गुरू पूर्णिमा विशेष…

भारतवर्षको संस्कृतिमा गुरूको स्थान सर्वोच्च मानिएको छ । यसैकारण प्रत्येक बर्ष आषाढ पूर्णिमाको दिन बडो हर्षोल्लास पूर्वक गुरू पूर्णिमा पर्वलाइ महाउत्सव को रूपमा मनाउने गरिन्छ ।

यस तिथिमा पूर्ण मातृशक्ति विद्यमान रहेको हुन्छ । यस गुरू पूर्णिमाको काखमा बसेर जसले गुरू पूजा , एवं गुरू – उपासना गर्दछन उनिहरूको जीवनबाट अन्धकार नष्ट भएर जान्छ र प्रकाशको पूर्णिमा रूपी मातृशक्ति प्राप्त हुन्छ ।

श्रीगुरू पूर्णिमा एक दिव्य किरण हो , जो एक छटा बनेर शिष्यको जीवनमा छवि छर्किरहेको हुन्छ । यसप्रकार श्रीगुरूदेवको समग्र कृपाको नाम नै गुरूपूर्णिमा हो । यस पर्वमा गुरू व्यास पूजन , धर्म गुरू , मन्त्र गुरू एवं पन्थ गुरूलाइ गरिने पूजनलाइ पूर्णता बताइएको छ । जो हाम्रो सनातन धर्मका जगको रूपमा परिचित छन ।

गुरू दिन जे उत्सव करवाही । तिन सम भगवान कोउ नाही ।
आषाढ सुकुल पूरनमासी को । गुरू उत्सव बड तमनासी को ।।

गुरू पूर्णिमाको दिन शिष्यगणहरू आफ्ना – आफ्ना गुरूजनहरूको श्रद्धा भक्ति पूर्वक पूजन गर्दछन , फल – फूल अर्पण गर्दछन , आरति पूजा गर्दछन , चरणामृत उतार्छन् एवं यथा शक्ति दान – दक्षिणा र साष्टाङ्ग दण्डवत गर्दै श्रीगुरूदेवको महिमाको गुणगान गर्दछन ।

सर्व श्रुति शिरो रत्ननीराजित पदाम्बुजम् । वेदान्तपथ प्रवत्कारं तस्मात सम्पूजयेद् गुरूम् ।।

यस्य स्मरण मात्रेण ज्ञानमुत्पद्यते स्वयम् । स एव सर्व सम्पत्ति तस्मात्सम्पूजयेद्गुरूम् ।।

श्रीगुरूदेवका चरणकमल सम्पूर्ण वेदका सारहरूद्वारा विभूषित छन तथा वेदान्तको अर्थ व्यक्त गर्न श्रीगुरूदेव सदा सर्वदा समर्थ हुनुहुन्छ । जसको केवल स्मरण मात्रले ज्ञान स्वयं उत्पन्न हुन्छ , सम्पूर्ण सम्पत्तिका स्वरूप श्रीगुरूदेव नै हुनुहुन्छ , अतः आफ्ना सद्गुरूदेवको पूजा अर्चना सदैव गर्नुपर्दछ ।
( गुरूगीता ४१ – ४२ )

श्रीगुरू पूर्णिमाले हाम्रा आँखाका अगाडी भारतवर्षको त्यो गुरूकुल प्रणाली , तपोवनकालिन सभ्यतालाइ उजागर गर्दछ , जसमा आज जस्तो विद्या विक्रय हुँदैन थियो । जसमा गरिबीको कारण कोहिपनि छात्र शिक्षा दीक्षाबाट बञ्चित हुनुपर्दैन थियो ।

उक्त शिक्षा प्रणालिमा छात्र समुदायमा गरीब , धनि , राजा , रङ्क आदिमा कुनै प्रकारको भेदभाव नराखी एक छायाँदार वृक्षको तल उत्तराभिमुख गरि कुशासनमा बसेर अनुशासित एवं मर्यादित ढंगले विद्याध्ययन गर्दथे । सदा जीवन र उच्च विचारनै जसको ध्याय थियो ।

लोककल्याणका लागी जीवन उत्सर्ग शिक्षा नै जसको कर्तव्य थियो । जब यस्ता छात्र ब्रम्हचार्याश्रम बाट फर्केर गृहास्थश्रममा प्रवेश गर्दथे तब उनिहरू सदा सुखी रहन्थे , किनभने उनिहरू अभावमा पनि सन्तोषको अनुभव गर्न जान्दथे । यीनै विद्यार्थि राष्ट्रका लागी बहुआयामी प्रतिभावान उत्तमकोटीका नागरिक हुने गर्दथे ।

श्रीगुरू पूर्णिमाको नाम ” व्यास पूर्णिमा ” पनि हो । परम कारूणिक महर्षि कृष्ण द्वैपायन व्यासजीको यो पावन जयन्ती पनि हो । अतः यस परम पावन पर्वमा महर्षि प्रति कृतज्ञयता व्यक्त गर्दै श्रद्धाञ्जली पनि अर्पित गर्नुपर्दछ , किनकी ” व्यासोच्छिष्टं जगत् सर्वं ” अर्थात महर्षि व्यासका अनन्तर लेखिएका विश्वका समस्त साहित्य व्यासजीका जुठन समान छन ।

महर्षि व्यासले हिन्दु समाज मात्र होइन अपितु सम्पूर्ण विश्वलाइ नै स्वाध्यायको लागी विपुल ग्रन्थ राशि प्रदान गर्नुभएको छ । उहाँले वेदका विभागहरूको विश्लेषण गरि मन्त्र , ब्रम्हण , आरण्यक र उपनिषद्हरूको रूपमा सबैलाइ अलग – अलग गर्नुभयो । मन्त्रभागका सम्पूर्ण ॠग् , यजु , साम र अथर्व का रूपमा चार भाग गर्नुभयो ।

अष्टदश महापुराणहरू एवं उपपुराणहरूको रचना गर्नुभयो । गीता प्रधान महाभारत जस्तो महान सद्ग्रन्थको विस्तार गर्नुभयो । महान दार्शनिक ग्रन्थ ” ब्रम्हसूत्र ” को प्रणेता पनि व्यास जी नै हुनुहुन्छ ।

प्रायः जसो साधु – सन्यासी बर्षायाममा चार महिनाको लागी कुनै तिर्थस्थलमा ” चतुर्मास्य ब्रत ” को शुभारम्भ पनि यसै पर्वबाट गर्दछन ।

श्रोत : गुरू विज्ञान ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here