कोरोनाको डर, त्रास र निराशाबाट शुरु भएको ‘२०७७’ को अन्त्यपनि डर त्रासमै

फाइलफोटो

काठमाडौं । नेपालका लागि २०७७ साल कोरोनाको डर, त्रास र निराशाबाट नै गुज्रिएर सकिएको छ । ७७ साल शुरु हुनु अगावै चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु भएको थियो ।

लगभग आधावर्ष नेपालीले लकडाउनकै त्रासमा बिताउन पुगे । लकडाउन साउन ६ गते बल्ल खुलेको थियो ।

नेपालमा २०७६ माघ १० गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। चैत ६ गते दोस्रो व्यक्तिमा संक्रमण देखिएपछि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो।

चीनको वुहानबाट आएका एक नेपाली छात्रमा यो भाइरस पुष्टि भएको थियो। तर, यो महामारीले २०७७ साल पुरै प्रभावित बनायो।

लकडाउन बढ्दै साउनको पहिलो हप्तासम्म कायम भएको थियो। त्यसपछि पनि कतिपय स्थानमा प्रतिबन्ध र निशेधाज्ञा भने जारी नै रह्यो।

कोरोनाको संक्रमण बढ्दै गएका कारण मानिसहरू घरभित्र नै बस्न बाध्य भए। मानिसहरूको जीवनशैली निस्क्रिय जस्तै बन्न पुग्यो। लकडाउनको समयमा सर्वसाधारणमा त्रास छाएपनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने ठूलो भूमिका खेलेको थिए ।

लकडाउन खुलेपनि सिनेमा हलदेखि पार्टी प्यालेससम्मले लामो समयसम्म नै बन्द गरेको बस्नु पर्ने अवस्थामा रहे । यी क्षेत्र अझै पनि सहज रुपमा खुलेका छैनन् । पर्यटन व्यवसाय भने अझै उठ्न सकेको छैन् ।

कोरोनाको कारण धेरैले आफ्नो रोजगारी गुमाए । व्यापारमा घाटा, तनाव र आफन्त गुमाउनुपर्दाको पीडाले मानिस मानसिक स्वास्थ्यका हिसाबले विक्षिप्त बनायो । यो समयमा अन्य क्षेत्रमा निराश हुनुपर्ने अवस्था आएपनि कोरोना विरुद्धको खोप ल्याउन भने सरकार सुरुमा सफल भएको छ।

सरकारले अपेक्षाभन्दा छिटो कोभिड विरुद्धको खोप नेपालमा ल्याएर लगाई सकेको छ ।

हप्ताअघि चीनबाट कोभिडविरुद्धको भ्याक्सिन ‘भेरोसेल’ भित्रियो । नेपालमा भेरोसेल खोप लगाउन सुरु भइसकेको छ ।

कोभिड संक्रमणदर घट्दो क्रममा थियो । तर, छिमेकी मुलुक भारतसँगै विश्वका विभिन्न देशमा कोभिडको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेको छ ।

योसँगै नेपालमा पनि कोभिड संक्रमणको जोखिम र संक्रमितको संख्या दिन प्रतिदिन बढ्ने क्रममा छ । भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोभिड संक्रमणको जोखिम उच्च छ ।

भारत सरकारले १० लाख डोज खोप अनुदान दिएपछि नेपालले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतका फ्रन्टलाइनरलाई खोप उपलब्ध गराएको थियो।

भारतले अक्सफोेर्ड र एस्ट्राजेनिकाले विकास गरेको र भारतकै खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको कोभिशिल्ड खोप उपहारमा दिएको थियो।

आगामी बैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरि सकेको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन लागेको छ ।

२०७७ साल पुरै प्रभावित बनाएको माहामारी २०७८ सालमा पनि बढ्ने देखिएको छ। ०७७ को अन्त्यसँगै कोरोना संक्रमण समेत अन्त्य हुने अपेक्षा थियो। तर, त्यसको ठीक विपरीत संक्रमण झन् उकालो लाग्ने क्रममा छ। झन् नयाँ प्रजातीका भाइरसको संक्रमण बढ्दै जाँदा जोखिम पनि थपिँदै छ।

०७७ सालको एक वर्षको अवधिमा(चैत ३०) सम्म देशभर २ लाख ८० हजार ५२४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये २ लाख ७४ हजार १६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३३०६ जना उपचाररत छन् । ३ हजार ५३ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here