आयात उल्लेख्य वृद्धि, ५ महिनामै ९ खर्ब ४१ अर्ब बराबरको वैदेशिक व्यापार

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिना वैदेशिक व्यापार घाटा ५४.७ प्रतिशतले बढेको छ ।

पाँच महिनाको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कुल ७ खर्ब ३८ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५४.७० प्रतिशतले बढेको विभागले जनाएको छ । गत आवको मंसिरसम्म नेपालले ४ खर्ब ७५ अर्ब ४४ करोड २५ लाख रुपैयाँ व्यापार घाटा बेहोरेकोे थियो ।

गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । विभागका अनुसार चालु आवको पाँच महिनामा कुल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा वस्तु आयात ५९.५५ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा निर्यात पनि दोब्बरभन्दा धेरैले बढेको छ । गत वर्षको तुलनामा चालु आवमा निर्यात १०५.६१ प्रतिशतले बढेको हो । गत आवको मंसिरसम्म ५० अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

नेपालले ५ महिनामा कुल ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैेदेशिक व्यापार गरेको छ । गत वर्षको तुलनामा चालु आवको वैदेशिक व्यापार ६३।५५ प्रतिशतले बढेको हो । गत आवको मंसिरसम्म कुल ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।

भारतबाट मात्रै ५ खर्बको आयात

चालु आवमा १४४ देशबाट ८ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको हो । सोमध्ये भारतबाट मात्रै ५ खर्ब ३९ करोड रपैयाँको सामान आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

भारत पछि ठूलो मात्रामा चीनबाट वस्तु आयात भएको छ । चीनबाट १ खर्ब २२ अर्ब रुपैयाँको सामान आयात भएको छ । यसैगरी इन्डोनेिसयाबाट २९ अर्ब, अर्जेन्टिनाबाट २४ अर्ब, यूएईबाट २३ अर्ब र अमेरिकाबाट १८ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.०७ प्रतिशत र ५२.९१ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१.८७ प्रतिशत, ०.७६ प्रतिशत र ६७.३६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.८ प्रतिशत, पूँजीगत वस्तुको १०.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.६ प्रतिशत, १२.४ प्रतिशत र ३६.० प्रतिशत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here