मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा, आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने

काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् ।

चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स घट्दै गएको र विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेको भन्दै डा.नेपालले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको नेपालले बताए ।

राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको उनको भनाइ छ ।

नले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए । अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उनको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी गरे । उनले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्यसमेत पूरा नहुने बताए ।

‘७ प्रतिशत आर्थिक वृद्धिदर हुन गाह्रो छ । आयात बढी रहेको अवस्थामा आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुँदैन । अझ राजश्व संकलनसमेत घट्ने अवस्था देखिएको छ ।

धेरै वस्तु आयात गर्न राष्ट्र बैंकले रोकेको र नेपालमा आयात मुखी राजश्व भएकाले त्यो पनि घट्ने छ,’ उनले भने,’ सरकारले जुन १०५० अर्बको राजश्व संकलनको लक्ष्य राखेको छ । त्यो पूरा हुन गाह्रो छ ।’

त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएको उल्लेख गरे । उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताए ।

सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गरे । बैंकहरूबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ ।

त्यस्तै, पूर्वगभर्नर नेपालल रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए । उनले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिए ।

उनले सरकारले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खानेतेल लगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताए ।

रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेल लगायत खाद्यान्नको समेत मूल्य वृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनु पर्ने नेपालले बताए । उनले सरकारले पट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय खपतमा जोड दिनुपर्ने बताए ।

पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिनादेखि कम हुँदै गएकाले थप समस्या आउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here