काठमाडौं, २२ साउन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा डेढ महिनाको अन्तरालमा दुईवटा ठूला बाढी आयो । मेलम्चीका बासिन्दाले जीवनकालमा नभोगेको दु:ख भोगे ।
मेलम्चीबासीको लागि बाढी हरेक वर्षजसो आउँथे, जान्थे । सामान्य नदी कटान त हुन्थ्यो, बस्तीतिर सोझिंदैनथ्यो ।
यो पटक भने मेलम्ची बजारलाई नै उठिवास लगाइदियो । मेलम्ची लगायत हरेक नागरिकको मनमा अहिले एउटा प्रश्न उब्जिरहेको हुन्छ, ‘आखिर मेलम्ची किन यति साह्रो कठोर बन्यो ?
स्थानियबासीको अनुसार यसपालि बाढीमा पानीभन्दा बढी लेदो थियो, सिमेन्ट मुछेको पानी जस्तो बगेको थियो ।
कहाँबाट आयो त त्यो लेदो विज्ञहरू उक्त विपद् केवल यो वर्षको वर्षा वा केही महिनामा विकसित परिस्थितिबाट उत्पन्न नभएको सङ्केत पाइएको निष्कर्षमा पुगेका छन्।
उनीहरूले त्यसको कारण पत्ता लगाउन लामो समयअघिको भौगर्भिक अवस्थिति र घटनाक्रमको अध्ययन र मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
खासगरी उच्च हिमाली भेगमा मानवबस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिने गरेको अनुमान विज्ञहरुले गरेका छन् ।
अहिलेको ढुङ्गा, बालुवा र माटो मिसिएको लेदो बाढीको स्रोतको रूपमा पहिचान भएको ठाउँ भेमाथाङसम्मै २००-३०० वर्षपहिला हिमरेखा पुगेको हुनसक्ने विज्ञहरू बताउँछन्।
बाढीको स्रोत मानिएको भेमाथाङमा खिचिएको एउटा भिडिओका आधारमा उनीहरूले त्यहाँ विभिन्न किसिमको गेगरानको सतह भएको सङ्केत पाइएको बताएका छन्।