निजी क्षेत्रलाई कर्जा प्रवाहमा विकास बैंक आक्रामक, वित्त कम्पनीको घट्यो

काठमाडौं, ११ भदौ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रलाई प्रवाहित कर्जामा वाणिज्य भन्दा विकास बैंक आक्रामक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८) को वार्षिक प्रतिवेदनको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो ।

जसमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७७ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/ ७८ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २०.९ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४८.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १५.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११०.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here