श्रीलंकामा बढ्दो जनप्रदर्शनका बीच २६ मन्त्रिले दिए सामूहिक राजीनामा

Photo by Ishara S. Kodikara / AFP

कोलम्बो (बीबीसी) २१ चैत । दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्।

यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए। श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ। यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ। लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्।

श्रीलङ्काका शिक्षामन्त्रीले आइतवार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए। राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन्। खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो। त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो।

उनको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो। तर प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि तथा मानिसहरूलाई कुटपिट गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको सहभागीहरूको भनाइ छ।

भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्। श्रीलङ्कामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ। त्यहाँ केही समयका लागि सामाजिक सञ्जालको पहुँचमा अवरोध गरिएको थियो।

अहिलेको विरोध प्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको छ। सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए। उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here