शेयरमा लगानी गर्दै हुनुहुन्छ ? यसरी छनौट गर्नुहोस कम्पनी

काठमाडौं । केही महिना रेकर्ड नै रेकर्ड राखेर चम्किँएको शेयर बजार एक सातादेखि सुस्ताएको छ ।

गत बुधबारदेखि निरन्तर पहिरो गएको शेयर बजार ओरोलो क्रममा छ यतिबेला । नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । बजारमा गिरावट आएकै कारणले निरुत्साहित लगानीकर्ताको मुहार विस्तारै उज्यालो देखिन छोडेको छ । पैसा भएका लगानीकर्ता यतिबेला लगानी विस्तार गर्ने सुरमा छन् ।

तपाईं पनि शेयर बजारमा लगानी बढाउने सोचमा हुनुहुन्छ ? त्यसो हो भने राम्रा कम्पनी कसरी छनौट गर्ने भन्ने अन्योलमा हुनुहुन्छ होला ।

राम्रा कम्पनी छनोट गरेर लगानी गर्न सके नोक्सानको सम्भावना न्यून हुन्छ । र राम्रो प्रतिफल हातपार्न सकिन्छ । यसकारण लगानी गर्नु अघि सकेसम्म वुद्धि विवेक पुर्याएर राम्रा कम्पनी छनोट गर्नुस ।

शेयर बजारमा प्रवेश गरेर आफूसँग भएको रकमलाई सदुपयोग गर्न खोज्नु हुँदैछ भने तपाईले शेयर खरीद गर्दा विशेष गरी कम्पनीको आम्दानी खर्च, नाफा नोक्सान, ऋण धन, नेटवर्थ, लाभांश, नगद प्रवाह लगायतको बिषयमा ध्यान दिनुपर्ने हुन्छ ।

कम्पनीको तत्कालको बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई मूल्य–आम्दानी अर्थात पीई अनुपात भनिन्छ ।

यो अनुपात जति कम भयो, त्यति नै कम्पनीको शेयर लगानीका लागि आकर्षक बन्दै जान्छ । मूल्य आम्दानी अनुपात बढ्दै गएमा शेयरको मूल्य कुनै पनि बेला झर्नसक्ने जोखिम बढ्छ ।

पीई रेसियो कम भएका तथा प्रति शेयर आम्दानीतर्फ निरन्तर प्रगति गर्दै गएका बैंक तथा बित्तीय संस्था लगानीका लागि उपयुक्त हुन्छन् ।कम्पनीको छनौट गर्दा यो अनुपातलाई मात्र हेरेर लगानीको निर्णय लिनु पनि हितकारी हुन्न ।

प्रश्न उठ्न सक्छ अहिलेका लागि कुन कम्पनी उपयुक्त हुन, तीनको छनोट कसरी गर्ने, त्यसकालागि कुन-कुन सूचक हेर्ने ?

त्यसो हो भने निम्न सुझाब तपाईंका लागि उपयुक्त हुन सक्छन

– कम्पनी छनोट गर्दा हुनुपर्ने भन्दा कम सेयर मूल्य (अन्डरभ्यालुड) भएका कम्पनीलाई प्राथमिकता दिनुहोस ।

– अन्डरभ्यालुड कम्पनी छनौट गर्दा ‘प्राइस अर्निङ रेसियो’ (पीई) लाई आधार बनाउनुहोस ।

– अन्डरभ्यालुडमध्ये पनि कम्तीमा विगत तीन वर्ष देखि निरन्तर रुपमा औसत १५ प्रतिशत भन्दा बढीका दरले लाभांश वितरण गरेका कम्पनी छान्नुहोस ।

– यसरी तपाईंले छनोट गरेका कम्पनी मध्ये पनि कुन कुनको व्यवसायीक वृद्धिदर २० प्रतिशत भन्दा बढी छ त्यो हेर्नुहोस ।

