शेयर बजारमा कसरी फस्छन् सोझा लगानीकर्ता ?

काठमाडौं । शेयर बजारमा धेरै नयाँ लगानीकर्ताहरू जहिले पनि बजार निकै वृद्धि भैसकेको अवस्थामा प्रवेश गरेको पाइन्छ।

शेयर बजार बढेको बेला चिया पसलदेखि, पानी पुरी बेच्ने ठाउँमा समेत शेयर बजारको चर्चा हुन्छ।

फलानोले यति कमायो अर्कोले यति कमायो भन्ने कुरा दिनहुँ जसो हुन्छन्। यही कुराले गर्दा शेयर बजारको ज्ञान नहुँदा हुँदै पनि नयाँ लगानीकर्ताहरू शेयर बजारमा प्रवेश गर्छन्।

शेयर बजार घटेको बेला शेयर बजारको चर्चा त्यति सुनिँदैन, बजारबाट धेरै मान्छेले पैसा गुमाएको कुरा मात्र हुने भएकाले नयाँ लगानीकर्ताहरू शेयर बजारमा त्यति रुचि राख्दैनन ।

त्यस्तो बेलामा बजारमा फस्नेमा अधिकांस सोझा लगानीकर्ता नै रहेका हुन्छन् । अलि बाठाटाठा लगानीकर्ताहरूको सीधै कम्पनीको सञ्चालक समिति वा उच्च व्यवस्थापनसम्ममा नै पहुँच हुन्छ ।

जसले गर्दा कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उनीहरूले अन्य सर्वसाधारणले भन्दा पहिले नै जानकारी पाउँछन् । जसको उदाहरणमा अजोड इन्सुरेन्सको शेयरलाई बुझन् सकिन्नछ । केहि दिनदेखि सर्किट लाग्दै आएको उक्त कम्पनीको शेयरमा नै त्यस्तै शंकाको रुपमा हेरिएको छ ।

मानौं कुनै कम्पनीले निकै आकर्षक लाभांश दिने निर्णय गर्दैछ भने पहुँच भएकाहरूले पहिले नै जानकारी पाउँछन् र शेयर किन्छन् ।

जब सामान्य लगानीकर्तासम्म यो जानकारी पुग्छ, त्यतिबेलासम्म बाठा लगानीकर्ताले नाफा बुक गरेर बेच्न तयार भइसकेका हुन्छन् ।

अर्को गलत सूचनाको हल्ला फैलाएर पनि बाठा लगानीकर्ताहरूले आफू कमाउने र अरूलाई डुबाउने गर्छन् ।

महिना दिन अगाडि नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मा यस्तै भयो । एकाएक बैंकको शेयर मूल्य बढ्यो । जबकी , त्यसबेला एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केही सूचना थिएनन् ।

स्रोतको अनुसार मूल्य बढाउनकै लागि केही ठूला लगानीकर्ताहरूले मर्जर सम्बन्धी हल्ला फैलाएको बताउँछन् । यो घटनापछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्यो ।

बैंकले लाभांश यसअघि नै घोषणा गरिसकेको र मर्जर सम्बन्धी कुनै निर्णय भइनसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण बुझायो ।

नेप्सेले स्पष्टीकरण सोध्नु अगाडिसम्म ३६४ रुपैयाँमा पुगेको एनसीसी बैंकको शेयर मूल्य त्यसपछि भने घट्न थाल्यो । त्यसपछि ३६४ बाट घटेर १५ दिन अगाडि बैंकको शेयर मूल्य ३११ मा झरेको थियो ।

जनउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि अघिल्लो महिना इन्साइडर ट्रेडिङबाटै बढाइएको स्रोतको दाबी छ । तर यथेष्ट प्रमाण भेट्न नसकिने भएका कारण कारबाही गर्न नसकिएको ती स्रोतको भनाइ रहेको छ ।

यस कम्पनीको शेयर मूल्य ३ जनवरीमा १८२० रुपैयाँ थियो । यसको शेयर मूल्य लगातार बढिरहेको थियो । जनवरी ३१ सम्म आइपुग्दा २६६६ रुपैयाँ पुगेको यसको शेयर मूल्य भोलिपल्टै (१ फेब्रुअरी) १४९ रुपैयाँले बढेर २८१५ रुपैयाँ पुग्यो ।

सोही दिन संस्थाको सञ्चालक समिति बैठकले शेयरधनीहरूलाई ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्‍यो । साँच्चिकै अनुसन्धान गर्ने हो भने इन्साइडर ट्रेडिङ पत्ता लगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here