स्मार्टफोनको पहुँचले ‘डिजिटल’ बैंकिङमा छलाङ, मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ६८ लाख नाघे

काठमाडौं, ४ वैशाख । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ६८ लाख नाघेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ८ महिनामा देशभरबाट एक करोड ६८ लाख ४८ हजार ४३४ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।

एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो ।

एक महिनामै ३ लाख ७१ हजार ७३४ जना ग्राहक थपिएका छन् । माघसम्ममा यो संख्या १ करोड ६४ लाख ७६ हजार ७ सय रहेको थियो ।

कूल संख्यामध्ये ‘क’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४८ लाख ७१ हजार ५८ पुगेका छन् ।

त्यस्तै ‘ख’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १८ लाख ९० हजार ३७६ पुगेका छन् भने ‘ग’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८७ हजार पुगेको छ ।

ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो। स्मार्टफोनको पहुँच र मोबाइल डेटाको उपलब्धताले मोबाइल बैंकिङ सेवा वृद्धि भइरहेको छ ।

पछिल्लो समय मुलुकमा स्मार्टफोनको पहुँचमा वृद्धि भइरहेको छ ।

सस्तो र विदेशबाट आफन्तले स्मार्टफोन पठाउने भएकाले गाउँगाउँका उपभोक्ताले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

त्यसैगरी, मोबाइल सेवा प्रदायकले डेटा प्याक उपलब्ध गराइरहेका छन् । सस्तो दरमा उपलब्ध भएका डेटा प्याकले पनि उपभोक्तालाई मोबाइल बैंकिङप्रति आकर्षण गरिरहेको छ ।

योसँगै बैंकहरुले पनि मोबाइल बैंकिङ विस्तारको लागि विभिन्न प्रयास गरिरहेका छन् । डेटा प्याकको उपलब्धता र स्मार्टफोनको पहुँच बढेसँगै मोबाइल बैंकिङ चलनउनेको संख्या दिनप्रतिदिन बढेको छ ।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको थियो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here