व्यवसायी आफैँले गरे चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा

चितवन, ६ मंसिर । नेपाल मत्स्य व्यवसायी संघले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ।

चितवनमा वार्षिक चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको छ। त्यसमध्ये दुई हजार ६०० मेट्रिक टन माछा जिल्लामै खपत हुने गरेको संघले जनाएको छ।

जिल्लामा वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए।

यस वर्ष उत्पादन बढेर छ हजार ६५३ मेट्रिक टन माछा उत्पादन हुने अनुमान संघले गरेको छ। जिल्लामा एक हजार ३०७ व्यावसायिक माछा खेती गर्ने किसान छन्। जहाँ दुई हजार ८३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन्।

जिल्लामा उत्पादित माछामध्ये दैनिक दुई टन जिल्ला बाहिरका बजारमा जाने गरेको छ। जिल्लामा हाल दैनिक एक टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको बजारलाई यहीको उत्पादनले धान्ने गरेकाले जिल्लालाई माछामा आत्मनिर्भर घोषणा गरिएको संघले जनाएको छ।

चितवनमा उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौँ हो। जिल्लाका मुख्य बजारमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै अध्यक्ष सुवेदीले यसलाई रोक्नका लागि स्थानीय निकायसँग माग गरिएको बताए। अहिले चितवनको बजारमा एक हजार ५०० मेट्रिक टन बिक्रीका लागि तयारी भए पनि स्टकमा राखिएको छ।

विसं २०३८ सदेखि माछापालन सुरु गरिएको चितवनमा विसं २०६७ देखि व्यावसायिक माछापालन सुरु भएको हो।

माडीको गोपालनगर र भरतपुरको शङ्कर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अवधि विसं २०४८ बाट सुरु भएको मान्न सकिन्छ।

राज्यले माछापालन व्यवसायमा विसं २०४८ बाट अनुदान दिन थालेको थियो । व्यावसायिक हुन नसकेको यो व्यवसाय अहिले आएर व्यावसायिकसँगै आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय महासचिव जोगेन्द्र चौधरीले बताए।

‘राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आफैँले घोषणा गर्नुपरेको हो,’ उनले भने।

चितवनमा सात सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ। माछापालनका लागि ५१३ हेक्टर क्षेत्रफल मात्रै प्रयोग भएको छ।

नेपालमा अहिले ५५ हजार मेट्रिक टन माछा खपत हुँदै आएको छ । जसमध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ।

नेपालमा उत्पादित माछाभन्दा बाह्य बजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली बजारमा ती माछाको प्रयोग वढ्दो क्रममा रहेको चौधरीले बताए। देशभरि ७० प्रतिशत व्यवसायीले विदेशी माछा बेच्दै आएका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here