‘५० डिग्रीभन्दा तातो दिनहरु दोब्बरले बढे’

Photo source : istockphoto.com

काठमाडौं, ६ असोज । तापक्रम ५० डिग्री सेल्सियस माथि पुगेर हरेक वर्ष अत्यधिक गर्मी हुने दिन दोब्बर संख्याले बढेको एक अध्ययनले देखाएको छ । बीबीसीका अनुसार पछिल्लो चार दशकको तथ्यांक अनुसार तातो दिनहरुको संख्यामा दोब्बर वृद्धि भएको छ ।

विश्वमा अत्यधिक गर्मी हुने ठाउँ पनि विगतको भन्दा धेरै स्थानमा फैलिँदा मानव स्वास्थ्य र जीवनशैलीमै अभूतपूर्व चुनौती थपिएको समेत बीबीसीले लेखेको छ । सन् १९८० यता हरेक दशकमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने दिनहरू निरन्तर बढिरहेको अध्ययनको निष्कर्ष छ ।

१९८० देखि २००९ को बीचमा औसतमा वर्षको १४ दिन मात्रै ५० डिग्रीभन्दा बढी तापक्रम पुगेको थियो। तर २०१० देखि २०१९ को बीचमा यस्तो गर्मी हुने दिन बढेर वर्षको २६ दिन पुगेको बताइएको छ । यो अवधिमा ४५ डिग्री माथि तापक्रम पुग्ने दिनहरू पनि औसतमा वर्षको दुई हप्ता बढेको पाइएको छ।

यसरी तापक्रम बढ्नुमा खनिज इन्धनको प्रयोग शतप्रतिशत जिम्मेवार रहेको युनिभर्सिटी अफ अक्सफोर्डका वातावरण परिवर्तन सम्बन्धी उप निर्देशक फ्रेडरिक ओट्टोलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

उनका अनुसार मानिस र प्रकृतिका लागि निकै घातक हुने तातो हावाले भवन, सडक र ऊर्जा प्रणालीलाई पनि ठूला समस्या निम्त्याउन सक्छ। मध्यपूर्व र खाडीले ५० डिग्रीको तापक्रम हुने सबैभन्दा धेरै क्षेत्र समेट्छ ।

Photo source : Press Association

यो वर्ष इटली र क्यानडामा इतिहासकै सबैभन्दा धेरै तापक्रम पुग्यो। इटलीमा ४८.८ डिग्री र क्यानडामा ४९.६ डिग्री तापक्रम मापन गरियो । वैज्ञानिकले जीवाश्म इन्धनको उत्सर्जन नरोकिए ५० डिग्री माथि तापक्रम विश्वको जताततै पुग्ने चेतावनी समेत दिएको समाचारमा उल्लेख छ ।

बीबीसीको विश्लेषणले १९८० देखि २००९ को दशकको तुलनामा पछिल्लो दशकमा उच्चतम तापक्रम थप ०.५ डिग्री सेल्सियसले बढेको देखाएको समेत बताइएको छ ।

यस्तो वृद्धि विश्वभर समान रूपमा महसुस चाहिँ गरिएको छैन। पूर्वी युरोप, दक्षिणी अफ्रिका र ब्रजिलमा १ डिग्री भन्दा बढी तापक्रम वृद्धि भयो भने आर्कटिक र मध्यपूर्वमा २ डिग्री बढीले वृद्धि भएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here