मोटरसाइकलको माइलेज घट्यो ? यसरी बढाउनुस्

काठमाडौं । व्यस्त जीवनशैलीका कारण अहिले मोटरसाइकल अपरिहार्य बनेको छ । दैनिक यात्रा गर्नुपर्ने मोटरसाइकलको माइलेज राम्रो हुँदा पेट्रोल कम खपत हुने भएको कारण मोटरसाइकलको माइलेज सबैभन्दा धेरै महत्वपुर्ण हुन्छ ।

तर, शहरी क्षेत्रको ठाउँ–ठाउँको जाम अनि मोटरसाइकलको माइलेज घट्दा के गर्ने यो धेरैको टाउको दुखाइको विषय हुन सक्छ ।

यो समस्या समाधान गर्नको लागि धेरैको बानी ग्यारेज धाउने हुन्छ । तर, तपाईको मोटरसाइकलको माइलेज दिनदिनै घटिरहेको छ भने यसलाई बढाउने उपायहरु पनि छन् ।

एयर फिल्टर

एयर फिल्टरले सवारीको माइलेज बढाउन ठूलो भूमिका राख्छ । एयर फिल्टरमा धूलो तथा फोहोर जमेमा इन्धनसम्म हावा पुग्न सक्दैन, जसले पछि इञ्जिनलाई अतिरिक्त भार पर्छ । एयर फिल्टरमा धूलो जम्मा भएपछि एयर पास नभएर समय समयमा इञ्जिन बन्द हुन्छ । साथै, इञ्जिन तात्न पनि थाल्छ । यसले गर्दा इञ्जिनमा अतिरिक्त भार परेर इन्धन खपत बढ्छ ।

ट्राफिक जाम

काठमाडौंमा हुने ट्राफिक जामले पनि माइलेज घटाइरहेको हुन्छ । सवारीसाधनको भीडमा कम गतिमा चलाउनुपर्ने र जामका बेला इञ्जिन चलाइराख्नुपर्ने भएकाले तेल बढी खपत भइरहेको हुन्छ । मोटरसाइकलको माइलेज बढाउन विभिन्न उपाय अपनाउन सकिन्छ । बाइक स्टार्ट गरेलगत्तै कुदाइहाल्नु हुँदैन । स्टार्टका लागि सकेसम्म किक प्रयोग गर्नुपर्छ । किक गर्ने छैन भने चोक तानेर स्टार्ट गर्नुपर्छ ।

स्टार्ट भएपछि १० देखि १५ सेकेण्ड न्युट्रलमा राख्नुपर्छ । यस्तो गर्दा माइलेज बढ्ने सम्भावना समेत बढ्छ । यसैगरी ट्राफिक जाम १ मिनेटभन्दा बढी लाग्ने देखियो भने इञ्जिन अफ गर्नुपर्छ । इञ्जिन अनमा राखिराख्दा तेलको खपत भइरहेको हुन्छ । त्यसैले, जामको समयमा मोटरसाइकल स्टार्ट बन्द गर्नुपर्छ ।

ब्रेक

मोटरसाइकल चलाउँदा ब्रेक दबाइराख्ने पनि गर्नु हुँदैन । यसले पनि माइलेजमा असर पुग्ने हुन्छ । यसका अलावा गियर परिवर्तन गर्दा पनि विशेष ध्यान दिनुपर्छ । गियर क्रमशः घटाउनुपर्छ । यसो गर्दा इञ्जिनलाई बढी प्रेसर पर्दैन ।

सवारीसाधन चलाउँदा एउटै गियर राख्ने गरेमा पनि बढी इन्धन खपत हुन्छ । त्यस कारण समय समयमा गियर परिवर्तन गरिराख्नुपर्छ । अनावश्यक रूपमा गियर परिवर्तन गरिरहने बानीले समेत इञ्जिनलाई बढी बोझ पर्छ ।

जरुरत पर्ने बेलामा गियर परिवर्तन गर्नु राम्रो हो । यसले इन्धनको बचाउ गर्छ । गति विस्तारै बढाउने र गतिअनुसार गियर परिवर्तन गर्दा मोटरसाइकलले माइलेज बढी दिन्छ ।

अचानक गति बढाउँदा शक्ति आवश्यक पर्ने भएकाले इन्धन बढी खर्च हुन्छ । सवारीको मागबमोजिम गियर परिवर्तन गर्दा तुलनात्मक रूपमा बढी माइलेज दिन्छ । उकालो बाटोमा जुन गियर प्रयोग हुन्छ, सोही गियरमा ओरालो झर्नु उपयुक्त हुन्छ । अत्यधिक मात्रामा गति बढाउँदा वा झ्वाट्ट–झ्वाट्ट ब्रेक लगाउँदा पनि माइलेज कम दिन्छ ।

क्लच

मोटरसाइकल चलाउँदा अधिकांशले ह्याण्डलिङ सजिलो पार्न क्लच थिचिराख्ने गर्छन् । यसले गर्दा पनि माइलेजमा समस्या आउँछ । धेरैजसोले जाममा क्लच पनि थिचिराख्ने र फूट ब्रेक पनि लगाइ राख्ने गर्छन् । यसले गर्दा माइलेजमा समस्या आइपर्छ । माइलेज बढाउन ध्यान दिनुपर्ने अर्को पक्ष मोटरसाइकलको समान गति कायम गर्नु पनि हो ।

एउटै गतिमा चलाउँदा पनि माइलेज बढी हुन्छ । यसैगरी माइलेज बढाउन एक्सिलेटरमा पनि ध्यान दिनुपर्छ । किनकि, एक्सिलेटरको सीधा सम्बन्ध इञ्जिनसँग हुन्छ । एक्सिलेटरले सवारीसाधनको इञ्जिन र फ्युल ट्याङ्कको सम्बन्ध जोड्छ । पिकअप लिन एक्सिलेटर बढी दबाउँदा बढी इञ्जिन खपत हुन्छ ।

टायरमा हावाको चाप

टायरमा हावाको चाप पर्याप्त नभएमा पनि इञ्जिनमा बढी चाप पर्छ र धेरै इन्धन खर्च हुन्छ । टायर पुरानो भइसकेपछि भने हावाको चाप छिटो छिटो कम हुन्छ । त्यसैले, टायरमा पर्याप्त हावाको चाप राखेर मात्रै मोटरसाइकल गुडाउनुपर्छ ।

हावाको कम चापले टायरको टिकाउ कम हुन्छ । अतः समय समयमा हावाको चाप जाँच गरी माइलेज बढाउने उपाय अपनाउनुपर्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here