कमजोर नियमनले छाडा बन्दै टिकटक, बढ्दैछ अश्लीलता

जितेन्द्र खनाल

काठमाडौं । भिडियो सेयरिङ सामाजिक सञ्जाल टिकटक हेर्ने, प्रयोग गर्ने र भिडियो बनाउनेको संख्या तीव्ररुपमा बढिरहेको छ । विश्वका १ सय ५० भन्दा धेरै देशमा प्रयोग हुँदै आएको टिकटकको प्रयोगकर्ताको संख्या १ अर्ब १० करोड पुगेको छ । र यो निरन्तर उकालो लागिरहेको छ ।

प्रविधिको यो पछिल्लो हावाबाट नेपाल अछुतो रहेको छैन । टिकटकका प्रयोगकर्ता बढ्दै जाँदा भाइरल हुने बहानामा यसको दुरुपयोग पनि निकै बढेको छ ।

पछिल्लो समय टिकटकमा चलेको ट्रेण्ड ‘सुगर ड्याडी’ र ‘भोगटे’ होस् वा ‘छातिमा रुमाल बाधेर भिडियो बनाउने’ साथै ‘ट्राउजरको डोरी कम्मरमा बाध्ने’ नै किन नहोस् यसले अश्लीलता र नेपाली सभ्यतामाथि अतिक्रमण गरेको देखिन्छ । कतिपयले त टिकटकलाई ‘सफ्ट पोर्न’को रुपमा पनि ब्याख्या विश्लेषण गर्ने गरेका छन् ।

लाइभमा बसेर छाडा बोलेर होस् वा छाडा बोलिएर गरिएको कमेन्टलाई पढेर जसरी पनि फलोअर्स बढाउने र लाइक धेरै पाउँदै भाइरल हुने परम्परा नै बनेको छ ।

बेडरुममा एक्लै वा जोडी भएर गरिएका कतिपय आपत्तिजनक क्रियाकलापले सजिलै टिकटकमा स्पेश पाइरहेका छन् । त्यसो त भिडियोका क्याप्सन पनि कम अश्लील हुँदैनन् । यस्ता क्रियाकलापले समाजमा नकारात्मकता फैलनु त एउटा कुरा यो भन्दा धेरै व्यक्तिगत विकासमा असर गर्ने कुरा सी.एम.सी. नेपालमा कार्यरत मनोविद करुणा कुँवर बताउँछिन् ।

शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर

खासगरी साना उमेरका बालबालिका पनि टिकटकप्रति निकै आर्कषित छन् । यसरी धेरै समय यस्ता सामाजिक सञ्जालमा बिताएका बालबालिकामा शारीरिक, मानसिक तथा सामाजिक विकास र भावनात्मक रुपमामा असर पर्ने कुरा मनोविद् कुँवर बताउँछिन् ।

‘छोटो भिडियो हुने हुँदा रमाइलो र समय बिताउनको लागि पनि निकै सहयोगी देखिन्छ । यसले कालान्तरमा भने असर गर्छ,’ उनी भन्छिन्, ‘खासगरी यस्ता सामाजिक सञ्जालको लत लागेका बालबालिकाहरुको मस्तिष्क विकासमा समेत प्रत्यक्ष प्रभाव पार्दछ ।’

यसको अलवा टिकटकलगायत अन्य सामाजिक सञ्जालको कारण खासगरी किशोरकिशोरीहरु डिप्रेशनको शिकार बन्ने ग्राफ विस्तारै उकालो लाग्दै छ ।

‘एउटा बच्चाले निकै मेहनत गरेर भिडियो बनाउँछ र सामाजिक सञ्जालमा राख्छ । तर, जुन प्रकारको आशाबाट भिडियो वा फोटो राखेका हुन्छन् त्यो प्रकारको लाईक, भ्युज नपाउँदा उनीहरुमा नैराश्यता बढ्छ,’ कुँवरले भनिन् । साथै, एउटा भिडियोमा धेरै लाईक वा भ्युज आयो तर अन्यमा आएन भने पनि त्यसले मानसिक स्वास्थ्यमा असर पार्ने उनको भनाइ छ ।

