‘इन्साइडर ट्रेडिङ’ प्रमाणित भए के हुन्छ कारवाही ?

काठमाडौं, १७ चैत । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा इन्साइडर ट्रेडिङको आशंका गरिएको छ ।

सोमबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्नु र मंगलबार हकप्रद प्रस्ताव सहितको एजेण्डा राखेर साधारणसभा आह्वान गर्नुले इनसाइड ट्रेडिङ (सूचना चुहाएर कारोबार) को आशंका गरिएको हो । लगानीकर्ताहरुले उक्त दिनको कारोबार नै रद्द गर्नु पर्ने माग गरेका छन् ।

सोमबार अप्रत्यासित रुपमा बढेर अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो । कुनै कारणबिना बढेको शेयरमा लगानीकर्ताले त्यहि चाँसोको रुपमा लिएका थिएनन् ।

मंगलबार बिहानै अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने समाचारहरु बहिरिएपछि लगानीकर्ताहरु झस्किएका हुन् । शेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएमा कम्पनीले सबैभन्दा पहिला नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनु पर्ने हुन्छ ।

तर, कम्पनीको सञ्चालक समितिमा रहेका वा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले सूचना बाहिर लगेर इन्साइडर ट्रेडिङ गराउने गरेका लगानीकर्ताहरुको दाबी छ ।

कम्पनीले पूँजी वृद्धि गर्न २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावसहित आगामी वैशाख ७ गते साधरण सभा बोलाएको छ । कम्पनीले बैशाख ७ गते मंगलबार त्रिपुरेश्वर स्थित वल्ड ट्रेड टावरमा सभा आह्वान गरेको हो ।

कम्पनीले, सभामा अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

यसैगरी, कम्पनीले गत आर्थिक वर्ष २०७६/ ७७ को वासलत, नाफा नोक्सान, आयव्यय विवरण प्रस्तुत गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधरणको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका एजेन्डा लैजाने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २४ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

शेयर बजारलाई असर गर्ने निर्णयहरू कम्पनीबाट औपचारिक रूपमा सार्वजनिक हुनुअघि विभिन्न माध्यममार्फत चुहाएर शेयरको मूल्यमा चलखेल गर्ने प्रवृत्ति बढेको छ । नियामक निकाय धितोपत्र बोर्ड र फन्ट लाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको हो ।

के हो भित्री कारोबार ?

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९-मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ गरिएको छ ।

जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ ।

‘भित्री सूचना वा जानकारी’ भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९-मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिको पहिचान गरेको छ । जसमा संगठित संस्थाको सञ्चालक, कर्मचारी वा सेयरवाला हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्ने व्यक्ति, संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई जनाएको छ ।

ऐनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक परेमा त्यसलाई झुठो कारोबार ठान्ने परिकल्पना गरेको छ ।

भित्री सूचना सार्वजनिक गरी झुठो कारोबार गरेमा, मूल्यमा उतार चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र एक वर्ष कैद वा दुवै कारबाही हुने व्यवस्था ऐनमा छ ।

कुनै पनि कम्पनी वा संस्थाले झुक्याउने विवरण दिँए, जालसाजीयुक्त कारोबार गरेमा, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ देखि ३ लाख जरिवाना, दुई वर्ष जेल वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

ऐनमा भएको कुरा बर्खिलाप गरे ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

ऐन अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै पनि व्यक्तिले ऐनमा भएको कुनै सजाय पाएमा त्यस्तो सजाए पाएको मितिले १० वर्ष अवधि पुरा नभएसम्म त्यो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चलाक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहरने व्यवस्था समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here