रामानन्दाचार्य सेवा पीठको श्रीरामचरितमानसको संगीतमय नवाहपारायण अनुष्ठान समापन

काठमाडौं, ८ बैशाख । जगद्गुरु रामानन्दाचार्य सेवा पीठले श्रीरामचरितमानसको संगीतमय पारायणसहित श्रीरामचन्द्र भगवानको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व भब्यरुपमा मनाएका छन् ।

देश विदेशमा रहेका जगद्गुरु रामानन्दाचार्य सेवापीठमा अनुष्ठान विशेष पूजासहित शुरु भएको रामचरित्र मानस नवाह पारायणको अन्तिमदिन सहभागि भक्तजनहरुले बिशेष पूजा, ध्यान साधना कीर्तन सहित रामनवमी’ पर्व मनाएका हुन् ।

दीन दयाल बिरिदु संभारी।
हरहु नाथ मम संकट भारी।।

यो चौपाईले सम्पुटित गरेर पुरै रामायणलाई ९ दिनमा पारायण गरिएको थियो । उक्त कार्यक्रम नवरात्र चैत ३१ देखि बैशाख ८ सम्म चलेको थियो ।

यस पटक भने हाल विश्वलाई परिरहेको संकट, महामारी मात्र नभई भविष्यमा आईपर्ने संकटले ल्याउने क्षति न्यूनिकरणको लागि श्रीरामचरितमानसको संगीतमय नवाहपारायण अनुष्ठानको आयोजन गरिएको जगद्गुरु रामानन्दाचार्य सेवा पीठका शिवराज पौडेलले क्लाउड पत्रिकालाई बताए ।

गत वर्ष लकडाउनका कारण घर घरमा नवाह पारायण पूजा गरेका भक्तजनहरु भने यस पटक सामाजिक दूरी, सरकारले तोकेको स्वस्थ्य मापदण्ड अनुरुप नै पीठमा भेला भएका थिए ।

रामानन्दाचार्य सेवा पीठ,श्रीराम तारक ब्रम्ह पीठ चतरा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान काठमाडौं, पोखरा, चितवन, सुर्खेत लगायत देश विदेशमा रहेको पीठमा विशेष कार्यक्रम भएको थियो । कार्यक्रमको जगद्गुरु रामानन्दाचार्य सेवापीठको पेज मार्फत लाइभ प्रशारण भएको थियो ।

विभिन्न पीठले सदगुरूदेवको अनुकम्पा र कृपाले प्राप्त निर्देशन बमोजिम निष्ठा, विधि र भक्तिपूर्वक यस कार्यक्रम मनाउँदै आईरहेको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मान्यता छ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको बताइन्छ ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here