विशेष दखल थियो । उहाँ नाच्ने र गाउने दुबै कलामा निपूर्ण भएका कारण प्रकाशलाई समेत बुबाको प्रतिभाले प्रभावित बनाउन थाल्यो ।

‘म सांगितिक माहौल मै हुर्किएको व्यक्ति हुँ, घरको वातावरणले आज मेरो भविश्य नै कोरिदियो,’ उनले सुनाए । प्रकाशले ८ कक्षामा पढ्दा आमा बोलको गीत गाएर पाएको पुरस्कारले ठूलो प्रेरणासमेत दियो ।

हरेक सिर्जनामा नयाँपन

हरेक सिर्जनामा नयाँपन दिनु नै प्रकाशको सफलताको राज हो । उनी हरेक सिर्जनामा कुनै न कुनै प्रकारको नयाँपन वा सन्देश दिन खोज्छन् । कस्ता सिर्जनाले दर्शकको मन जित्छ भन्नेबारे प्रकाश निकै अध्ययन गर्छन् ।

भाइरल हुने होडमा छिटो छिटो सिर्जना बजारमा ल्याउँदैनन् । सिजन अनुसार आउने गीतमा पनि उनको त्यति रुची छैन । बरु ढिला होस, क्वालिटी होस, उनी हरेक सिर्जनामा यस्तै चाहन्छन् ।

बोल मायाबाट सबैको मनमा प्रकारको चिन्ता भरिदिएका प्रकाशले गलबन्दी च्यातियो तिम्ले तानेर मार्फत चिन्ता कम गराउने प्रयास गरे । यस्तो लाग्छ, उनी चलचित्रको कथालाई लोकगितमार्फत स्वरमा उतारिरहेका छन् । त्यसैले त सफल छन्, प्रकाश ।

लोक गीतलाई प्रविधिले दिएको साथ

पछिल्ल समय दोहोरी गीतको अत्यधिक चर्चा हुनुमा उनी सूचना प्रविधिको मूख्य भमिका देख्छन् उनी । त्यसमा पनि सामाजिक संजालका कारण आज लोकभाका नेपालीको मनमनमा बस्न थालेको छ ।

उनी भन्छन्, ‘यो सम्भव भएको सामाजिक सञ्जालको उच्च प्रयोगले नै हो । युट्युव, फेसबुक, टिकटक जस्ता सञ्जालले कुनैपनि संगितलाई धेरै दर्शकसामु पर्याईदिन्छन् । त्यसमा राम्रो रचना भयो भने त्यसले अवश्य नै चर्चा कमाउँछ ।’

विवाद रहित भने छैनन् प्रकाश

त्यसो त चर्चाको शिखरमा चढ्दाचढ्दै पनि प्रकाश विवाद रहित भने छैनन् । यसमा उनको मात्र दोष पनि छैन । उनी समाजको आवश्यकता अनुसार सिर्जनामा लागे । कतिलाई यो मन परेन पनि होला ।

कतिपय अवस्थामा भने उनले गल्ती पनि गरेका छन् । जसलाई उनले स्वीकार पनि गर्छन् । ‘दोहोरी व्याटल २’ मा छाडा शब्दको प्रयोग धेरै भएको भन्दै उनी आलोचनाको शिकार बने । ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीतमा शम्भु राईको एउटा गीतसँग लय मिलेपछि उनी विवादको केन्द्रमा देखिए ।

‘दोहोरी व्याटल २’ मा गीतको भाव नै त्यस्तै रहेका कारण शब्द राख्नुपरेको प्रकाशको तर्क छ । उनी भन्छन्, ‘आफूलाई मन पर्ने गायकले यस्ता शब्द प्रयोग नगरेहुन्थ्यो भनेर उहाँहरुले भन्नु भएको कुरालाई म सकारात्मक रुपमा बुझ्छु ।

