नदीलाई ‘नहर’ बनाएपछि उपत्यकामा ज्यानमारा बाढी

२८ असार, काठमाडौं । केही समय अगाडीसम्म वर्षातको समयमा स्वर्गजस्तै ठाउँ मानिन्थ्यो काठमाडौं उपत्यका । जति नै ठूलो वर्षा भएपनि नदीबाट अविरल बगेर पानीले सहजै निकास पाउँथ्यो ।

काठमाडौं बासिले बाढीको कारण कुनै तनाव लिनु परेको थिएन् । तर, अब समय फेरिएको छ । एकझर परिहाल्दा पनि नदी किनारका बासिन्दा सचेत भई भाग्नु पर्ने अवस्था आइसकेको छ ।

सुरक्षित ठानिएकै भेगमा सिधै नदी पस्न थालेको छ । बस्तीहरु भिजाउन थालेको छ । त्यति मात्र होइन, अहिले हरेक वर्ष उपत्यकामा बाढीले मानिसको ज्यान नै लिने गरेको छ ।

विज्ञहरु मानिसले प्रकृतिमाथि गरेको अति दोहनका कारण उपत्यकामा अब बाढीले ठूलो तान्डब देखाउन थालेको विश्लेषण गर्छन् । शुक्रबार काठमाडौंको मुलपानीमा तीन जनाले ज्यान गुमाउनु पर्यो ।

कलंकी क्षेत्र पुरै डुबानमा पर्यो । काठमाडौंका सुविधा सम्पन्न अपार्टमेण्टबाट मानिसलाई रबरबोटमा राखेर सुरक्षाकर्मीले उद्दार गर्नु पर्यो । गत वर्ष हनुमन्ते खोलाले आफ्नो शक्ति प्रदर्शन गर्दा पुरै भक्तपुर चुर्लुम्म डुबेको थियो ।

यसको मुख्य कारण नै यहाँका प्राकृतिक नदीलाई मासेर मानिसले नहरमा परिणत गर्नु हो । अहिले नदी आसपास करिडोर निर्माण भएको छ । नदीलाई पर्खाल लगाएर छेकिएको छ ।

भनिन्छ, पहिला नदीलाई उसको प्राकृतिक वहावमा बहन देउ, त्यसपछि मात्र तिमी आफ्नो संरचना बनाउ । उपत्यकामा त्यसो गरिएन । पहिला मानिसले संरचना बनाए र बाँकि रहेको सानो क्षेत्र नदीका लागि सुम्पिए । अहिले त खोलाले आफ्नो बाटो खोज्दै बस्ती पसेको मात्र हो ।

# प्रकृति होइन, आफ्नै कारणले विनास तर्फ मानिस

मानिसलाई प्राकृतिक संरचनाको विनासले भन्दा पनि मानवनिर्मित संरचनाले विनास निम्त्याइरहेको छ । जोखिमको आंकलन गर्न नसक्ने र

अन्धाधुन्ध आधुनिक पूर्वाधार निर्माण गर्नासाथ प्रकृतिलाई सजिलै जित्न सकिन्छ भन्ने मानसिकताका कारण मानिस आफै समस्यामा परिरहेको छ ।

# जमीनले पानी सोस्न पाएन

अर्कोतर्फ काठमाडौंलाई मानिसले इटा र सिमेन्टको जर्जर मरुभूमी बनाएको छ । यहाँ खाली जमिन देख्यो कि घर ठडाउन हतार भइसक्छ ।

रुख विरुवा, बगैचा, पार्क र फराकिलो चौर राख्यो की कारवाही होला की भन्ने जस्तो मानसिकता रहेको छ । यस्तोमा आकासबाट परेको पानी जमिनले सोस्ने मौकै पाउँदैन ।

घरको छतबाट ढल हुँदै सिधै खोलामा पुग्ने पानीले यहाँका नदीको जलस्तर बढाएको छ । जसले पनि बाढीको जोखिम बढाएको हो । सरकार र स्थानीय तहले बेलैमा ध्यान नपुर्याउने हो भने भविश्यमा अझ बढी जोखिम निम्तने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here