अचाक्ली बढ्यो तरकारीको भाउ, समिति भन्छ-‘किसानले नै बढाए’

काठमाडौं, ३१ असार । बजारमा तरकारीको भाउ अचाक्ली बढेको छ ।

पछिल्लो एक महिनाको मात्रै तुलना गर्दा हरियो तरकारीको भाउमा दोब्बर वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाउँछ ।

विकास समितिको तथ्यांकलाई आधार मान्दा पछिल्लो एक महिनामा तरकारीको आयातमा भने कमी देखिएको छैन् ।

समितिको गत एक हप्ताको मात्रै तथ्यांक हेर्ने हो भनेपनि औषतमा दैनिक ६०० टन तरकारी कालीमाटी भित्रने गरेको छ । यो तथ्यांक अघिल्लो महिनाको तुलनामा कम भने होइन ।

दोब्बर बढ्यो मूल्य

गत असार २६ गते यस महिनाकै सबैभन्दा धेरै ७ सय ६१ टन तरकारी कालीमाटी तरकारी बजारमा भित्रिएको थियो । समितिको तथ्यांक मान्ने हो भने दैनिक ७ देखि साढे ७ सय टन तरकारी भित्रिए बजारमा तरकारीको अभाव हुँदैन् ।

समितिको विवरणअनुसार जेठमा औसत मूल्य प्रतिकिलो ५८.५० रुपैयाँ पर्ने मुला असारमा ९८.५२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, जेठमा प्रतिकिलो २७ रुपैयाँ परेको बन्दा असारमा ५४.६६ रुपैयाँ पुगेको छ  । स्थानीय काउली प्रतिकिलो ४२ रुपैयाँमा बिक्री भएकोमा अहिले ७०.६८ रुपैयाँ रहेको छ  । जेठमा प्रतिकिलो बोडी ७४.४७ रुपैयाँ रहेकोमा असारमा ९६.३७ रुपैयाँ पुगेको छ  ।

जेठमा प्रतिकिलो ७४.४७ मूल्य रहेको मकै बोडी असारमा ९६.३७ रुपैयाँ, प्रतिकिलो ५८.५० रहेको गाजर ९८.५२ रुपैयाँ, १ सय २१ रहेको मटरकोसा १ सय ४५ रुपैयाँ, प्रतिकिलो ४७ रहेर्को घिउसिमी ८६ रुपैयाँ परेको समितिको विवरण छ  ।

प्रतिकिलो ३२ रहेको तिते करेला ५९ रुपैयाँ, ४१ रुपैयाँ रहेको लौका ५८ रुपैयाँ, ४२ रहेको घिरौंला ६१ रुपैयाँ, ५१ रहेको भेडे खुर्सानी १ सय ७ रुपैयाँ र ६९.५० रहेको हरियो धनियाँ १ सय ३२ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांकले देखाउछ ।

यी सबै कालीमाटी तरकारी बजार भित्रको होलसेल मूल्य हो । तर, खुद्रामा आइपुग्दा मूल्य झन्डै दोब्बर नै पुग्छ  ।

समिति भन्छ- ‘किसानले नै बढाए’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ भने तरकारीको भाउ किसानबाट नै बढेर आएको बताउँछन् ।

‘तरकारीको मूल्य किसानबाट नै बढेर आएको छ,’ श्रेष्ठले क्लाउडपत्रिकासँग भने, ‘अघिल्लो वर्षहरुमा पनि यस्तै हुन्थ्यो, वर्षातको समयमा तरकारीको भाउ सामान्य अवस्थामा भन्दा बढ्ने गरेको छ ।’

यसको अलवा मौंसमी असर र उत्पादनमा कमी हुनुका साथै बाटोमा अवरोध हुने भएको कारण पनि मूल्य बढी भएको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले भने ‘यो मौसमी असर पनि हो, उत्पादन कम हुन्छ त्यसको अलवा तरकारी छिटो विग्रनुका साथै बाटोमा पनि विभिन्न प्रकारका अवरोधका कारण पनि तरकारीको भाऊ बढेको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here