सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो, डलर सटही सहजै

फाइलफोटो

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै आएको शतप्रतिशत एलसी मार्जिनको व्यवस्था हटाएको हो।

नयाँ व्यवस्था अनुसार यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउनेछन् तर यी वस्तु औद्योगिक प्रयोजनका लागि आयात गर्नुपर्नेछ ।

सुपारी, केराउजस्ता वस्तु उद्योगको कच्चा पदार्थ रहेकोले उद्योग आफैले आयात गरेका आधारमा बैंकहरुले सटही सुविधा दिन सक्नेछन् । सरकारले औद्योगिक प्रयोजनका लागि गत फागुन २६ गते सुपारी, मरिच र केराउ आयात खुल्ला गरेको भन्दै यस्ता वस्तु आयातमा एलसी खोल्दा नगद मार्जिन चाहिनेछैन् ।

अब उद्योगले नगद मार्जिन नराखी नै एलसी खोलेर सुपारी, मरिच तथा छोकडा आयात गर्न सक्नेछन् ।

राष्ट्र बैंकले ०७१३.१०.००, ०८०२.८०.००, ०८०२.९०.०० र ०९०४.११.०० हार्मोनिक कोड भएका वस्तुहरु औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले आफै आयात गर्नसक्ने भन्दै सोही व्यवस्थाको अधिनमा रही विदेशी मुद्राको सटही सुविधा प्रधान गर्न बैंकहरुलाई भनेको हो ।

एकीकृत परिपत्र २०७८ को १.१.१५ मा ‘विउ विजन ऐन, २०४५ ले नेपालमा सुचीकृत एवम् दर्ता भएका विउ विजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेकोले उक्त ऐनमा सुचीकृत भएका बालीहरुको विउ तथा विरुवाहरु मात्र आयात गर्नु पर्नेछ। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गत नेपाल सरकारले समय समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू सोही बमोजिम हुनेछ।

साथै, भन्सार उप शीर्षक ०७१३.१०.०० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल ८०,००० (असी हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल २५,००० ( पच्चीस हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी, भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल ५,००० (पाँच हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी र भन्सार उपशीर्षक ०९०४.११.०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७५ अवधिको लागि कूल १५,००० (पन्ध हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने परिमाणात्मक बन्देज लगाइएको हुँदा सोही व्यवस्थाको अधीनमा रही विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिनेछ।’ व्यवस्था थियो ।

विदेशी मुद्राको सञ्चिती घटेको भन्दै सरकारले सुपारी, केराउ, मरिच, छोकडा, महँगा गाडी, टेलिभिजन, मोबाइल फोन, रक्सी तथा चुरोट जस्ता वस्तुको आयातमा रोक लगाएको थियो । यसैगरी, यी वस्तुहरुको हकमा मार्जिन र सर्तहरुसम्बन्धी व्यवस्था लागू नहुने उल्लेख छ।

तर सिमित व्यापारीको स्वार्थमा सरकारले सुपारी, केराउ जस्ता वस्तुको आयातमा कोटा तोकि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here