२८ असार, काठमाडौं । २० फागुन २०७१ मा टर्कीको राजधानी इस्तानबुलबाट आएको टर्कीस एयरलाइन्सको जहाज धावनमार्गमा फसेपछि ४ दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो ।
मुलुकलाई अन्तर्राष्ट्रिय गन्तब्यसँग जोड्ने एक मात्र हवाई विन्दु ४ दिन सम्म ठप्प हुँदा सबैभन्दा बढी वहस भएको विषय नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल थियो ।
त्यसबेला पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा खुब चलेको थियो । तर, काममा भने कसैले चासो दिन सकेको थिएन । जब धावनमार्गमा आएर जहाज सुत्यो, त्यसपछि मात्र सरोकारवाला त्यसको बहसमा आएका थिए ।
५ वर्षपछि समस्या दोहोरियो । शुक्रबार नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर जहाज धावनमार्गबाट ट्याक्सी वे तर्फ १५ मिटर चिप्लियो ।
बिहान ११ बजेदेखि बन्द भएको विमानस्थल निरन्तर ८ घण्टा बन्द भयो । सयौं उडान अवतरण रद्द भए । लाखौं यात्रु प्रभावित भए । कति बिरामीको अस्पतालमा लिएको समय छुट्यो ।
कति विद्यार्थी र जागिरेको हाजिरी छुट्यो । दजर्नौं एयरलाइन्सले कति गुमाए, त्यसको लेखा जोखा नै छैन ।
विमानस्थलका उच्च अधिकारीहरुले वर्षातलाई दोष दिएर जवाफ टारिरहे । तर, एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज फस्यो भने बेलैमा हटाउन सक्ने उपकरण नेपालसँग छैन ।
सेना पुलिस र अग्नी नियन्त्रकका जवानको बलमा तानेर जहाज कतिन्जेल पार लगाउने हो ? कमिलाले फेला पारेको ठूलो शिकारलाई तानेजस्तै दृष्य विमानस्थलमा देखिन्छ ।
कहिलेसम्म नेपालमा हात र बलको सहारामा काम हुने हो ? संसारमा धेरै काम प्रविधिमा आधारित भइसक्यो । न दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चासो दिने, न भएकै विमानस्थलमा पूर्वाधार र उपकरणमा ध्यान दिने ?