२६ करोडमा रानी पोखरी पुनर्निर्माण, काठमाडौं महानगरलाई स्वामित्व हस्तान्तरण

काठमाडौं, ८ पुस । भूकम्पले क्षति पुगेको ऐतिहासिक रानी पोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

विहीबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले काठमाडौ महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरेका हुन् ।

२०७५ माघ १४ मा रानीपोखरी पुनः निर्माणको जिम्मा प्राधिकरणलाई दिइएको थियो । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानी पोखरीमा पानी राख्न निकै समस्या भएपछि विभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य सफलताका साथ सम्पन्न गरेको बताए ।

उनले पुरातात्विक ढंगले रानी पोखरी र बालगोपालेश्वरलाई पुननिर्माण गरिएको उल्लेख गरे ।

त्यस्तै नेपालको सम्पदाको पुननिर्माणको प्रतिकको रुपमा रानीपोखरी निर्माण गरिएको जानकारी दिए । उनले महामगरको नासो पुननिर्माणपछि महानगरलाई नै हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाक्यले रानीपोखरी पुननिर्माणमा केही विवाद भएपनि अहिले निकै उत्कृष्ठ ढंगले पुननिर्माण गरिएको बताए । उनले ऐतिहासिक सम्पदाको उचित हेरचाह र जगेर्ना गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गरे ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौं महानगरपालिका र सबैको पहलमा पुनर्निर्माण सम्पन्न हुनु गौरवको कुरा भएको पनि बताए । ‘काठमाडौं महानगरपालिकाले शुरूमा विज्ञ समूह बनाएर उनीहरूकै रायसुझाव अनुसार प्रताप मल्लकालीन स्वरूप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण पनि गराए ।

उनले रानीपोखरीलाई सौदर्यीकरण गर्ने विषयलाई पनि भ्रम छर्ने काम भएको स्मरण गराउँदै सबैको भ्रम चिरेर अघि बढेको स्मरण गराए । ‘यो अहिले महानगरपालिकाको स्वामित्वमा आएको छ,’ उनले भने, ‘यो महागरपालिकाको मात्रै सम्पत्ति होइन, राष्ट्रको सम्पत्तिको हो । सबैले यसको संरक्षण गर्नुपर्छ ।’

राष्ट्रपति विद्यादेवी भणडारीबाट शिलान्यास भएको रानीपोखरी केही समयअघि उद्घाटन भएको थियो । ऐतिहासिक मात्रै होइन, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण हुँदा आनन्दित भएको बताए ।

शाक्यले करीब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनर्निर्माण गर्ने काम चुनौतीपूर्ण भएको बताए ।

रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरू भएको थियो । पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पनि काम प्राधिकरणले गरे पनि काठमाडौं महानगरपालिकाकै सल्लाह अनुसार काम गरेको जानकारी दिए ।

रानीपोखरीको पुनर्निर्माण काम प्राधिकरणले २ खण्डमा अगाडि सारेको थियो । उक्त खण्ड मध्ये भित्री भाग मात्र पुनः निर्माण गरिसकेकोले महानगरलाई हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ ।

रानीपोखरीको बाहिरी खण्ड काम पनि ९० प्रतिशत सकिएको छ र बाँकी काम गरी सके पछि सकेपछि सहरी विकास मन्त्रालयले नै उक्त खण्ड पनि महानरलाई हस्तान्तरण गर्ने प्राधिकरणले जनाएको छ ।

रानी पोखरीको क्षेत्रफल ३० हजार ७ सय ८ स्कवायार फैलिएको छ । पोखरीको गहिराई साढे ५ फिट छ ।

उपभोक्ता समितिबाट भित्री खण्डमा भएको काममा ८ करोड १५ लाख रुपैयाँ, भित्री भागमा रहेको बालगोपालेश्वर मन्दिर र पुलको खण्ड निर्माण १७ करोड ४५ लाख ३७ हजार रुपैयाँ गरी जम्मा २६ करोड रुपैयाँमा भित्री खण्डको काम सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here