सुरक्षित छैनन् सामाजिक सञ्जालका फोटो, भिडियो

बालबालिका र किशोरकिशोरीमा आफ्ना कस्ता भिडियो टिकटकमा राख्ने, यसले मेरो भावी जीवनमा कस्तो असर पार्न सक्छ भन्ने कुराको ज्ञान कम हुन्छ ।

भिडियोलाई टिकटकमा राख्दा यो संसारभरी पुग्ने हुँदा कतिपय अवस्थामा फोटो भिडियोको अनैतिक प्रयोग हुने र ब्ल्याकमेल समेत हुनसक्ने मनोविद कुँवर बताउँछिन् ।

‘भाइरल हुने चाहनामा आफ्ना अर्धनग्न र आपत्तिजनक भिडियो टिकटकमा राखिएको हामी देख्ने गर्छाैं । तर, उनीहरुलाई यो थाहा छैन् कि यसले कति ठूलो समस्या निम्त्याउन सक्छ,’ क्लाउडपत्रिकासँग कुरा गर्दै उनले भनिन् ।

नियमन छैन

समाजिक सञ्जालमा के राख्ने के नराख्ने भन्ने बारे खासै नियमन हुँदैन । त्यस्ता कुराको अनुगमन गर्ने बारेमा नियामक निकाय पनि स्पष्ट छैनन् । त्यसले गर्दा पनि सामाजिक सञ्जालहरुमा छाडापना बढेको छ ।

यसको अलावा कस्ता भिडियो छाडा भन्ने विषयमा पनि कुनै परिभाषा नभएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् ।

‘सबै वेवसाइडका नियामक प्राधिकरण होइन । टिकटकको नियामक निकाय नेपालमा छैन । टिकटकमा रहेका कस्ता भिडियोलाई छाडा मान्ने र कस्तालाई छाडा नमान्ने भन्ने विषयमा कुनै परिभाषा नरहेको कारण यस विषयमा कुनै प्रतिक्रिया दिन सकिन्न,’ पौडेलले भने ।

यद्यपि टिकटकमा पोष्ट गरिएको कुनै भिडियोका कारण कसैको व्यक्तिगत वा संस्थागत गोपनीयतामा खलल पुगेमा, प्रतिष्ठामा आँचा आएमा, सार्वजनिक शान्ति वा सद्भाव खल्बलिएमा भने प्रचलित कानुनअनुसार कारवाही गर्न सकिन्छ ।

तर त्यसका लागि कसैले प्रहरी वा अन्य सम्बन्धित निकायमा उजुरी गरेको भने हुनुपर्छ । खासगरी विद्युतीय कारोबारसम्बन्धी कानुन, गाली बेइज्जती कानुन, तथा गोपनीयतासम्बन्धी कानुनको आधारमा कारवाही हुनसक्छ ।

टिकटक लतको मुख्य जिम्मेवार अभिभावक

वयस्कहरुमा जस्तै कतिपय बालबालिकामा टिकटकलगायत सामाजिक सञ्जाल प्रयोगको लत बसेको पाइन्छ । बालबालिका र किशोरकिशोरीमा सामाजिक सञ्जालको लत लाग्नुमा मुख्य जिम्मेवार अभिभावक नै रहेको बुझाई मनोविद कुँवरको छ ।

‘म पछिल्लो समय देख्छु बच्चा जन्मिएदेखि उनीहरुको नाममा टिकटक अकाउन्ट हुन्छ, र त्यसमा उनीहरुको फोटो भिडियो राखिन्छ । बालबालिका खाना खुवाउँदा होस् वा रोएको बेला यस्ता सामाजिक सञ्जाल देखाउँदा उनीहरु यस्ता सामाजिक सञ्जालमा आर्कषित हुने र यसको लत लाग्ने गर्छ । यसका साथै अभिभावक आफै धेरै समय टिकटकमा बिताउँदा बालबालिकामा यसको प्रभाव पर्छ र उनीहरुमा पनि यसको लत लाग्छ,’ कुँवरले भनिन् ।

