१० वर्षमा ५ गुणा बढ्यो बीमा बजार

क्लाउडपत्रिका

काठमाडौँ । एक दशकमा नेपाली बीमा बजार करीब सवा ६ गुणाले विस्तार भएको छ । सो अवधिमा बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियम (बीमा शुल्क) र लगानीका आधारमा बजार क्रमशः सवा ५ र साढे ५ गुणाले बढेको हो ।

यो अवधिमा बीमा कम्पनीको संख्या र चुक्ता पुँजी बढ्नुका साथै तीव्र व्यावसायिक वृद्धि भएकाले समग्र बीमा बजारको दायरा फराकिलो बनेको हो ।
बीमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म कुल बीमा शुल्क (प्रिमियम) ५७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । जसमध्ये जीवन बीमा शुल्क ३८ अर्ब ८६ करोड र निर्जीबन बीमा शुल्क १८ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको देखिन्छ । एक दशकअघि (सन् २००७/०८) को तुलनामा प्रिमियम करिब ५ सय १३ प्रतिशत (सवा ५ गुणा) ले बढी हो ।

सन् २००७/०८ मा कुल प्रिमियम ९ अर्ब ३४ करोड रुपैयाँ थियो । उक्त अवधिमा जीवन बीमा कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको समितिको तथ्यांक छ । गएको एक दशकमा पनि पछिल्ला तीन वर्षमा बीमा क्षेत्रको विस्तार तीव्र रूपमा भएको देखिन्छ ।

उक्त अवधिमा बजारमा नयाँ कम्पनी थपिनुका साथै चुक्ता पुँजी पनि बढाइएकाले बीमा क्षेत्रको विस्तार तीव्र भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘नयाँ कम्पनीले आक्रामक रूपमा व्यवसाय खोज्न लागे, पुँजी बढेपछि पुराना कम्पनीलाई व्यवसाय विस्तार गर्न दबाब पुग्यो,’ उनले भने, ‘यसकारण समग्र बीमा बजारको विस्तार र बीमा पहुँच पनि बढेको हो ।’ बीमा कम्पनीले बजारमा विभिन्न किसिमका ‘प्रडक्ट’ ल्याए पनि वितरण प्रणाली प्रभावकारी हुन नसकेकाले अपेक्षित रूपमा व्यावसायिक विस्तार हुन नसकेको चापागाईंले बताए ।

पछिल्लो समयमा सर्वसाधारणमाझ बीमाप्रतिको विश्वास बढ्दै गएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बताए । खासगरी २०७२ सालको विनाशकारी भूकम्पपछि सर्वसाधारणमा बीमाप्रतिको चेतना विस्तार भएको उनको भनाइ छ । ‘विगतका वर्षमा बीमा कम्पनीले बिमितको विश्वास जित्न सकेका थिएन’ उनले भने, ‘बिस्तारै बीमाप्रति सर्वसाधारणको विश्वास बढ्दै छ ।’

हाल बजारमा रहेका पुरानै पोलिसी मार्फत काम सुरु गरे पनि नयाँ पोलिसीका लागि गृहकार्य भइरहेको विज्ञहरु बताउँछन् । बीमा शिक्षाको विस्तार मार्फत आक्रामक रूपमा नयाँ कम्पनी आएकाले आउँदा दिनमा बीमा क्षेत्रको विकास तथा विस्तार तीव्र हुने उनीहरुको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here