मानिसको ठूलो शत्रु आलस्यता, आफूसँग भएको शक्तिलाई प्रयोग नगर्नु ठूलो अपराध

काठमाडौं । आलस्य र रिस नै मानिसको डरलाग्दो शत्रु हो । रिसको आवेगमा मानिसले के राम्रो र के नराम्रो केही पनि सोच्न सक्दैन ।

रिसले चुर भएको अवस्थामा कुनै पनि मानिस ठण्डा दिमागले सोच्न सक्दैन । आफ्ना अगाडि जताततै अन्धकार देखाइदिन्छ । को आफ्नो को पराई केही चिन्दैन । त्यस्तै जीवनको अर्को सबैभन्दा ठूलो शत्रुु भनेको आलस्य पनि हो ।

आलस्यबाट सबै समस्याहरु उत्पन्न हुन्छन् । त्यसकारण पनि आलस्यबाट बच्नु जरुरी छ ।

जो व्यक्ति अल्छी भयो, शरीरलाई निस्क्रिय गरायो, यसको मन सक्रिय हुन थाल्छ । इच्छा, आकांक्षाहरु बढ्छन् । अहिले जे छ, उसप्रति ऊ सन्तुष्ट हुन सक्दैन ।

आलस्य लोभको जननी हो । आलस्यबाट लोभ उत्पन्न हुन्छ । जति पनि अनुशासनहीनता छ, अकर्मण्यताबाट शुरु हुन्छ । जो व्यक्ति अल्छी छ, यो व्यक्ति अनुशासनहीन हुन्छ । जुन बेलामा जे काम गर्नुपर्ने हो, त्यो गर्दैन ।

अनुशासन भङ्ग गर्नका लागि, अनुशासनहीन हुनका लागि सबैभन्दा पहिला अल्छी हुन जरुरी छ ।

अल्छी व्यक्तिले आफूलाई सुधार्ने मौका कहिल्यै पाउँदैन । उसले नयाँ सिर्जना गर्दैन ।

आफूभित्र रहेको सिर्जनशीलताको क्षमतालाई नाश गर्छ । र, जुन व्यक्ति अल्छी छ, त्यो व्यक्ति अस्वस्थ हुन्छ । रोगको प्रमुख कारण हो आलस्यता ।

जो व्यक्ति अल्छी छ, अब रोगी भयो । अब विभिन्न प्रकारका रोगहरु शुरु हुन्छन् ।

सबैभन्दा ठूलो बल हो आत्मबल र सिर्जनशील व्यक्तिले मात्रै त्यो आत्मबल प्राप्त गर्छ । आलस्यताले त्यो आत्मबललाई क्षय गर्छ । जो मानिस अल्छी छ, उसले आफ्नो आत्मतत्वको क्षय गर्छ ।

जब मानिस आफूले समाजमा विभिन्न कार्यहरू गर्दा पनि सफल हुन सक्दैन, अनि ऊ निरास हुन थाल्छ यसमा आत्मबल घट्छ ।

मानिस आफूले गरेका कार्यहरूमा निरास भएपछि रिस बढी उठ्छ । रिस उठेपछि सबभन्दा पहिला उसले आफ्नो कार्यमा बाधा अड्चन ल्याउने व्यक्तिमाथि जाइलाग्न थाल्दछ ।

त्यसबाट पनि ती बाधा अड्चनहरू हराएनन् । मानिसले छुटकारा पाउन सकेन भने त्यसले उसलाई अझ थप निरास बनाएको हुन्छ ।

अनि व्यक्ति आफैले आफै प्रति पनि रिस गर्न पुग्दछ र आफूलाई नै धिक्कार्न थाल्दछ । यसबाट व्यक्ति आफूले आफैलाई संयमित राख्न सक्दैन ।

आफूसँग भएको शक्तिलाई प्रयोग नगर्नु सबैभन्दा ठूलो अपराध हो । शरीरलाई आलस्यमा लिएर जानु, अल्छी बन्नु नै मानिसले गर्ने एउटै मात्र अपराध हो ।

आलस्यताको कारणले आफ्ना सम्भावनाहरुलाई विकसित हुन नदिनु– यही हो अधर्म ।

यो भन्दा ठूलो अपराध मानिसले गर्नै सक्दैन । सबैभन्दा ठूलो अपराध आफ्नो शरीरलाई निस्क्रिय बनाउनु हो आफ्नो क्षमतालाई भरपूर प्रयोग गरौं ।

मसँग जे हुनसक्ने क्षमता छ, म जस्तो बन्न सक्छु, बनौं र यसबाट आएको परिणाम मेरा लागि मात्रै हैन, समाजको लागि पनि हितकर होस् । जाँगरिलो व्यक्तिले मात्रै शुभकर्म गर्न सक्छ ।

(आध्यात्मिक व्यक्तिहरुको प्रवचनबाट उतारिएको सामग्री)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here