निषेधाज्ञामै भित्रियो साढे १२ अर्ब वैदेशिक लगानी, सबैभन्दा धेरै जलविद्युतमा

संकेतिक तस्विर

– जितेन्द्र खनाल

काठमाडौं, १४ असार । कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्यो । अत्यावश्यक कामबाहेकका सबै क्षेत्र बन्द भएकोले प्राय सबै क्षेत्रमा निषेधाज्ञाको प्रभाव देखियो । तर यसवीचमा उद्योग विभागले भने साढे १२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

लकडाउनमा पनि कर्मचारीहरु कार्यालयमा उपस्थित भएर सेवा दिएकोले उद्योग दर्ता सम्भव भएको विभागले जानकारी दिएको छ । त्यसो त विभागमा अनलाइन मार्फत उद्योग दर्ताको सुविधा पनि छ ।

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो ।

यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । जसमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र र सूचना तथा सञ्चार क्षेत्र रहेको छ ।

सबैभन्दा धेरै जलविद्युतमा

लगानीको आधारमा यसबिचमा जलविद्युत क्षेत्रमा सबैभन्दा धेरै लगानी भित्रिएको तथ्यांकले देखाएको छ । विभागका अनुसार सो अवधिमा जलविद्युतको एउटा परियोजनामा १० अर्ब ३१ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै, उद्योग संख्याको आधारमा भने पर्यटन क्षेत्र सबैभन्दा अगाडी छ । पर्यटन क्षेत्रको विभिन्न ११ परियोजनामा १ अर्ब ४५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

त्यसैगरी, सेवा क्षेत्रको ४ परियोजनामा ४० करोड र सूचना तथा प्रविधिको क्षेत्रमा २ परियोजनामा २० करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।

६२६ जनालाई प्रत्यक्ष रोजगारी

यस विचमा दर्ता भएको विभिन्न उद्योगमा ६२६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने विभागको तथ्यांकले देखाउछ । जसमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्रको उद्योगमा मात्रै २५१ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने विभागको तथ्यांकले देखाउछ ।

त्यस्तै, सेवाको क्षेत्रमा २३१ जना, सूचना तथा प्रविधिको क्षेमा ८० र जलविद्युतको क्षेत्रमा ६४ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्रप्त गर्नेछन् ।

यस विचमा जम्मा ३ देशबाट लगानी प्रविद्धता आएको छ । जसमा चीन, सिंगापुर र अफगानिस्तान रहेको छ । चीनबाट मात्रै १६ परियोजनामा लगानी प्रविद्धता आएको छ, भने सिंगापुर र अफगानिस्तानबाट समान १/१ परियोजनामा लगानी प्रतिवद्धता आएको छ ।

चीनको मात्र १६ परियोजनामा लगानी प्रतिवद्धता

निशेधाज्ञाको समयमा स्वीकृत भएका १८ मध्ये १६ वटा परियोजना चीनबाट मात्रै आएको विभागको तथ्यांकले देखाउछ । चीनले यस विचमा १६ परियोजनामा २ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएको छ ।

जसमा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा रहेको छ । पर्यटन क्षेत्रको ११ परियोजनामा लगानी प्रतिवद्धता गरेको चीनले सेवा क्षेत्रमा ३ र सूचना तथा प्रविधिको क्षेत्रका २ परियोजनामा लगानी प्रतिवद्धता जनाएको छ ।

सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने देशमा पनि चीन पहिलो स्थानमा छ । चीनको लगानी हुने विभिन्न १६ उद्योगमा ५२० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने विभागको तथ्यांकले देखाउछ ।

सिंगापुरले जलविद्युतको एक परियोजनामा १० अर्ब ३१ करोड रुपैयाँको लगानी प्रतिवद्धता जनाएको छ । जसमा ६४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

त्यस्तै, अफगानिस्तानबाट सेवा क्षेत्रको एक परियोजनामा ५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । जसले ४२ जनालाई प्रत्यक्ष रोजगारी दिने विभागको तथ्यांकले देखाउछ ।

५ हजार २ सय १९ उद्योगमा वैदेशिक लगानी

यससँगै नेपालमा पुर्ण रुपमा वैदेशिक लगानी रहेको उद्योगको संख्या ५ हजार २ सय १९ पुगेको छ । जसमा सबैभन्दा धेरै सेवा क्षेत्रमा १ हजार ७ सय २० उद्योग दर्ता भएका छन् । त्यस्तै, पर्यटन क्षेत्रमा १ हजार ६ सय ८२, निर्माण क्षेत्रमा १ हजार २ सय ९, कृषि क्षेत्रमा २ सय ९१, सूचना तथा प्रविधि क्षेत्रमा १ सय १०, जलविद्युतमा ८९, खनिजको क्षेत्रमा ७२ र पूर्वाधारको क्षेत्रमा ४६ उद्योग दर्ता भएका छन् ।

यी ५ हजार २ सय १९ उद्योगमा ५ खर्ब ५८ अर्ब ५८ करोड रुपैयाँको लगानी भएको छ भने, कुल २ लाख ७४ हजार २ सय ३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here