साताभर नै बजार कब्जा जमाएको ‘निफ्रा’ को सेयर अझै बढ्ला कि घट्ला ?

काठमाडौं, ७ फागुन । नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को सेयर मूल्य काराबोरमा आएको दिनदेखि नै लगातार सकारात्मक सर्किट लाग्दै आएको छ ।

नियमित कारोबार सुरु भएको १ मिनेटदेखि १० मिनेटसम्ममा सेयर मूल्य १० प्रतिशतले बढ्दै आएको छ । सेयरको माग अत्याधिक रहेको कारण नै बजारमा अहिले बैंकको सेयर बिक्रीका लागि राख्नेबित्तिकै किनिहाल्ने अवस्था छ, अर्थात् खरिदकर्ताको माग उच्च छ ।

आइतबार प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार खुलेको बैंकको हरेक दिन सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दै प्रतिकित्ता ५४६ रुपैयाँमा पुगेको छ ।

इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५ दिनमै २०६ रुपैयाँले बढेसँगै बजार पूँजीकरण १ खर्ब नाघेको हो । नेप्सेका अनुसार बिहीबार बैंकको पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्सेमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ। आइपिओमा पाँच हजार रूपैयाँ लगानी गर्नेले एक महिनामै २२ हजार ३ सय रूपैयाँ (कमिसन र पुँजीगत लाभकर कटौतीबाहेक) नाफा कमाएका छन् ।

सातको पहिलो दिन ३४० मा कारोबार खुलेर ३७४ मा पुग्दै ५९ हजार ९३१ कित्ता किनबेच भएको थियो । सोमबार ४११ रुपैयाँमा ४७ हजार ८५०, मंगलबार ४५२ मा ४९ हजार १९९ कित्ता, बुधबार ४९७ मूल्य पुगेको दिन सबैभन्दा धेरै १३ लाख ९७ हजार १२८ कित्ता किनबेभ भएको थियो । करोबारको अन्तिम दिन विहिबार ५४६ मूल्य पुगेको दिन ९ लाख ३२ हजार ५३४ कित्ता किन वेच भएको थियो ।

धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहेका छन्। खरिद गर्नेतर्फ अझै पनि ठूलो चाप देखिएकाले कम्पनीको मूल्य केही दिन बढ्न सक्ने देखिन्छ।

सेयर बजार विश्लेषकहरू भने अहिले निफ्राको सेयर मूल्य बढ्नुलाई चलखेल नै हो भन्न नमिल्ने बताउँछन् । बुलिश मार्केट भएकाले नयाँ कम्पनीमा सप्लाइ आउँदैन भनेर नयाँ कम्पनीमा बेच्ने भन्दा किन्नेको जमात बढी भएपछि सेयर मूल्य बढेको विश्लेषकहरुको दाबी छ ।

सेयर खरिद वा बिक्री जे गरे पनि, त्यसबाट हुने नाफा वा नोक्सान बेहोर्ने स्वयं आफैं हुने भएकाले त्यसको निर्णय लगानी कर्ताले नै लिनुपर्ने विज्ञहरु बताउँछन् ।

बिहीबार मात्रै यो कम्पनीको ५० करोड रूपैयाँको सेयर किनबेच भएको छ। बुधबार ७० करोडको भएको थियो। निफ्राले जलविद्युतसहित अरू पूर्वाधार आयोजनामा पनि ऋण लगानी गर्ने सरकारी बहु-स्वामित्वका कम्पनी हो ।

कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्रोत हो।

‘बैंकले आफ्नो काम गरिरहेकै छ, राम्रै समूहले सञ्चालन गरेको बैंक भएकै कारण लगानीकर्ताले शंका गर्नु नपर्ने स्थान बैकले बनाएको छ । नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो ।

बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ ।

त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here