हिमालयन र इन्भेष्टमेन्टले गरे मर्जर सम्झौता, अध्यक्ष पाँडे, सीईओ राणा

काठमाडौं, ३० बैशाख । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच लागि मर्जर तथा प्राप्तिसम्बन्धी औपचारिक सहमति भएको छ।

मर्जर सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन्।

विहिबार दिउँसो ३ बजे छाया कम्प्लेक्सको होटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर सम्झौतासँगै दुवै संस्थाले यसको जानकारी राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्डलाई औपचारिक रूपमा दिएका छन्। अब एकीकृत कारोबार नहुन्जेल दुवै संस्थाको शेयर कारोबार रोक्का हुनेछ।

सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा हुनेछन् । इन्भेष्टमेन्ट सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुनेछन् ।

मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीनजना सञ्चालक रहने सहमति भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा उल्लेख छ ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । मर्जर सहमति गर्नु अघि गरिएको सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रतिसेयर मूल्य १०२.५० रुपैयाँ हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको थियो ।

यसमा १० प्रतिशत सम्म तल माथि हुने जनाइएको थियो । सोही आधारमा बैंकहरुको स्वाप रेसियो १ः१ अनुपात हुनसक्ने जनाइएको छ ।

मर्जरपछि बैंकको कुल चुक्ता पूँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

यो हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हुनेछ । हाल चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २१ अर्ब ६१ करोड रुपैयाँ छ ।

बैंकको जगेडा कोष २१ अर्ब ७७ करोड रुपैयाँको हुनेछ । हाल इन्भेष्टमेन्टको जगेडा कोषमा १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ करोड रुपैयाँ संचित छ ।

मर्जपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ भने कर्जा लगानी २ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ हुनेछ ।

तेस्रो त्रैमासको तथ्यांक अनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब ६८ अर्ब २९ करोड र हिमालयनको १ खर्ब ४३ अर्ब ७० करोड छ। त्यस्तै, कर्जा लगानी इन्भेटमेन्टको १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयनको १ खर्ब २७ अर्ब १४ करोड रुपैयाँ छ।

मर्जरपछि बैंकको शाखा संख्या १५२ वटा पुग्ने छन् । अहिले हिमालयन बैंकको ६९ वटा र इन्भेष्टमेन्ट बैंकका ८३ वटा शाखा रहेका छन् । यद्यपि, मर्जरपछि केही शाखा स्थान्तरण हुन सक्ने छन् ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएपछि देशकै सबैभन्दा ठूलो वासलात भएको वाणिज्य बैंक बन्ने छ। यसपछि अरु बैंकलाई पनि एग्रेसिभ मर्जरका लागि दबाब पुग्ने बैंकरहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here