सुदूरपश्चिम प्रदेशमा सहुलियत कर्जा २८६ प्रतिशत वृद्धि, कृषिमा १२ अर्ब प्रवाह

फाइलफोटो

काठमाडौं, १७ मंसिर । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत कर्जा लिनेको संख्या २८६ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा ७ अर्ब ५३ करोड पुगेको छ ।

जुन गत वर्षको तुलनामा २८६ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधीमा यस शीर्षकमा रु.१ अर्ब ९५ करोड कर्जा प्रवाह भएको थियो।

२०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६३ प्रतिशतले वृद्धि भई रु.१२ अर्ब ८ करोड पुगेको छ ।

गत वर्ष यस्तो कर्जा ३४.७१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा २९.५४ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम सनपाटमा ०.०४ प्रतिशत कर्जा प्रवाह भएको छ ।

समीक्षा वर्षमा कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ९.६५ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढी कैलाली जिल्लाको अंश ६३.७२ प्रतिशत रहेको छ भने सबैभन्दा कम बाजुरा जिल्लाको १.३३ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलफूल तथा मसला) को उत्पादन ७.२६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षयस्ता बालीको उत्पादन ०.०१ प्रतिशतले वृद्धि भएको थियो ।

खाद्य तथा अन्य बालीको उत्पादन ५.२१ प्रतिशतले वृद्धि भएको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सवैभन्दा बढी आलुको उत्पादन १७.६९ प्रतिशतले वृद्धि भएको छ । भने तेलहनको उत्पादनमा १३.४६ प्रतिशतले ह्रास आएको छ ।

जिल्लागत आधारमा कञ्चनपुर, दार्चुला, अछाम, बझाङ, बैतडी, कैलाली र बाजुरा जिल्लामा खाद्य तथा अन्न बालीको उत्पादन वृद्धि भएको छ भने डोटी र डडेलधुरा जिल्लामा ह्रास आएको छ ।

यस्ता बालीको उत्पादन सबै भन्दा बढी कञ्चनपुर जिल्लामा १०.०५ प्रतिशतले वृद्धि भएकोछ भने डडेल्धुरा जिल्लामा २.०४ प्रतिशतले ह्रास आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here