मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै, संसद् बचाउने जिम्मा दीपक मनाङेलाई

काठमाडौं २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्।

गुरुङले विश्वासको मत लिंदै गर्दा समीकरण भने निक्कै रोचक बनेको छ । ६० सांसद रहेको प्रदेशसभामा गुरुङलाई विश्वासको मत लिन ३१ मत आवश्यक पर्छ । तर, उनी ३१ मतको निकट छैनन् ।

विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्।

गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ।

अहिलेसम्मको अवस्थामा विपक्षी गठबन्धनलाई पनि बहुमत पुग्ने देखिएको छैन । तर, सरकारमै खेलकुद मन्त्री रहेका दीपक मनाङेले भोट हाले विपक्षी गठबन्धनले सरकार गठन गर्ने अवसर पाउनेछ । अन्यथा केन्द्रमा जस्तै प्रदेशमा पनि मध्यावधि निर्वाचनको घोषणा हुनेछ ।

बिहीबार मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत लिंदै गर्दा ६० मध्ये एमालेका २७ सांसद उनको पक्षमा छन् । उनलाई विश्वासको मत लिन थप चार मत आवश्यक पर्छ । जनमोर्चाका एक सांसदले साथ दिए पनि उनको पक्षमा २८ हुन्छ । तर कृष्ण थापा तटस्ठ बस्ने बताउँदै आएका छन् ।

यस अघि गुरुङलाई साथ दिएका दीपक मनाङेले साथ दिए उनको भोट संख्या २९ हुन पुग्छ । मुख्यमन्त्रीले २९ भोट प्राप्त गरे विपक्षीले पनि बहुमत पुर्याउन नसक्ने देखिएको छ ।

कांग्रेसको १५, माओवादीको सभामुखबाहेक भोट हाल्न पाउने ११ गरी २६ मत हुन्छ । यसमा जसपाको दुई, जनमोर्चाको २ मत थपिंदा ३० भोट हुन्छ । तर, बहुमतका लागि ३१ भोट अनिवार्य हुन्छ । यस्तोमा मनाङे निर्णायक देखिएका हुन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने अघिल्लो रातदेखि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन्। मनाङेको मोर्चा परिवर्तनसँगै गण्डकी प्रदेशमा पनि विपक्षी गठबन्धन बलियो हुन पुगेको छ।

मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत नपाउने भएसँगै १६८ (५) को प्रयोग नगरी मध्यावधि घोषणा गर्ने तयारीमा थिए। संसद बचाउनका लागि एमालेलाई साथ दिन छोडेको उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन्।

मनाङेसँगै अर्का निर्णायक देखिएका सांसदमा एमालेका इन्द्रलाल सापकोटा पनि हुन् । तर उनले वाम पार्टीलाई नछोड्ने संकेत गरिसकेका छन् ।

यद्यपी कर्णाली र सुदुरपश्चिममा माधव नेपाल समूहले केपी ओली गठबन्धनलाई सहयोग गरेपछि नेपाल पक्षका सापकोटा पनि अन्तिम अवस्थामा विपक्षीतिरै उभिन सक्ने आँकलन गरिएको छ । संसद विघटन हुने अवस्था देखिए जोगाउन भए पनि भोट क्रस गर्ने उनको तयारी छ ।

यस अघि १५ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा भोटिङ हुने हुने तयारी थियो । तर जनमोर्चाका एक सांसद र स्वतन्त्रका मनाङे अनुपस्थित हुन पुगे ।

आफ्ना सांसद गायव पारिएको निवेदन जनमोर्चाले दिएपछि सभामुखले बैठक नै स्थगित गरिदिएका थिए । त्यसको भोलिपल्ट नै मनाङे युवा तथा खेलकुद मन्त्री बनाइएका थिए ।

यस्तो छ अंकगणित

बहुमतका लागि आवश्यक ३१ मत

एमाले २७

कांग्रेस १५
माओवादी ११
जनमोर्चा ३
जसपा २
सभामुख १
स्वतन्त्र १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here