अब माथीका चार सुझाबका आधारमा कम्पनी छनोट गरी अन्तिम सूची बनाउनुहोस । हाल बजारमा उपलब्धमध्ये धेरै वाणिज्य बैंक, केही लघुवित्त, केही जलविद्युत, केही विकास बैंक र केही बिमा कम्पनी पनि तपाईंको छनोटको सूचीमा पर्छन ।

यसपछि मात्रै ती कम्पनीमा आफ्नो क्षमता अनुसार लगानी गर्नुहोस । अब बजार बढ्दा यीनै कम्पनीको सेयर मूल्य माथी जाने हो । यसकारण तपाईंले लगानी गरेको धितोपत्रमा जोखिम कम र प्रतिफल उच्च हुन्छ ।

घटेको शेयर बिक्री तथा बढदो शेयर खरिद गर्नुपर्छ

समय वित्दै जाँदा लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल (मुनाफा) प्राप्त गरिरहेका हुन्छन् । तर, सबै लगानीमा हरसमय मुनाफा नै प्राप्त हुन्छ भन्ने पनि हुदैन ।

लगानीको उचित प्रतिफल प्राप्त गर्नकालागि लगानीकर्ताले नियमित लगानी गरेको कम्पनीको वित्तीय अवस्था लगायतको अध्ययन गर्नुपर्दछ । त्यसकै आधारमा लगानी गर्ने कम्पनीको छनोट गर्नुपर्छ ।

कतिपय लगानीकर्ताले शेयर मूल्य घटेको समयमा पनि कुनै दिन पुनः बढने आशमा उक्त कम्पनीका शेयर होल्डिङ् गरिरहेका हुन्छन् । यो उचित होईन । यस्तो प्रवृतिले लगनीकर्तालाई कहिलेकाँही नोक्सान पनि हुन सक्छ ।

त्यसैले निरन्तर घट्दो क्रममा रहेको शेयर बिक्री गर्नुपर्छ भने बढदो क्रमको शेयर खरिद गर्नुपर्छ ।

प्रमाणित नभएका कुराको पछि नलाग्नुस

विभिन्न व्यक्तिहरूले तपाईंलाई विभिन्न किसिमका सल्लाह दिन सक्छन् । सबैले राम्रो सल्लाह नै दिन्छन भन्ने पनि हुदैन । त्यसैले अरूले भनेकै भरमा शेयर खरिदबिक्री नगर्नुहोस ।

तपाईंलाई कसैले कुनै कुराको जानकारी दियो भने त्यसको वास्तविक तथ्य पत्ता लगाई त्यसको आधारमा निर्णय लिनुहोस । लगानी गर्नु अघि कहाँ र किन लगानी गर्दै हुनुहुन्छ सो कारण पत्ता थाहा पाउनुपर्छ । शेयरमा गरिने लगानी पनि एक प्रकारको जुवा जस्तै हो । यसमा भाग्यले पनि साथ दिनुपर्छ ।

हुनत अरूले दिएका सुझावहरू सबै काम नलाग्ने हुदैनन् । तर त्यस्ता सुझावहरूले तपाईंलाई जानकार लगानीकर्ता बनाउन सहयोग गर्दैन । यसबाट दीर्घकालिन रूपमा तपाई सफल लगानीकर्ता हुने सम्भावना धेरै कम देखिन्छ । त्यसैले अरूको भनाईलाई जस्ताको तस्तै विश्वास नगर्नुहोस ।

दीर्घकालमा केन्द्रीत हुनुहोस

आज तपाईले पाएको सफलता नै विगतमा तपाईले गरेको लगानीको प्रतिफल हो । यदि तपाईले भविष्यमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने आजैदेखि सो क्षेत्रमा लगानी शुरू गर्नुहोस ।

अर्थात लगानी गर्दा अल्पकाल भन्दा पनि दीर्घकाललाई लक्षित गर्नुपर्छ । अल्पकालिनमा प्राप्त लगानी क्षणीक हुन्छ । त्यसैले दीर्घकालमा राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।

लगानी गर्दा जहिलेपनि उक्त कम्पनीको भविष्यलाई ख्याल गरेरमात्र लगानी गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here