वर्षायाममा अनेकौं संक्रमणबाट यसरी जोगिनुहोस्

काठमाडौं । अहिले वर्षायाम छ । अविरल वर्षाका कारण जनजीवन प्रभावित साथै बाढीपहिरोले देशको विभिन्न ठाँउमा धनजनको क्षति पुर्याएको छ ।

कोरोना माहामारीको सामना गरिरहेका नेपालीको लागि वर्षायाम अर्को चुनौतीको रुपमा देखिएको छ ।

हरेक वर्षायाममा अनेक रोग फैलिएको सुन्नमा आउँछ । अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि त्यतिकै बढेको विभिन्न तथ्यांकले देखाउँछन् ।

वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ ।

खानेपानी प्रदूषित हुन्छ । र, पानी स्वस्थ नभए आधा भन्दा बढी रोग लाग्ने गर्छन् ।

यस्तै गरी लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । अझ अर्काे विकराल चुनौतीको रुपमा सर्पको चहलपहल बढ्ने हुँदा सर्पदंशको पनि उस्तै चिन्ताको विषय हुन्छ वर्षायाममा ।

वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमता स्वात्तै घटाउने गर्छ । शरीर शत प्रतिशत तन्दरुस्त हुँदैन । त्यसैले रोगले सजिलै डेरा जमाउँछन् । त्यसैले खानपिन र जीवनशैलीमा थप ध्यान दिनुपर्छ ।

वर्षा याममा अचानक हामी पानीमा भिज्दा शरीरको सन्तुलन गुम्छ र आफूलाई अनुकूल बनाउन कठिन हुन्छ । शरीरको तापक्रममा परिवर्तन आउँछ र ज्वरो, रुघाखोकी लाग्ने समस्या सिर्जना हुन्छ । त्यसैले बाहिर निस्कँदा छाता वा रैनकोट लिएर हिड्नु उपयुक्त हुन्छ ।

त्यस्तै वर्षायाममा पानी जमेका ठाउँहरु हुन्छन् । हामीले समात्ने विभिन्न वस्तुहरुबाट पनि किटाण तथा जीवाणुहरु हाम्रो शरीरमा फैलन गइ हामीलाई स्वास्थ्य सम्बन्धी समस्याहरु पैदा हुन सक्छ । खाना खानु अघि वा बाहिरबाट फर्केपछि साबुन पानीले हातगोडा धुने गर्नुले हामीलाई रोगबाट बचाउन मद्दत गर्दछ ।

यतिबेला मनसुन सक्रिय भएकोले देशैभरका ठाउँ ठाउँमा भारी वर्षा भइरहेको अवस्था छ । यस्तो बेलामा जहाँ कहीँ बाढीपहिरोको खतरा हुने गर्छ र बाटोमा समस्या खडा हुन सक्छ । यदि कतै जानैपर्ने जरुरी भए पनि कम्तिमा न्युनतम आवश्यक सामाग्रीहरु बोकेर हिड्नु नै राम्रो हुन्छ ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here