अभिभावकले आफ्ना बच्चासँग खेल्ने, उनीहरुका कुरा सुन्ने, उनीहरुलाई उत्पादनमूलक कार्यमा सहभागी गराएर राख्ने गर्दा यस्ता लतबाट टाढा राख्न सकिने उनले बताइन् ।

टिकटक क्रियटरको मिश्रित धारणा

टिकटकमा भएको छाडा कन्टेण्टको विषयमा टिकटक क्रियटरको धारणा फरक फरक रहेको छ । एकथरी आफूले कस्ता सामग्री (कन्टेण्ट) हेर्ने छनोट गर्न मिल्छ, यसमा नराम्रा कन्टेन्टलाई नट इन्ट्रेस्टेड गर्दा त्यस्ता कन्टेण्ट आउँदैन् भन्छन् भने अर्काथरी यस्ता कन्टेन्टले नेपाली सभ्यता र व्यक्तिगत वा संगठनात्मक गोपनीयता उदांगो बनाईदिएको बताउछन् ।

टिकटकमा @utsavdhakal7 नाममा रहेको भिडियोमा भनिएको छ, ‘सुगर ड्याडीको मिनिङ थाहा छ ? पसिना पुछ्ने रुमाल छातिमा बाध्या छ, भित्री वस्त्र बाहिर लगाएको छ, ट्राउजरको नाडा कम्बरमा बाध्या छ, जुन ट्रेण्ड आउँछ मुन्टो छिरा छ । सँस्कार र सभ्यताको चिनो साडीको गलत प्रयोग गरिएको छ, मनोरञ्जनको लागि बनाईएको टिकटक पछिल्लो केही महिनादेखि सफ्ट पोर्न भएको छ ।’

विदेश वा स्वदेशका ठूला शहरबाट शुरु हुने ट्रेण्डहरुलाई विचार नगरी अपनाउँदा र त्यसका लागि पारिवारिक वा सामाजिक मान्यताको ख्याल नराखी भिडियो बनाउँदा बढी समस्या आएको हो ।

यसरी भयो टिकटकको उत्पत्ति

टिकटकको उत्पत्ति हामीले सुन्दै आएको अन्य सफल एपका कथाभन्दा अलि भिन्न छ । केही साथीहरूले गजबको उपाय सोचेर सानो स्तरबाट स्थापना गरेको ठूलो कम्पनी होइन यो ।

टिकटकको जीवन तीन भिन्न एपबाट सुरु भएको छ । पहिलो, म्युजिकल.ली नामक एउटा अमेरिकी एप हो जसको स्थापना सन् २०१४ मा भएको थियो । त्यो लोकप्रिय पनि थियो ।

सन् २०१६ मा चिनियाँ विशाल प्रविधि कम्पनी बाइटडान्सले डुयीन नामक उस्तै सेवा सुरु गर्‍यो । त्यसले चीन र थाईल्यान्डमा एक वर्षभित्र दश करोड प्रयोगकर्ता पायो ।

बाइटडान्सलाई यो अझ ठूलो हुनसक्छ भन्ने लाग्यो र त्यसपछि सन् २०१८ मा उसले म्युलिकल.ली एप किन्यो । म्युलिकल.ली एप किनेसंगै त्यसलाई बन्द गरिदियो र थाल्यो टिकटकको विश्वव्यापी विस्तार ।

केही समयमै यसले धेरै चर्चा पनि पायो । कतिपयले त यसलाई युट्युबको विकल्पको रुपमा समेत हेरेका छन् । तर, केही देशले भने टिकटकमा प्रतिवन्धसमेत लगाइएको छ । छिमेकी देश भारत र पाकिस्तान मात्र नभइ अमेरिकालगायत देशमा पनि टिकटकमा प्रतिवन्ध लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here