तर, क्लवमा गएर रक्सि खाएर झगडा परेको परिस्थितिको परिकल्पना गरी गीत बनाइएको थियो, त्यसकारण त्यस्ता शब्द आवश्यक थिए । के सत्य हो भने बोल माया र बदला बरी लै हेर्नेका लागि भने व्याटल २ थिएन ।’

‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भन्ने गीतको विवाद मिलाउन भने प्रकाशले शम्भु राईको नाम पनि गीत सर्जकमा राख्नु परेको छ ।

उनी सिर्जनाबाटै दर्शक र स्रोतको मन जित्न चाहन्छन् । सकेसम्म कम विवादमा परौं भन्ने नै उनको चाहना हुन्छ । सकेसम्म समाजका विषय नै टपक्क टिप्न सकौं भनेरै उनी सिर्जनामा लागिपरेका हुन्छन् ।

कहिले वैदेशिक रोजगारीका विषय उतार्छन् त कहिले बलात्कारमा परेकी चेलीको चित्कार समेटेर गीत बनाइदिन्छन् । उनको यसै शैलीले नै प्रकाशलाई माथि पुर्याउन समेत सहयोग गरेको हो ।

अबको रचना पैसा मात्र कमाउनु भन्दा समाजका लागि केही न केही योगदान गर्ने सोचका साथ ल्याउने योजनामा उनी छन् । गीत र संगितका माध्यमबाट पनि देश विकासमा योगदान गर्न सकिन्छ भन्नेमा उनको अटल विश्वास ।

ठूलो पर्दामा आउने तयारी

प्रकाश गीत सर्जक र गायक मात्र होइनन्, एक सफल मोडल पनि हुन् । दर्जनौं गितमा नृत्य र अभिनय मार्फत उनले दर्शकको मन जितिसकेका छन् । आफ्नो अधिकांश सिर्जनामा प्रकाश स्वयमःले अभिनय गर्छन् ।

त्यसो त प्रकाशलाई उनको रुपले पनि उत्तिकै साथ दिएको छ । अब उनी आफ्नो परिचयमा थप एक पहिचान थप्ने योजनामा छन । नारायण रायमाझीको निर्देशनमा बनेको फिल्म ‘परदेशी २’मा उनी अब हिरो बनेर उदाउँदै छन् ।

यो उनको पहिलो ठूलो पर्दाको परीक्षण हुने छ । चलचित्रको ठूलो पर्दामा देखिने रहर र चलचित्र मार्फत आफूले दिन खोजेको सन्देशलाई प्रष्ट र पूर्ण रुपमा दिन सकिने भएको कारण पनि यो क्षेत्रलाई रोजेको उनको भनाई छ ।

‘चलचत्रिमा देखिने रहर मलाई सानैदेखि थियो, अर्कोतर्फ दोहोरीको १० मिनेटमा समेट्न नसकिने विषयलाई सिनेमाले समेट्छ, एउटा असल सन्देशका साथ म सिनेमामा देखिनेछु’ उनले भने ।

यो चलचित्रमा दलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतको मूख्य भुमिका छ । सिनेमा आगामी दशैंमा प्रर्दशनमा ल्याउने तयारी छ ।

अवार्ड र सम्मानको ओइरो

सानै उमेरमा चर्चाको शिखरमा पुगेका प्रकाशमाथि सम्मान र अवार्डको समेत उत्तिकै ओइरो छ । उनी इमेज अवार्ड तीनपटक प्राप्त गरि यसलाई प्रमाणित गरिसकेका छन् । कान्तिपुर अवार्ड, राष्ट्रिय लोक दोहोरी अवार्ड, आदर्श सम्मान (दार्जिलिङ), सिङ्गगलथा पुरस्कार उनले थापेका केही चर्चित अवार्ड हुन् ।

तर, उनी सिर्जनाका भोका छन् । अझै धेरै गर्नुछ, संगितमा । यसकै माध्यमबाट धेरैको मुहारमा खुसी फेरिएको देख्न चाहन्छन् प्रकाश । यी सफल गायकलाई अझै सफलताको शुभकामना ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here