सहरलाई मात्र समेटेर घरजग्गा मूल्य सर्वेक्षण, कारोबारमा शिथिलता

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम बीच नयाँ सूचकांक सार्वजनिक गरेका हुन् ।

घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक तयार पारिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको संलग्नता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको हो।

घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोवार सङ्ख्यालाई आधार मानी भार निर्धारण गरिएको छ ।

उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवम्राष्ट्रिय स्तरमा समेत निधारण गरिएको छ । राष्ट्रिय स्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घर–जग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको छ ।

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्यांकका आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको थियो। मालपोत कार्यलयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको थियो।

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ। घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको हो।

मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो।

यसैगरी वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो।

सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा देशभरका मालपोत कार्यालयहरुमा आर्थिक बर्ष २०७४–७५ मा घरजग्गा रजिष्ट्रेशन पारित भएको कूल कारोबार संख्या ५ लाख ५७ हजार ७३२ (घरजग्गा तथा घर निर्माण नभएकोसमेत) मानी घरजग्गा मूल्य सर्वेक्षण सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here